२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

शंखधर साख्वा न्याय र समानताका अभियन्ता : प्रधानमन्त्री

नेपाल संवत् ११३९ को शुभकामना
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्‌का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गरेका छन् । 

शंखधर साख्वा न्याय र समानताका अभियन्ता : प्रधानमन्त्री

नेपाल सम्वतको नयाँ वर्ष ११३९ का अवसरमा बिहीबार शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले साख्वा कै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल सम्वत् प्रचलनमा आएको र साख्वाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको जनाएका छन् ।


प्रधानमन्त्री ओलीले नेपाल सम्वत्‌काे सुरुवातका घटना नै प्रेरणादायी भएको सन्दर्भ पनि उल्लेख गरेका छन् । ‘शंखधर साख्वाले ११३९ वर्षअघि ऋणमा बाँधिएका गरिब किसानहरुलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराउनु भएको थियो । त्यही बेलादेखि सुरु भएको नेपाल संवत्‌ले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउँदै आएको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा छ, ‘नेपाली समाजको गौरवशाली विगत र मूल्यमान्यतालाई अक्षुण्ण राख्नसमेत यो सम्वत्‌ले हामीलाई झक्झक्याउँदै आएको छ ।’


शंखधर साख्वाले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराएर स्वतन्त्रता दिलाएकै कारण शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफलभएको प्रधानमन्त्री ओलीको सन्देशमा छ । ‘काठमाडौं उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने, नेपाल संवत्का प्रवर्तक, समाज सुधारक तथा प्रगतिशिल व्यक्तित्व शंखधर साख्वाको विशेष स्मरण गर्न चाहन्छु,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।


यो वर्ष ‘भिन्तुना र्‍याली’ र्‍याली स्थगित

तिहारको गोवर्धन पूजाका दिन नेपाल सम्वत्‌काे पहिलो दिन नयाँ वर्ष मनाउने चलन छ । विशेष गरेर उपत्यकाको तीन सहर काठमाडौं, भक्तपुर र ललितपुरको नेवार समुदायले छुट्टाछुट्टै रुपमा विशेष तामझाम, मोटर साइकल भिन्तुना र्‍याली, शुभकामना आदानप्रदान गर्ने गरिन्थ्यो ।


यो वर्ष मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनका कारण सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ । नेवा: देय दबूका अध्यक्ष नरेश ताम्राकारले नेपालभाषा आन्दोलनका नेता पद्मरत्न तुलाधरको असामयिक निधन भएकोले उहााको सम्मानमा न्हु दाय भिन्तुना कार्यक्रम स्थगित भएको बताए । हरेक वर्ष बसन्तपुर, ललितपुर र ललितपुरमा हुने न्हु दा: भिन्तुना विशेष समारोह प्रधानमन्त्री मुख्य आतिथ्यमा हुने गर्थ्याे । भने, ‘म यसपालि कही पनि भाग लिन गइन ।’


भक्तपुरको ठिमीस्थित राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले औपचारिक कार्यक्रम सामान्य रुपमा सम्पन्न गर्ने जनाएको छ । प्रतिष्ठानले अरनिको राजमार्गसागै ठिमी चोकमा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा निर्माण गरेको छ । ‘नेपाल भाषा आन्दोलनका नेता पद्मरत्न तुलाधरको निधन यो वर्ष विशिष्ट परिस्थिति भएकोले राष्ट्रिय विभूतिको प्रतिमामा सामान्य माल्यार्पण कार्यक्रममात्र हुनेछ,’ प्रतिष्ठानका सचिव ज्ञानराम श्रेष्ठले भने, ‘प्रतिमामा माल्यार्पणपछि सम्मान कार्यक्रम हुनेछ ।’


प्रतिष्ठानले यो वर्ष संस्थागततर्फ नेपाल संवत्को पञ्चांगपत्र निर्माण समिति र नेपालभाषाका साहित्यकार राजा शाक्यलाई सम्मान गर्ने जनाइएको छ । सम्मान प्रदान गर्न स्थानीय जनप्रतिनिधिबाट हुनेसमेत श्रेष्ठले जनाए । टोखा, बलम्बु, बनेपा, धुलिखेल लगायत स्थानमा समेत न्हु दा: भिन्तुना कार्यक्रमहरु स्थगित भएको जनाइएको छ ।

प्रकाशित : कार्तिक २२, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?