कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पासोमा परेको चितुवा मर्‍यो 

वीरेन्द्र केसी

(अर्घाखाँची) — यहाँको पियाले जंगलमा थापिएको पासोमा परेको चितुवा शनिबार बिहान मरेको छ । प्रहरी र वनका कर्मचारी आइनपुग्दै आक्रोशित स्थानीयले फलामे पासोभित्र घरेलु हतियार र लाठी छिराएर चितुवालाई घाइते बनाएका थिए । लगत्तै चितुवा मरेको डिभिजन वन कार्यालयले जनाएको छ । 

पासोमा परेको चितुवा मर्‍यो 

‘३५ किलो तौलको उक्त पोथी चितुवा हामी त्यहाँ पुग्दा घाइते अवस्थामा थियो,’ सहायक वन अधिकृत शिला पोखरेलले भनिन्, ‘खोरमा पल्टी गरी सन्धिखर्क ल्याएर हेर्दा त्यसको मृत्यु भइसकेको थियो ।’ साताअघि भूमिकास्थान नगरपालिका ९, ढिकुराका ४ वर्षीय आर्यन घिमिरेलाई घर आँगनमै झम्टिएर मारेपछि ढिकुराको पियाले जंगलमा २ ठाउँमा चितुवाका लागि पासो थापिएको थियो ।


खोरमा बाख्रो राखिएको थियो । पासोनजिकै तीनवटा चितुवा खेल्दै गरेको स्थानीय महिलाले देखेका थिए । शनिबार बिहान ९ बजेतिर चितुवा खोरभित्र पसेको स्थानीयले बताए । गाउँलेले प्रहरीलाई खबर गरे । खोरमा परेको थाहा पाएपछि टाढाटाढाबाट ठूलो संख्यामा स्थानीय चितुवा हेर्न जम्मा भएका थिए ।


एक सातादेखि जंगलमा सुरक्षाकर्मीको टोलीले चितुवाको खोजी गरिरहेको थियो । खोरमा सबै स्थानीयलाई चितुवा देखाएर गन्ध कस्तो आउँछ, नग्रा कस्ता हुन्छन् भनेर जानकारी दिएको वन डिभिजनल अजयविक्रम मानन्धरले बताए । ‘जंगलमा नहिँड्न स्थानीयलाई भनेका छौं,’ उनले भने, ‘थप चितुवाको खोजी कार्य जारी छ । चितुवाबाट जोगिने उपाय र सावधानी अपनाउन सचेत गराएका छौं ।’ स्थानीयको मागअनुसार चितुवा खोज्न ५० बढी सुरक्षाकर्मीलाई हतियारसहित जंगलमा सर्च अभियानमा खटाइएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले जंगलमै रात बिताउने गर्छन् ।


सन्धिखर्क, खाँचीकोट, ढिकुरा, किमडाँडा, नुवाकोटलगायतका गाउँले पासोमा चितुवा परेपछि खुसी भएका छन् । यिनै गाउँमा ५ वर्षभित्रमा चितुवाको आक्रमणमा परी अर्यालसहित १४ जना १० वर्षमुनिका बालबालिकाको ज्यान गएको छ । ८ जना घाइते छन् । ‘मेरो छोरो त गुम्यो,’ चितुवाको आक्रमणमा परी भर्खरै मात्रै छोरा गुमाएका आर्यनका पिता माधवप्रसादले भने, ‘अब कुनै पनि बाबुआमाले काख रित्तो बनाउन नपरोस् । कोही बालबालिका पनि आक्रमणमा नपरुन् ।’


हुर्कंदै गरेका छोराछोरीलाई चितुवाले झम्टिने र मृत्यु हुँदा धेरै पीडा भएको उनले सुनाए । ‘तीनवटा मध्ये एउटा मात्रै खोरमा फस्यो, अरू धेरै हुन सक्छन्,’ ढिकुराकी स्थानीय विमला घिमिरेले भनिन्, ‘छोराछोरी कसरी जोगाउने भन्ने डर, त्रास र चिन्ता छ । कतिबेला झुक्याएर चितुवाले लगिदिने हो भन्ने मनमा भइरहन्छ ।’



अर्घाखाँचीको ढिकुरास्थित पियाले जंगलमा थापिएको पासोमा चितुवा परेपछि हेर्नेको भीड । तस्बिर : वीरेन्द्र/कान्तिपुर

प्रकाशित : कार्तिक २४, २०७५ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?