हड्डी मक्किने रोगको उपचार छायामा

फातिमा बानु

काठमाडौँ — बुढेसकालमा लाग्ने हड्डी मक्किने रोगको उपचार छायामा परिरहेको छ । जनचेतनाको कमी, सरकारको कमजोर स्वास्थ्य नीति र महँगो उपचार शुल्कका कारण यो रोगको उपचार छायामा परेको हो ।

बदलिँदो जीवनशैली, अस्वास्थ्यकर खानेकुरा, धूम्रपान, मद्यपानका कारण पछिल्लो समय हड्डी मक्किने रोगका बिरामी बढिरहेका छन् । विशेषगरी बढ्दो उमेरका कारण हुने यो रोगले आजभोलि युवालाई पनि गाँजिरहेको छ । चिकित्सकका अनुसार महिला बढी यो रोगबाट पीडित भइरहेका छन् । महिनावारी रोकिएपछि महिलामा हुने इस्ट्रोजोन हार्मोनको कमीले यो रोगबाट उनीहरू बढी पीडित भएका हुन् ।


प्राकृतिक रूपमै मानव शरीरको हाड बर्सेनि ३ प्रतिशतका दरले कमजोर हुँदै जान्छ । महिनावारी सुकेका महिला र बढ्दो उमेरका पुरुषको हड्डी थप संवेदनशील र कमलो हुन्छ, जुन सजिलै भाँचिन सक्छ । हड्डी अझै कमजोर हुँदै जाने समस्या हड्डी मक्किने रोग (ओस्टियोपोरोसिस) हो । रोग लागेपछि सामान्य चोटपटक लाग्दा पनि ढाड, हिप, नाडी र घुँडा भाँचिन्छ ।


हाडजोर्नी विशेषज्ञ डा. विक्रान्त मेहता भन्छन्, ‘शल्यक्रियापछि राख्नुपर्ने पाताहरू महँगो छ, उपचार गर्न नसक्दा जटिलता पैदा भएर बिरामीले रोग लागेको छोटो समयमै ज्यान गुमाइरहेका छन् ।’ सरकारले यस्ता बिरामीको सहज उपचारमा ध्यान दिनुपर्ने उनी बताउँछन् ।


मधुमेह, छारेरोगजस्ता दीर्घरोगको रोगको औषधि सेवन गर्नेलाई पनि यो रोगले बढी समात्ने गरेको छ । डा. दीपेन्द्र पाण्डे भन्छन्, ‘दैनिक हिँड्ने, नाँच्ने या खेलकुद गर्ने जीवनशैली अपनाउनुपर्छ, दैनिक गेडागुडी र फलफूलको रस सेवनले पनि यो रोगको सम्भावना घटाउँछ ।’


समयमै रोकथाम नगर्दा बोन अट्याक भएर जटिल र महँगो शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ । शल्यक्रियापछि पनि प्रत्यक चार बिरामीमध्ये एक जनाको एक वर्षभित्र नै मृत्यु हुने गरेको डा. पाण्डे बताउँछन् । उनी भन्छन्, ‘बाँचेका पनि कमै बिरामी मात्रै सामान्य जीवनयापन गर्न सक्छन्, प्राय: अरूको सहारामा हिँडडुल गर्छन् ।’


यो रोगसँग लड्न सघाउने ८० प्रतिशतन्दा बढी भिटामिन डी घामबाट प्राप्त हुन्छ । दैनिक बिहान र साँझको घाम ताप्दा रो रोग लाग्ने जोखिम घटेर जाने चिकित्सक बताउँछन् । जंकफुडमा कुनै पोषणतत्त्व नहुने हुँदा यस्ता खानेकुराबाट टाढै बसी हड्डी मक्किने रोगबाट बच्न चिकित्सक सुझाउँछन् ।

प्रकाशित : कार्तिक २१, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?