तिहार नआउने ती गाउँ

फरक आस्था र धर्मले होइन कामकाजका बेला पर्व मनाउनुहुन्न भन्ने मान्यताले मैकोट र त्यस आसपासका गाउँमा तिहार मनाउने चलन छैन
हरि गौतम

रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटका तेजेन्द्र घर्तीमगर हिउँदे बाली लगाउनमा व्यस्त छन् । गहुँ र जौ लगाउन बारी तयार बनाउन उनी निरन्तर खनजोतमा सक्रिय छन् । केही समयदेखि खनजोतमा लागेका घर्तीको खेती लाउने काम अझै केही दिन चल्छ ।

तिहार नआउने ती गाउँ

सोही ठाउँकी सोनु बुढामगरलाई वर्षे घाँस काट्ने, सुकाउने र थन्क्याउने कामले फुर्सद छैन । यसका साथै जंगल गएका गाईबस्तु घर ल्याउने काम पनि उनैले गर्नुपर्छ । घर्ती र बुढामगरलाई आउँदै गरेको तिहार अर्थात् भाइटीकाको कुनै मतलब छैन । उनीहरू यमपञ्चकको पाँचै दिन नियमित काम गर्छन् । घर्ती र बुढामगर मात्रै होइन, यहाँका सारा गाउँलेलाई नै यो तिहारको खासै मतलब छैन । किनभने, यो समय भनेको उनीहरूको मुख्य कामकाजको समय हो ।

सिंगो मैकोटवासीले भाइटीका अर्थात् तिहार मान्दैनन् । कामकाज चलेका बेला पर्व मान्नु हुँदैन भन्ने मान्यताका कारण मैकोटवासीले तिहार मनाउन छाडेको लामो समय भइसक्यो । हिमालको काखमा अवस्थित यो गाउँमा चिसो बढिसकेको छ । बाक्लो हिमपात हुने यस ठाउँका सर्वसाधारण यो समय हिउँदको जाडो कटाउने सामग्री जुटाउने मेलोमेसोमा छन् । यहाँका स्थानीय आफू र गाईबस्तुका लागि जाडो कटाउने मालसामान जुटाउँदैछन् । हिउँदे खेती गहुँ, जौ लगाउने काम त मैकोटवासीको मुख्य पेसा नै भयो ।

यसका अतिरिक्त उनीहरू अहिले हरियो घाँस काटेर सुकाउने, त्यसलाई थन्क्याउने र गाईबस्तु भङ हाल्ने (जंगलबाट घर फर्काउने) काममा व्यस्त हुन्छन् । गत फागुन/चैत महिनामा जंगल छाडिएका गाईबस्तु अहिले घर फर्काउने समय हो । हरेक वर्षाको घाँस खुवाउन जंगल पठाइएका गाईबस्तु जाडो सुरु भएपछि घर ल्याइन्छ ।

‘हामी तिहार मान्दैनौं, यो बेला भनेको कामकाजमा व्यस्त हुने हो,’ स्थानीय युवा भरतकुमार पुनले भने, ‘तिहार आएको र गएको हामी गाउँलेलाई खासै मतलब हुँदैन ।’ मैकोटका कसैले पनि भाइटीका अर्थात् तिहार मनाउने गरेको उनलाई थाहा छैन । फरक आस्था र धर्मका कारण नभएर तिहार मनाउने चलन नै गाउँमा नभएको उनले बताए । ‘हामीले थाहा पाउने भएदेखि नै यो पर्व मनाएको, दिदीभाइ वा दाजुबहिनीले तिहारको टीका लगाएको मलाई थाहा छैन,’ उनले भने । सबै गाउँले काममै व्यस्त रहेको र बाहिर रहेकाहरू पनि तिहार आयो भनेर गाउँ नफर्कने उनले बताए ।

मैकोट र त्यस आसपासका गाउँमा पनि तिहार मनाइँदैन । पुथाउत्तरगंगा गाउँपालिकाका १० र ११ नम्बर वडा तथा अन्य केही गाउँबस्तीमा पनि तिहार खासै मनाउने चलन छैन । तकसेराका विश्व बुढामगरले आफूहरूको मुख्य पर्व भनेको भूम्या भएको भन्दै तिहारलाई खासै वास्ता नगरिने बताए ।

तत्कालीन जिविसका पूर्वसदस्य तथा मैकोट निवासी लक्ष्मीप्रसाद पुनमगरले तिहारको सट्टा मंसिर मेला लाग्ने गरेको बताए । मंसिर ४ देखि ८ गतेसम्म मनाइने यो मेलाको अवसरमा मीठोमसिनो खाने, परिवार तथा आफन्तसँग भेटघाट गरिने चलन रहेको उनले बताए ।

हरेक वर्ष मंसिर संक्रान्तिको अवसरमा मैकोट ठूलोगाउँमा मंसिरे मेला लाग्दै आएको छ । ‘हाम्रा पाकापुर्खाले त्यही भन्नुहुन्छ, भरमार काम भएका बेला पर्व मनाउन हुँदैन भनेर यो छाडिएको हो रे,’ उनले भने ।

प्रकाशित : कार्तिक २२, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?