१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नक्कली सुन किलोका किलो

तीन जना पक्राउ, एक फरार 
जनकराज सापकोटा

काठमाडौँ — टेकुबाट सोमबार बिहान निस्केको एउटा गाडीमा चालकसहित पाँच जना सवार थिए । उनीहरू ३५ लाखमा एक केजी सुन किन्न निस्केका थिए । 

नक्कली सुन किलोका किलो

सुन बेच्नेले उनीहरूलाई सुरुमा कोटेश्वर बोलायो, फेरि सातदोबाटो । सुरक्षाका कारण भन्दै बारम्बार स्थान बदलिरह्यो । थिमि, सूर्यविनायक हुँदै अन्तिममा झन्डै ३ बजेतिर ताथलीमा दुई टोलीको भेट भयो । भेट्नासाथ सुन किन्न आएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्यो । ग्राहकको भेषमा पुगेकाहरू खासमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी थिए– एक डीएसपी, दुई सई, एक जवान र एक चालक । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । एक जना भने भागेका छन् । ‘सानो टोली हुँदा एक जना भागे पनि अन्यलाई सजिलै नियन्त्रणमा लियौं,’ एक प्रहरीले भने ।


महाशाखाले ललितपुर, सातदोबाटोका राजेन्द्र तामाङ, ढोलाहिटीका राजकुमार तामाङ र मातातीर्थका राजु लामालाई पक्राउ गरेको छ । यो गिरोहले संगठित रूपमै नक्कली सुनको कारोबार गर्दै आएको खुलेको छ । महाशाखाका अनुसार राजकुमार यसअघि पनि ठगी मुद्दामा प्रहरी परिसर ललितपुरबाट दुईपटक र महानगरीय अपराध महाशाखाबाट एकपटक पक्राउ परी कैद सजाय भुक्तान गरेका व्यक्ति हुन् ।


दुबई मेड लेखिएको एक केजी सक्कली सुनको औसत बजार मूल्य ४५ देखि ५० लाख पर्छ । उक्त गिरोहले दुबई मेड नै लेखिएको छाप हानेर नक्कली सुन बेच्दै आएको छ ।


महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीका अनुसार गिरोहले सुन किन्न एकान्तमा बोलाउने र नक्कली भन्ने थाहा पाएर किन्न नचाहे रकम लुटेर भाग्ने गथ्र्यो ।


प्रहरीले सक्कली सुनको संगठित तस्करीमाथि कडाइ गरेपछि पछिल्ला महिना नक्कली सुनको कारोबार सतहमा आउन थालेको छ । उप्रेतीका अनुसार अहिले नक्कली सुन बेच्ने वा त्यसैको आवरणमा लुट धन्दा मच्चाउने अनेकन गिरोह सक्रिय छन् ।


असार अन्तिम साता स्वयम्भू प्रहरी वृत्तले सीतापाइलाबाट ९ किलो सुन बरामद गरेको सूचना सार्वजनिक भयो । तर परीक्षण गर्दा बिस्कुट आकारको उक्त धातु सुन नभएको खुल्यो । विशेष सूचनाका आधारमा प्रहरीले सीतापाइलास्थित एक टमाटर फार्मभित्रको सानो टहरोबाट नक्कली सुनसहित काभ्रेका साइमन सोनामलाई पक्राउ गरेको थियो । बरामद धातुमा सक्कली सुनजस्तै लोगो अंकित थियो । सुन सक्कली नभएको पुष्टिपछि प्रहरीले साइमनमाथि ठगी अभियोगमा मुद्दा चलाएको थियो ।


