२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लक्ष्मीले नै ल्याउँछिन्, ‘लक्ष्मी’

‘खर्च गरेरभन्दा आम्दानी गरेर लक्ष्मीको पूजा गर्नुपर्छ’
मधु शाही

बाँके — पैसा र धनसम्पत्ति हुनेहरूले लक्ष्मी पूजा गर्न थुप्रै लक्ष्मी खर्च गर्छन् । तर, मनिकापुर २६ नेपालगन्जकी विना प्रजापतिको लक्ष्मी पूजा अरूको भन्दा बेग्लै छ । उनले आफ्नै हातले सिर्जना गरेका लक्ष्मीका मूर्ति बेचेर लक्ष्मी नै (पैसा) आर्जन गर्छिन् । 

उनले आफ्नै हातले बनाएका लक्ष्मीका प्रतिमा बिक्रीका लागि बजार ल्याएकी हुन् । लक्ष्मी पूजाका लागि झन्डै २ हजार प्रतिमा बनाएको उनले बताइन् । ‘लक्ष्मी पूजामा धेरै बिक्री हुन्छ,’ उनले भनिन्, ‘एक महिनादेखि बनाएका मूर्ति अहिले बेच्दै छु ।’


खुला बजारमा अन्य मुलुकबाट आयातीत देवीदेवताका मूर्ति र पोस्टर पाइन्छन् । तर, विनाचाहिँ १८ वर्षदेखि आफ्नै हातले लक्ष्मीको मूर्ति कलात्मक शैलीमा बनाउँदै आएकी छन् ।


प्रतिस्पर्धात्मक बजारमा उनले हातले बनाएका कला सजिलै बिक्न गाह्रो छ । तर, उनलाई रित्तै बस्नुपरेको छैन । ‘दैनिक कम्तीमा १० वटा बेचेकी छु,’ उनले थपिन्, ‘तिहारमा लक्ष्मीको मूर्ति बढी बिक्छ ।’ समयको मौका छोप्न जान्दिनन्, विना । उनी सधै ६० रुपैयाँमा एउटा मूर्ति बेच्ने गर्छिन् भने तिहारको बेला पनि त्यही मूल्यमा मूर्ति व्यापार गरेको बताउँछिन् ।


कम मूल्य राखेर धेरै सामान बिक्री गर्नुपर्छ भन्ने मान्यता अनरूप उनले यसो गरेकी हुन् । उनले मंगलबार व्यापारमा रेकर्ड तोडिन् । उनले अहिले १ दिनमा सयभन्दा बढी मूर्ति बिक्री गरेको सुनाइन् । जुन उनको हिसाबले अहिलेसम्मकै अधिक हो ।


दसैं र तिहारको मौकामा उनले सिर्जना गरेका मूर्ति व्यापार ह्वात्तै बढ्ने गर्छ । ‘घरमा पनि आफैंले बनाएको लक्ष्मीकै पूजा गर्छु,’ उनी भन्छिन्, ‘खर्च गरेरभन्दा आम्दानी गरेर लक्ष्मीको पूजा गर्नुपर्छ ।’


घरको भान्सादेखि खेती किसानीसम्मका काम सकेर बचेको समय उनी मूर्ति बनाउँछिन् । खाली बस्न उनलाई पटक्कै मन पर्दैन । मूर्ति बनाउने कला उनले कुनै गुरुबाट सिकेकी होइनन् । माटोमा एक किसिमको आकृति देख्ने स्वाभाव थियो उनको ।


त्यसैलाई खेलाउँदा खेलाउँदै उनले देवीदेवताका आकृति नक्कल गर्न लागेको सुनाइन् । समयको लगानीसँगै विनाले मूर्ति बनाउन माटो, रङ, चुनालगायत कच्चापदार्थ किन्नुपर्छ । यी सबै सामग्री उनका छोराले भारतबाट किनेर ल्याइदिन्छन् । मूर्ति बनाएको आम्दानीले छोराछोरीको शिक्षामा लगानी गर्दै आएको उनले बताइन् ।


देवीदेवताका मूर्तिँगै विनाले स–साना सजावटका सामान, पैसा राख्ने खुत्रुके, बेहुली, खेलौनाजस्ता आकृति सिर्जना गर्न सिपालु छिन् । उनले बनाएको सामग्रीको गाउँमा खासै मूल्य छैन । त्यसैले उनी नेपालगन्ज बजारमा हरेक दिन बिक्रीका लागि आउने बताइन् ।

प्रकाशित : कार्तिक २१, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?