१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको मृत्यु, आफन्तले शव बुझेनन्

मानव अधिकार आयोगमा उजुरी दर्ता 
प्रहरी भन्छ : जाहेरी दर्ता भइसकेको छ
कान्तिपुर संवाददाता

काठमाडौँ — व्यक्तिगत लेनदेनको सिलसिलामा नेपाल प्रहरीका एक सईको साथ लागेर गएका व्यक्तिको भोलिपल्ट रहस्यमय मृत्यु भएको छ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको मृत्यु, आफन्तले शव बुझेनन्

आइतबार राति सई सुरेन्द्र कार्कीले मोटरसाइकलमा लिएर गएका रवीन्द्रकुमार ढुंगानाको सोमबार वीर अस्पतालमा मृत्यु भएको परिवारको भनाइ छ । कार्की प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत छन् ।


‘घरमै बसिरहेका बेलामा कार्की आएर जाऊँ भनी भाइलाई मोटरसाइकलमा हालेर लगेका रहेछन्,’ मृतकका दाइ शेरबहादुर ढुंगानाले कान्तिपुरसित भने, ‘भोलिपल्ट प्रहरी परिसरबाट भाइकी श्रीमती (अन्नपूर्ण थापा ढुंगाना) लाई श्रीमान् वीर अस्पतालमा हुनुहुन्छ, भेट्न आउनु भनी फोन आयो । ११ बजे अस्पताल पुगेकामा दुई घण्टापछि भाइको मृत्यु भयो ।’


भाइलाई लिएर गएकै दिन राति ११ बजे सई कार्कीले बुहारी अन्नपूर्णलाई फोन गरी धम्क्याएको शेरबहादुरको दाबी छ । रवीन्द्रको शव हाल टिचिङ अस्पताल महाराजगन्जमा छ ।


प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले भने मृतक ढुंगानासँग सई कार्कीले ५ लाख रुपैयाँ लिएको र उक्त रकमको चेक बाउन्स भएपछि सोही मुद्दामा बालाजु वृत्तले नियन्त्रणमा लिएको बताए । एसएसपी थापाले भने, ‘परिवारले भनेजस्तो सई कार्कीले पक्राउ गरेको नभई उनी घर देखाउन त्यहाँ पुगेका हुन् । उनलाई वृत्तबाटै खटिएको टोलीले पक्राउ गरेको हो ।’


एसएसपी लामाले भने बालाजु वृत्तले पक्राउपछि ढुंगानालाई प्रहरी परिसर टेकु लगी स्वास्थ्य परीक्षण गराएर थुनामा राखेको बताए । लामाले ढुंगाना छारे रोगका बिरामी रहेको उल्लेख गर्दै भने, ‘बिहानपख अप्ठ्यारो भएपछि उपचारका लागि वीर अस्पताल पुर्‍याएर परिवारलाई खबर गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।’


मृतकका आफन्तका अनुसार, सोमबार भेट्दा रवीन्द्रको अवस्था गम्भीर भइसकेको थियो । उनको अनुहारमा चोट छ भने मुखबाट रगत बगेको देखिएको उनका दाइ शेरबहादुरले दाबी गरे । ५२ वर्षीय ढुंगानाले केही समयअघि ट्याक्सी किनेर चलाउँदै आएका थिए ।

आफन्तका अनुसार, केही वर्षअघि सई कार्कीसित रवीन्द्रकी श्रीमती थापाले ऋण लिएकी थिइन् । ऋण फिर्ता गरिसक्दासमेत कार्कीले बाँकी रहेको रकम फिर्ता गर्नुपर्ने भन्दै बारम्बार धम्क्याउने गरेको मृतकका परिवार बताउँछन् । सोही दिनसमेत कार्कीले ५ लाख लिनुपर्ने भन्दै रवीन्द्रसँग चेक काटेर लगेका थिए ।


प्रहरीले सईलाई जोगाउन खोजेको र जाहेरी नलिएको भन्दै मृतकका आफन्तले शव बुझेका छैनन् । जाहेरी बुझाउन खोज्दा महानगरीय प्रहरी परिसर काठमाडौंका अधिकारीहरूले अस्वीकार गरेको मृतकका दाइ शेरबहादुरले बताए ।

‘आफूलाई प्रवक्ता बताउने एसपीले संगठनको प्रहरीले भाइ मार्‍यो भनेर जाहेरी दर्ता गर्न खोजेकाले हामीले दर्ता गर्दैनौं भनेर फर्काएँ,’ उनले भने, ‘प्रहरीले जाहेरी नलिएपछि हामीले मानव अधिकार आयोगमा उजुरी दिएका छौं ।’ उनीहरूले मंगलबार मानव अधिकार आयोगमा उजुरीसमेत दर्ता गरेका छन् । तर एसएसपी लामाले भने जाहेरी दर्ता नगरिएको दाबीको खण्डन गर्दै भने, ‘जाहेरी दर्ता भइसकेको छ ।’

प्रकाशित : कार्तिक २०, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?