नक्कली सुन कारोबारको अर्को पर्दा खुल्यो, ६ वैशाखमा । भक्तपुर, सूर्यविनायकका राजेन्द्र थापा गत वर्ष पुस २३ मा २८ लाख ६० हजार रुपैयाँ बोकेर साथीसँग नागार्जुनको सेतो गुम्बा जाने बाटोमा पुगेका थिए । उनी रामेछाप, दोरम्बा स्थायी घर भई भक्तपुर, सल्लाघारी बस्ने अजय तामाङ, विष्णु मोक्तान, झापा घर बताउने कर्ण लिम्बू र अर्का एक जनासँग एक केजी सुन किनेर फर्किए ।


करिब १५ लाख रुपैयाँ फाइदा हुने लोभमा सुनमा लगानी गरेका थापा झसंग भए, जब सुन पसलेबाट उक्त सुन नक्कली भएको थाहा पाए । ऋण काढेर किनेको सुन नक्कली भएपछि उनी सोही गिरोहको खोजीमा लागे । उपाय नलागेपछि प्रहरीमा पुगेका थिए । दुई महिना अनुसन्धानपछि प्रहरीले अजय र विष्णुलाई पक्राउ गरेको छ ।

कर्णसहित अर्का एक फरार छन् । गत जेठ १८ मा अर्को घटना सार्वजनिक भयो । प्रहरीले गोंगबुबाट पोखरा जान लागेका ओमनाथ देवकोटाको साथमा रहेको एक किलो सुन दुई मोटरसाइकलमा आएका तीन युवाले लुटेको सूचना पायो । एक ट्याक्सी चालकले प्रहरीलाई खबर गरेका थिए ।


महानगरीय प्रहरी वृत्त महाराजगन्जले अनुसन्धानपछि पत्तो पायो– गोंगबु बस्ने कुमार केसीले सोनाम भनिने नेमजुङ तामाङसँग एक किलो सुन खरिद गर्ने सहमति गरेका रहेछन् । उनीहरूबीच तत्काल दस लाख र बाँकी रकम बिक्रीपछि दिने सहमति रहेछ । देव भनिने कोतबहादुर तामाङले सुन खरिद गर्ने ग्राहक खोजेर सोनामलाई भेटाइदिएका थिए ।


कामको सिलसिलामा पोखरा रहेका कुमारले सुन किन्न आफ्ना साथी ओमनाथ देवकोटालाई बैंकमार्फत ९ लाख ५० हजार रुपैयाँ पठाइदिए । ओमनाथ सुन किनेर ट्याक्सीमा पोखरा फर्किंदै गर्दा दहचोकमा लुटियो ।


अनुसन्धानमा ग्राहक खोज्ने काममा लागेका कोतबहादुरले नै सुन बिक्रीपछि लुट्ने योजना बनाएको तथ्य खुल्यो । प्रहरीका अनुसार उनले साथी नवीन गुरुङ, निमा लामा, राजीवकुमार बोलोन, अर्जुन तामाङ र बानसन श्रेष्ठसँग मिलेर लुट्ने योजना बनाएका रहेछन् । जब प्रहरीले चपलीस्थित एक घरको पछाडिपट्टि ढुंगामुनि लुकाइएको सुन फेला पार्‍यो, थाहा भयो– सक्कली ठानेर गरिएको सुन किनबेच र लुटपाट नक्कली सुनकै कारोबार रहेछ । महाराजगन्ज वृत्तका डीएसपी योगेन्द्र थापाका अनुसार किन्नेले पनि सक्कली सुन नै ठानेर लगानी गरेको देखिन्छ । लुट्ने गिरोहले पनि सक्कली सुन नै ठानेर लुटपाट योजना बनाएको देखिन्छ ।


बेचबिखनमा प्रयोग भएको नक्कली सुन धेरैजसो नेपालमै बनेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । उनका अनुसार पित्तल वा फलाममा पहेंलो लेप लगाई सक्कली सुनजस्तै होलमार्क बनाइएको छ । ‘केहीले नक्कली सुन छिमेकी भारतको सिलिगुडीबाट समेत किनेर ल्याएको देखियो,’ उनले भने ।

प्रकाशित : कार्तिक २०, २०७५ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?