कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा चाडपर्वको चहलपहल

शंकर आचार्य

पर्सा — नजिकिएको तिहार र छठ पर्वले वीरगन्जमा आर्थिक चहलपहल बढाएको छ । तिहारलगत्तै तराईको सबैभन्दा ठूलो पर्व छठ परेकाले आर्थिक गतिविधि ह्वात्तै बढेको हो । 

वीरगन्जमा चाडपर्वको चहलपहल

यी पर्वले यहाँको वर्षभरिको अर्थतन्त्र चलायमान बनाउँछ । वीरगन्ज बजारमा शनिबारदेखि नै चहलपहल बढेको छ । वीरगन्ज र आसपासका बासिन्दाको सीमावर्ती भारतीय सहर रक्सौलमा किनमेल गर्न जाने प्रवृत्ति कायमै रहे पनि यस पटक भने वीरगन्ज बजारमा समेत रौनक बढेको छ ।


लक्ष्मीपूजा र छठ पर्वका लागि घर रंगरोगन गर्नेदेखि, पूजा सामग्री, खाद्यान्न, लत्ताकपडा आदिको पनि किनमेल गर्ने चलन रहेकाले बजारमा उपभोक्ताको बाक्लै भीड लाग्न थालेको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल केडिया यस वर्ष वीरगन्जमा चहलपहल बढेको बताउँछन् ।


‘अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष आर्थिक कारोबारको चहलपहल बढेको छ,’ उनले भने, ‘अघिल्ला वर्षहरूजस्तो बन्द हड्ताल, चुनाव आदि केही नभएर स्थानीयले सहज रूपमा चाडपर्व मनाउने वातावरण भएर पनि यसो भएको हुन सक्छ ।’ यी पर्वले वीरगन्जको आर्थिक गतिविधिलाई बर्सेनि चलायमान बनाउने गरेको आफूले अनुभव गरेको केडिया बताउँछन् ।

छठ पर्वका लागि यहाँका जलाशय तथा घाटहरू सरसफाइ तथा सजावटको काम सुरु भइसकेको छ । मुलुककै भव्य छठ घाटको रूपमा चर्चित वीरगन्जको घडिअर्वा छठ घाट सजाउने काम हाल जोडतोडका साथ भइरहेको छ । लक्ष्मीपूजालाई लक्षित गरी आर्थिक नगरीका उद्योगी व्यवसायीले आ–आफ्नो घर–टोलमा बत्तीको सजावट गरिसकेकाले महानगर झिलिमिली देखिन थालेको छ । उद्योगी व्यवसायीको बढी बसोबास रहेको आदर्शनगर क्षेत्र झनै भव्य रूपमा सजाइएको छ ।


तिहारको पहिलो दिन सोमबार धन्वन्तरी जयन्ती, काग तिहार तथा धनतेरस पर्व मनाइयो । धनतेरसमा घरमा कम्तीमा एउटा नयाँ वस्तु, गरगहना, धातु तथा सवारी साधनसमेत खरिद गर्ने चलन रहेकाले वीरगन्ज बजारमा सोमबार अत्यधिक भीडभाड रहेको थियो । यहाँस्थित मोटरसाइकल तथा ट्रयाक्टर सोरुममा नयाँ मोटरसाइकल तथा ट्रयाक्टर किन्नेको भीडभाड रहेको थियो । आदर्शनगरस्थित ग्रिनसिटी सामुदायिक संस्थाले आदर्शनगर चोकदेखि पश्चिम पशुपति घोष चोकसम्म आकर्षक साजसज्जासहितको बत्तीको सजावट गरेको छ ।


महानगरवासीलाई आदर्शनगरको झकिझकाउ र झिलिमिलीले आकर्षित गरिरहेको छ । उनीहरू साँझपख आदर्शनगर क्षेत्र घुम्न आउने र तस्बिर खिचाउने गर्न थालेका छन् । संस्थाका अध्यक्ष जयप्रकाश खेतान लक्ष्मीपूजाको दिन संस्थाले आदर्शनगरमै खाना महोत्सवसमेत आयोजन गरेको बताउँछन् । लक्ष्मीपूजाको साँझ महानगरवासी आदर्शनगर क्षेत्रमा घुम्न आउने पुरानो चलन छ । त्यस दिन आदर्शनगर घुम्न आउनेले खानाको पनि आनन्द उठाऊन् भन्ने उद्देश्यले महोत्सवको आयोजन गरिएको उनले बताए ।


होटल तथा पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष हरि पन्तले लक्ष्मीपूजाकै दिन आयोजित महोत्सवले सुनमा सुगन्ध थप्ने काम गर्ने बताए । ‘लक्ष्मीपूजाको दिन कतिपयले घरमा खाना नबनाई मिठाइ आदि पकवान्न मात्र बनाउने चलन छ,’ उनले भने, ‘आदर्शनगर घुम्न आउनेहरू यतै खाना खान खोज्छन् तर अधिकांश होटलले जनशक्ति अभावको कारण देखाउँदै खाना बनाउँदैनन्, यस वर्ष हामीले खाना महोत्सवमा थकाली खानादेखि स्वदेशी तथा विदेशी परिकारसमेत पस्कने जमर्को गरेका छौं, यसले महानगरवासीलाई अवश्य पनि नयाँपन महसुस गराउनेछ ।’

प्रकाशित : कार्तिक २१, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?