आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

रासस

काठमाडौँ — यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

Yamaha

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

'भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो,' उनले भने ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बली, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भए पनि तीन वर्षअघिको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्बिर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दथ्यो । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

'विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ,' उनले भने ।

विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । तीन वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ ।

प्रकाशित : कार्तिक २३, २०७५ ०८:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दिक्तेल आगलागीमा तीन करोडबराबरको क्षति, पीडितलाई राहत [अपडेट]

डम्बरसिंह राई

दिक्तेल (खोटाङ) — खोटाङको दिक्तेलमा शुक्रबार बिहान आगलागीमा झण्डै तीन करोड क्षति भएको प्रहरीले जनाएको छ । बिहान करिब साढे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर पूर्ण रुपमा क्षति पुगेको थियो । आगलागीबाट करिब  दुई करोड ९० लाख ९२ हजा बराबरको क्षति भएको अनुमान गरिएको हो ।

प्रहरीका अनुसार अम्बिका बुढाथोकीको एक करोड २५ लाख, कृष्णकुमार श्रेष्ठको एक करोड २४ लाख, अम्बिका बुढाथोकीको घरमा होटल तथा कपडा पसल सञ्चालन गर्ने रमेश खत्रीको ३५ लाख ३० हजार र डेरामै बस्ने अब्दुल अहिम रायमको ६२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका क्रममा भत्काइएका राजु श्रेष्ठको तीन लाख र नवीन गुरुङको तीन लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।
नेपाल प्रहरी, सशस्त्र, सेना तथा स्थानीयले आगो निकाएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल सञ्चालन नहुदा स्थानीय आक्रोशित बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने दमकल चालक दिक्तेलमा नभएकाले अग्नि नियन्त्रणमा प्रयोग हुन नसकेको बताए । आगलागीको कारण अझै खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए ।

पीडितलाई राहत
आगलागी पीडित कृष्णकुमार श्रेष्ठ र अम्बिका बुढाथोकीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ५०/५० हजार राहत दिएको छ । जिल्ला विपद् उद्धार तथा व्यवस्थापन समितिले आगलागी पीडितद्वयलाई १५/१५ हजार नगद प्रदान गरेको छ । त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१ ले दस/दस हजार र खोटाङ उद्योग वाणिज्य संघले पनि दस/दस हजार नगद उपलब्ध गराएको छ ।

रेडक्रसले भाँडाकुँडा, पाल, कम्बल लगायतका लत्ता कपडा उपलब्ध गराएको छ । दिक्तेल बजार सामाजिक गुढीले अग्नि पीडित कृष्णकुमार श्रेष्ठलाई २५ हजार नगद उपलब्ध गराएको छ ।

‍..............................................

खोटाङको दिक्तेलमा शुक्रबार बिहान आगलागी भएको छ । करिब साढे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर नष्ट भएको छ ।

आगो नियन्त्रण गर्ने क्रममा अन्य तीन घर भत्काइएको छ। आगो नियन्त्रणका लागि नवीन गुरुङ, रविध्वज राई र राजु श्रेष्ठको घर भत्काइएको छ।

आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ। आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र, सेना तथा स्थानीय खटिएका थिए। आगलागीबाट भएको क्षति विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए।

नगरपालिकाको दमकल नहुँदा आगो नियन्त्रणमा ढिलाई भएको थियो। दिक्तेल रुपाकोट नगरपालिकाको दमकल भने थन्किएरको छ।

प्रकाशित : कार्तिक २३, २०७५ ०८:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT