१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दाहालद्वारा दिवंगत तुलाधरप्रति श्रद्धाञ्जली अर्पण, राष्ट्रलाई ठूलो क्षति पुगेको भनाइ  

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आइतबार अपरान्ह दिवंगत भएका मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरप्रति नर्भिक अस्पताल पुगी श्रद्धाञ्जली अर्पण गरेका छन‍् ।

दाहालद्वारा दिवंगत तुलाधरप्रति श्रद्धाञ्जली अर्पण, राष्ट्रलाई ठूलो क्षति पुगेको भनाइ  

उनले उपचारमा सम्लग्न चिकित्सकहरुसँग तुलाधरको पछिल्लो स्वास्थ्यस्थितिको बारेमा जिज्ञासा राखेका थिए । उनको सचिवालयका अनुसार तुलाधरलाई अस्पताल ल्याइपुर्‍याउँदा अचेत भइसकेको चिकित्सकहरुले अध्यक्ष दाहाललाई जानकारी गराएका थिए ।


सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षति भएको बताए । 'उहाँ जनआन्दोलन र सांस्कृतिक आन्दोलनको संवर्द्धनको क्षेत्रमा ऐतिहासिक भूमिका खेल्नुहुने पात्र हुनुहुन्थ्यो' दाहालले भने, 'नेपालको शान्ति प्रक्रियाका लागि वातावरण बनाउन पनि तुलाधरजीले मध्यस्तकर्ताका रुपमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।'


त्यसैगरी, अध्यक्ष दाहालले एक शोक विज्ञप्ति जारी गर्दै पञ्चायतविरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा तुलाधरले खेलेको भूमिका सदा स्मरणीय रहेको बताएका छन् ।


दाहालको विज्ञप्ति


मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरको आज दिउँसो निधन भएकोमा अत्यन्त मर्माहत भएको छु ।


पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिका सदा स्मरणीय छ । पहिचान र संघीयताका पक्षधर वाम बुद्धिजीवि दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

प्रकाशित : कार्तिक १८, २०७५ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?