मागभन्दा उत्पादन बढी

रमेशचन्द्र अधिकारी

धनकुटा — मागभन्दा बढी फूलको उत्पादन भएपछि धनकुटाका व्यावसायिक पुष्प कृषकलाई बजार पाउन कठिनाइ भएको छ । अधिकांश ग्रामीण क्षेत्रमा तिहारलाई लक्ष्य गर्दै सयपत्री फूलको खेती गरिएको थियो । 

मागभन्दा उत्पादन बढी

फूल उत्पादन बढी भएपछि कृषकले उचित मूल्य पाउन सकिरहेका छैनन् । धनकुटा नगरपालिका ५ कर्मीटारका कृषक गोविन्द श्रेष्ठले भाडा ‘लिज’मा लिएको जग्गामा फूल व्यवसाय गरेको बताए । साढे २ रोपनी क्षेत्रफलमा गरिएको फूलको उत्पादन रहर लाग्दो भएको उनको सुनाए । यसपाली फूलको खेती सोचेभन्दा राम्रो भएको उनले बताए । आफ्नै उत्पादन र अन्य कृषकबाट खरिद गरेर उनी फूल बिक्री गर्दै आएका छन् ।


गत वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका श्रेष्ठले यस वर्ष आधा गर्न पनि कठिन भएको उनले बताए । स्थानीय बजारदेखि उनी धरानसम्म फूल बिक्री गर्न लैजान्छन् । धनकुटामा सन्तोषजनक भएपनि धरानमा सोचे जस्तो बिक्रि गर्न नसकेको उनको भनाइ छ । ‘यस वर्ष सबैतिर फूल उत्पादन बढेको छ,’ उनले भने, ‘विगत जस्तै मूल्य नै पाइएन ।’


यसैगरी सामुहिक फूल खेती गर्दै आएका स्थानीय महिला समूहले पनि सोचे जस्तो आम्दानी पाउन नसकेको सुनाए । धनकुटा ५ वडा कार्यालयमार्फत अनुदानमा ताजा तरकारी तथा फलफूल उत्पादन महिला समूहले ४ रोपनी क्षेत्रफलमा सयपत्री फूलको उत्पादन गरेको छ । उनीहरूले ४० हजार रुपैयाँको सयपत्री बीउ खरिद गरेर उत्पादन थालिएको समुह सदस्य सीता श्रेष्ठले बताइन् । उनले सोच जस्तो मूल्य नपाएको जानकारी दिइन् ।


धनकुटा ३ का अधिकांश कृषक पछिल्लो केही वर्षदेखि वैकल्पिक खेतीका रूपमा सयपत्री फूल उत्पादन गर्दै आएका छन् । स्याउले, लाकुरे, सिप्तिङ, पात्ले लगायतका स्थानमा सयपत्री फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ ।


स्थानीय कृषकले फूल बिक्रीबाट कम्तिमा ७५ लाख रुपैयाँसम्म भित्रिने आशा गरेका थिए । तर अन्यत्र पनि फूलको उत्पादन उल्लेख्य भएपछि कारोबारमा असर पुगेको छ । सोचे जस्तो अवस्था नभएको अग्रणी फूल व्यवसायी स्थानीय जितेन्द्र राईको भनाइ छ । राईले २० रोपनी जग्गामा सयपत्री खेती गरेका छन् ।


उनी कोदो खेती छाडेर सयपत्रीमा आकर्षित भएका थिए । विगत पाँच वर्षदेखि सयपत्री खेती गर्दै आएका उनी यस वर्ष कम्तीमा २ लाख रुपैयाँ बढी आम्दानी गर्ने लक्ष्यमा थिए । सयपत्रीको आकर्षण देखेरै उनले स्थानीय जातको भन्दा वाह्य मुलुकबाट बिउ झिकाएर उन्नत जातको सयपत्री खेती गरेका छन् ।


उनले १७ हजार रुपैयाँको बिउ छरेर २० रोपनी जग्गामा खेती गरेका थिए । कतिपय कृषकले धरान, इटहरी, विराटनगरलगायतका स्थानमा फूल बिक्रीका लागि लगेपनि उचित मुल्य नपाएको सुनाए । भारतबाट समेत उल्लेख्य रूपमा सयपत्रीको माला भित्रिएपछि स्वदेशी फूल कृषक मारमा परेको गुनासो छ ।


धनकुटामा सयपत्रीको उत्पादनमा कृषक आकर्षित हुनेक्रम बढे पनि स्थानीय तहबाट सहयोग र बजारिकरणका लागि चासो नदिइएको कृषकको गुनासो छ ।

प्रकाशित : कार्तिक २१, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?