१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अबैध रुपमा रेडक्रसले बढायो रगतको मूल्य, रक्तदाताको आपत्ति

प्रतियुनिट रगतको मूल्य एक सय बढाइयो 
अतुल मिश्र

काठमाडौं — नेपाल रेडक्रस सोसाइटीले अबैध रूपमा स्वास्थ्योपचारका लागि अत्यावश्यक रगतको मृल्य वृद्घि गरेको छ । रेडक्रसले सरकारको अनुमतिबिनै प्रतियुनिट रगतमा एक सय रुपैयाँ मूल्य बढाएको हो ।

अबैध रुपमा रेडक्रसले बढायो रगतको मूल्य, रक्तदाताको आपत्ति

रेडक्रसको केन्द्रीय रक्त सञ्चार सेवाले गत बिहीबारदेखि प्रतियुनिट रगतमा यसअघि लिँदै आएको शुल्कमा एक सय रुपैयाँ थप लिने सूचना जारी गरेको छ । केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बिहीबार रगतको मूल्य वृद्घि भएको सूचना प्रकाशित गरेकी हुन् । सूचनामा ‘केन्द्रीय रक्त सञ्चार सेवा’ बाट रगत तथा रक्त तत्त्व उपलब्ध गराउने क्रममा लिइँदै आइएको शुल्कमा हाललाई रक्त संकलनमा रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि नेपाल सरकार राष्ट्रिय रक्त सञ्चार ब्युरोको निर्णयअनुसार बिहीबार (१५ कात्तिक) देखि प्रतियुनिट एक सय रुपैयाँ थप लिने व्यवस्थाका लागि सूचित गरिएको उल्लेख छ ।


‘उहाँहरू (केन्द्रीय रक्त सञ्चार सेवा) ले यसरी रगतमा शुल्क बढाउनु अबैध हो’, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक एवं नेसनल टेक्निकल एडभाइजरी कमिटी (एनटयाग) का अध्यक्ष डा. हरिषचन्द्र उप्रेतीले कान्तिपुरसित भने, ‘यसरी बढाउँदै जाँदा कतिसम्म माथि बढाउने ? शुल्क धेरै माथि जान सक्ने भएकाले यसलाई कम गर्नेतर्फ सोच्नुपर्छ ।’


रगतको शुल्क बढाउने रक्त सञ्चार सेवाको एकलौटी निर्णय भएको जनाउँदै उनले एनटयाग सरकारको अंग रहेको र सरकारले रगतको मूल्य वृद्घि गर्ने सिफारिस वा निर्णय नगरेको समेत बताए । हालै भएको एनटयागको बैठकमा रगतको शुल्कका विषयमा कुनै छलफल वा निर्णय नभएको जानकारी दिँदै उप्रेतीले भने, ‘यदि उहाँहरूले शुल्क बढाउनुभएको हो भने किन बढाउनुभएको हो, आधार के हो ? आदि लिखित रूपमै एनटयागले प्रस्टीकरण सोध्छ ।’


नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं एक सय ५५ पटक रक्तदान गरेका प्रेमसागर कर्माचार्यले रेडक्रसले रगतमा शुल्क हटाउनुपर्ने आफूहरूको मागविरुद्घ थप शुल्क बढाएको भन्दै कडा आपत्ति प्रकट गरेका छन् ।


आफूहरू रगत पूर्ण नि:शुल्क बनाउन वर्षौंदेखि संघर्ष गरिरहेको उल्लेख गर्दै कर्माचार्यले भने, ‘रगतको कुनै मूल्य हुन्न, दाताले नि:शुल्क दिन्छ अनि थप शुल्क किन, यो व्यापार होइन ।’ समाजको अनुसार हाल मुलुकको सरकारी स्वास्थ्य निकायमा प्रतियुनिट रगतको ४ सय ९५ रुपैयाँ र निजी स्वास्थ्य निकायमा ६ सय ४५ रुपैयाँ तिर्नुपर्छ तर केही सरकारी र निजी क्षेत्रमा रगतको शुल्क धेरै बढी लिने गरिएको समेत दाबी गरिन्छ ।


केही वर्षअघि समेत रेडक्रसले प्रतियुनिट रगतको मूल्य ४ सय १५ रुपैयाँबाट वृद्घि गरेर ८ सय ४० रुपैयाँ पुर्‍याउँदा व्यापक विरोध भएपछि घटाएर ४ सय ९५ कायम गरिएको कर्माचार्य बताउँछन् ।


हाल रेडक्रसले रक्तदाताकै नाममा शुल्क बढाएकोप्रति आपत्ति प्रकट गर्दै कर्माचार्यले भने, ‘नि:शुल्क रगत लिएपछि रिफ्रेसमेन्ट अर्थात दातालाई दिइने जुस आदिका नाममा शुल्क बढाइएको छ, कुन रक्तदाताले यस्तो सहयोग मागेको छ ?’


नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले रगतमा गर्नुपर्ने विभिन्न खाले जाँच, चिस्यानमा राख्ने खर्च, ब्यागेजको शुल्क बढेकाले प्रतियुनिट रगतमा एक सय रुपैयाँ बढाइएको दाबी गरे । न्यूनतम लागत उठाउन पनि मूल्य बढाइएको दाबी गर्दै पौडेल भन्छन्, ‘अझै पनि लागतभन्दा कम मूल्यमा रगत उपलब्ध गराइरहेका छौं ।’


विशेषज्ञहरूले सरकारले आफैं ब्लड बैक सञ्चालन गर्नेतर्फ सोच्नुपर्ने समय आइसकेको औंल्याएका छन् । सरकारले क्रमश: स्वयं ब्लड बैक सञ्चालन गर्नुपर्ने औंल्याउँदै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी चिफ कन्सल्टेन्ट प्याथोलजिस्ट डा. रुना झा भन्छ्नि्, ‘रगतको गुणस्तर सुनिश्चित गर्दै ब्लड बैंक नाफारहित हुनुपर्छ ।’ निजी क्षेत्रलाई ब्लड बैक सञ्चालन गर्न दिनु नहुने जनाउँदै डा. झा निजीले चलाए थप विकृतिसँगै रगतको गुणस्तरसमेत प्रभावित हुन सक्ने सम्भावना औंल्याउँछिन् ।

प्रकाशित : कार्तिक १८, २०७५ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?