कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसले बचाए २ को जीवन 

मस्तिष्क मृत्यु भएका एक जनाको अंगले आठ जनाको जीवन बचाउन सकिने
लीला श्रेष्ठ

भक्तपुर — सर्लाही सारापुरका बौद्ध धर्म गुरु ७२ वर्षीय टेकबहादुर हेन्जाङ (योन्जन) करिब ६ महिनाअघि लडे । शरीरमा चोट नदेखिएकाले हेन्जाङले त्यो लडाइलाई सामान्य रूपमा लिए । दिन प्रतिदिन रिंगटा (चक्कर) लाग्ने, टाउको दुख्ने भइरहे पनि उनले खासै ख्याल गरेनन् । 

कात्तिक ५ मा नवलपरासीको दाउन्नेस्थित गुम्बाबाट बस चढेर सर्लाही पुगे । ‘सर्लाही पुगेर बसबाट ओर्लनेबित्तिकै बुबालाई चक्कर लाग्ने, टाउको दुख्ने क्रम बढयो,’ उनकी छोरी लीला तामाङले भनिन्, ‘नजिकको स्वास्थ्य केन्द्रमा लगे पनि रोग पनि पत्ता लागेन, बेहोस अवस्थामा एम्बुलेन्सबाट पाटन अस्पताल पुर्‍यायौं ।’ आईसीयू कक्ष नभएकाले पाटन अस्पतालबाट गणेशमान स्मृति अस्पताल पुर्‍याएको उनले बताइन् ।


योन्जनको मस्तिष्क पक्षाघातका कारण मस्तिष्क मृत्यु भएको न्युरोलोजिस्ट डा. प्रवीण श्रेष्ठ, एनेस्थेसियोलोजिस्ट चिकित्सक डा.आरती राई र डा. नीरज हिराचनले घोषणा गरे । अस्पतालका चिकित्सक डा. हिराचनले बिरामीका परिवारलाई मस्तिष्क मृत्यु भएको व्यक्ति आफू मरेर गए तापनि अरू व्यक्तिलाई बचाउन सक्ने बुझाएपछि अंगदान गर्न परिवार मञ्जुर भए । परिवारको सहमतिमा कात्तिक १२ गते योञ्जनको मृगौला २ व्यक्तिलाई प्रत्यारोपण गरी पुनर्जीवन दिएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताए ।


मस्तिष्क मृत्यु भएको व्यक्तिबाट अंग झिक्नका लागि गणेशमान सिंह स्मृति अस्पताल एन्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी निर्देशक मिलन गुरुङ, पोस्टमार्टम विज्ञ डा. हरिहर अवस्थी, जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएका प्रहरी रामविहारी राउत, केन्द्रका शाखा अधिकृत हरिहर पोख्रेल, ट्रान्सप्लान्ट कोअर्डिनेटर सनिशा कार्की र अधिवक्ता सुशील श्रेष्ठद्वारा कानुनी प्रक्रिया पूरा गरी प्रत्यारोपण गरेको जनाएको छ ।


यस्तो कार्य अन्यले गर्ने हो भने धेरैको जीवनले पुनर्जन्म पाउने उनको भनाइ छ । योञ्जनको मृगौलाले वीर अस्पतालमा उपचाररत ५६ वर्षीय र मणिपाल अस्पताल पोखरामा उपचाररत ३० वर्षीय दुई पुरुषले पुनर्जीवन पाएका छन् । मस्तिष्क मृत्यु भएका व्यक्तिका अन्य अंगदान दिन सकिने भए पनि जनचेतनाको कमीले अंगदान गर्नेहरूको संख्या न्यून रहेको चिकित्सकहरू बताउँछन् । मस्तिष्क मृत्यु भएका एक व्यक्तिका मृगौला, फोक्सो, कलेजो, मुुटु, प्याङ्क्रियाज, सानो आन्द्रालगायतका अंग, मस्तिष्क दान गरी अन्य व्यक्तिलाई बचाउन सकिने डा. श्रेष्ठ बताउँछन् ।


शरीरको कुनै अंग काम नलाग्ने भएर उपचार प्रक्रियामा रहेका र अंगदान दिने कोही नभएका वा आफन्तको रक्त समूह नमिलेलाई त्यसरी मृत्यु भएको मानिसको मिल्ने देखिएमा प्रत्यारोपण गर्ने गरिन्छ । केन्द्रका अनुसार नेपालमा बर्सेनि एक हजारभन्दा धेरैको मस्तिष्क मृत्युका कारण ज्यान जाने गरेको छ ।


सडक दुर्घटना हुँदासमेत धेरै मानिसको मृत्यु मस्तिष्क मृत्युका कारण हुने गरेको चिकित्सकहरूको भनाइ छ । यदि समयमै मस्तिष्क मृत्युका कारण मृत्यु भएका मानिसको अंग अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सक्ने वातावरण भए एक जनाको अंगले आठ जनाको जीवन बचाउन सकिने श्रेष्ठले जानकारी दिए ।


नेपालमा अंगदान गर्ने परम्परा खासै नभए पनि दुई वर्षयता यसको सुरुआत भएको डाक्टर श्रेष्ठको भनाइ छ । यो मस्तिष्क मृत्यु भएका व्यक्तिको मृगौला अन्य व्यक्तिलाई प्रत्यारोपण गरेको दोस्रो पटक हो ।


यसअघि २०७४ वैशाख २८ मा मुलुकमै पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट केन्द्रमा २ जनाको मृगौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित : कार्तिक २१, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?