कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फेसन बन्दै ‘चियापान र शुभकामना’

‘पर्वको अवसर पारेर भेटघाट र शुभकामना आदान–प्रदान गर्नु ठीकै हो तर यही निहुँमा अनावश्यक खर्च गर्नुचाहिँ तर्कसंगत मानिँदैन’
लीलाबल्लभ घिमिरे

विराटनगर — प्रदेश १ सरकारले कात्तिक २६ गते विराटनगरको आदर्श माविमा छठका अवसरमा शुभकामना आदान–प्रदान, सांस्कृतिक कार्यक्रम तथा जलपान कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रममा ५ हजारभन्दा बढीलाई निमन्त्रणा कार्ड पठाइएको छ ।

‘हामीले तीन महान् चाडमध्ये छठलाई रोजेका छौं,’ प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले भने, ‘यो पर्व तराईको सांस्कृतिक पर्व हो ।’

दसैं, तिहार र छठ पर्वको अवसरमा पछिल्लो समय शुभकामना आदान–प्रदानमा मात्र सीमित छैन । त्यससँगै जलपानसमेतको आयोजना गरिन्छ ।


राजनीतिक दलहरूबीच यो कार्यक्रम प्रतिस्पर्धात्मक बन्दै गएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल यस्तै कार्यक्रममा सहभागी हुन सोमबार विराटनगर आए ।


पर्वको अवसर पारेर चियापान गर्ने चलन फेसनजस्तै बनेको छ । यस्तो कार्यक्रममा सामान्यत: कुनै औपचारिक गतिविधि हुँदैन । खासै केही विषयमा छलफलसमेत गरिँदैन । तिम्तालुहरू भेला भएर खानेकुरा खाने र शुभकामना आदानप्रदान गर्ने काम गरिन्छ । कतिपयले यस्तो कार्यक्रमलाई सामान्य मान्ने गरेका छन् भने केहीले अनावश्यक खर्च भन्ने गरेका छन् ।


‘पर्वको अवसर रोजेर भेटघाट र शुभकामना आदान–प्रदान गर्नु ठीकै हो,’ अर्थशास्त्रका एक प्राध्यापकले भने, ‘तर, यही निहुँमा अनावश्यक खर्च गर्नुचाहिँ तर्कसंगत लाग्दैन ।’ पहिले कम मात्र हुने यस्ता कार्यक्रम अचेल राजनीतिक दल, सरकार तथा संस्थाहरूलगायतले गर्ने गरेको उल्लेख गर्दै उनले ठोस उपलब्धि नहुने यस्ता कार्यक्रमबाट अनावश्यक खर्च बढाउनेभन्दा अर्थोक उपलब्धि नहुने बताए ।


प्राध्यापक अर्जुन बराल यस्तो कार्यक्रम गर्नु फजुल खर्च हुने बताउँछन् । ‘यस्ता कार्यक्रमले संगठन विस्तार र बलियो पनि हुँदैन,’ उनले भने, ‘काठमाडौंबाट नेता बोलाई तामझाम गरेर खर्च गर्नु अनावश्यक हो ।’ दलका नेताहरूले रवाफ देखाउन पनि यस्ता कार्यक्रम गर्ने गरेको उनको टिप्पणी छ । ‘यस्ता कार्यक्रमको खासै महत्त्व छैन,’ बरालले भने, ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तो मात्र हो ।’


तिहार र छठको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना नेकपा मोरङले गरेको थियो । कार्यक्रममा ५ हजारभन्दा बढी सहभागी भएको आयोजकको दाबी छ । कार्यक्रममा मन्त्रीहरू लालबाबु पण्डित र भानुभक्त ढकाल कार्यक्रमभरि बसेका थिए । प्रदेशका मन्त्रीहरू पनि थिए ।


चियापान कार्यक्रमले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य तथा सांसद मीनेन्द्र रिजाल, केन्द्रीय सदस्यहरू शेखर कोइराला, गगन थापा, गुरुराज घिमिरे, अमृत अर्याल, डिला संग्रौलासमेत व्यस्त बनाएको छ ।


‘चियापानअघि पार्टीको प्रशिक्षण कार्यक्रम चल्यो,’ नेकपा मोरङका नेता गणेश उप्रेतीले भने, ‘यस्ता कार्यक्रमले पार्टी संगठन चलायमान अनि अन्तरपार्टी सम्बन्धसमेत सुमधुर बन्दै जान्छ ।’

नेकपाको चियापानमा एक कप चिया, एउटा स्याउ, निम्कीलगायतका खाजा राखिएको थियो । प्रतिव्यक्ति बढीमा २५ रुपैयाँभन्दा बढी नपरेको उप्रतीको दाबी छ । ‘कार्यक्रममा करिब १ लाख खर्च भयो,’ उनले भने, ‘दुवै पार्टीको पुरानो शुल्कको पैसा बाँकी रहेछ, त्यसैबाट काम चलाएका छौं ।’


यसैगरी तीन दिनअघि कांग्रेस मोरङले पनि चियापान कार्यक्रमको आयोजना गर्‍यो । करिब ७ सय कार्यक्रममा सहभागी भएको मोरङ कांग्रेस सचिव मोदराज घिमिरेले बताए । कांग्रेसको चियापानमा एउटा समोसा, लालमोनलगायतको खाजा थियो । ‘सामान्य खर्च भयो,’ सचिव घिमिरेले भने, ‘पार्टी सदस्यहरूबाट उठेको शुल्ककै पैसा तिर्छौं ।’


यसपटक कांग्रेसको जिल्ला समिति मात्र होइन क्षेत्रीय समिति, नगर समिति र वडा समितिहरूले समेत पर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरे । कांग्रेसको रतुवामाई नगर समितिले आयोजना गरेको चियापान कार्यक्रमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य तथा सांसद मीनेन्द्र रिजाल, केन्द्रीय सदस्यहरू गगन थापा र डिला संग्रौला समेत सहभागी भएका थिए । नेकपाले रंगेलीमा यस्तै कार्यक्रम गर्‍यो ।


मुख्यमन्त्री शेरधन राईदेखि प्रदेशमा मन्त्री र पार्टीका केन्द्रीय नेताकोहरूको लाम नै लाग्यो । नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल, महेश रेग्मीलगायत धेरै नेता, कार्यकर्ता केही दिनदेखि यस्तै कार्यक्रम व्यस्त छन् ।

प्रकाशित : कार्तिक २१, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?