१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

प्रहरीकै गाडीमाथि जाँच

अर्जुन शाह

धनगढी — गत अप्रिलमा धनगढीमा फुटबल खेल्न आएका आइभोरीकोस्टका एरोना नामका व्यक्तिलाई आफ्नो देशको प्रवेशाज्ञा नभएको आरोपमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गौरीफन्टाबाट पक्राउ गर्‍यो ।

प्रहरीकै गाडीमाथि जाँच

एसएसबीले सीसीटीभी फुटेज केलाउँदा ती व्यक्तिलाई नेपाल प्रहरीकै एक नायब निरीक्षकले मोटरसाइकलमा धनगढी सीमा पार गराएको दाबी गर्दै आएको छ । धनगढीस्थित एक प्रहरी अधिकारीका अनुसार एसएसबीका अधिकृतले दुईपक्षीय बैठकमै यो कुरा उठाएका थिए तर नेपाली अधिकारीले भने त्यस घटनाबारे अनभिज्ञता जनाएका थिए । उक्त घटनापछि एसएसबीले केही महिना नेपाल प्रहरीका गाडीसमेत चेकजाँच गरेर मात्रै आवतजावत गर्न दिने नियम बनाएको थियो ।


चार दिनअघि धनगढीको सन्तोषी टोलका मोहनसिंह धामीका घरमा जुवातास भइरहेका बेला प्रहरीले छापा हान्यो । धामीसहित ६ जना पक्राउ परे । खेलमा दुई सुरक्षाकर्मीसमेत संलग्न थिए । त्यहाँ कैलाली जिल्ला प्रहरीमा कार्यरत जवान केशव धानुक र सशस्त्रका जवान प्रेम सिंहसमेत थिए तर जुवा खेल्ने मुख्य टोली खालबाट निस्किएको केही मिनेटपछि मात्र प्रहरी पुगेको थियो । ‘जुवा जित्नेहरू निस्किएको केही समयपछि मात्रै हाम्रो टोली त्यहाँ पुगेछ,’ जिप्रका कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक हरि वलीले भने ।


दसैंअघि जुवातास खेलाइरहेका प्रकाश भाटसहित १० जनालाई वडा प्रहरीले १ लाख ६१ हजार नगदसहित पक्राउ गर्‍यो । तर उनीहरू धरौटीमा छुटे । भाट गत वर्ष पनि यसैगरी समातिएका थिए । यसबेला पनि धरौटीमा छुटे । उनले प्रहरीसँगको सेटिङमा बाह्रै महिना जिल्लाका विभिन्न बजार केन्द्रमा जुवातास खेलाउँदै आएको स्थानीय बताउँछन् । अहिले धनगढी अत्तरिया, लम्कीलगायत मुख्य बजार केन्द्रमा जुवातास मौलाएको छ तर घुमुवाहरू चौबिसै घण्टा परिचालित हुने सहरमा अवैध कारोबार गर्नेलाई उनीहरूबाट कुनै जोखिम हुन्न । उल्टै तिनले हाकिमका प्रतिनिधिहरू भएर बिचौलियाको भूमिका निर्वाह गर्ने गरेको धनगढीका एक व्यवसायी बताउँछन् ।


गोप्य रूपमा सञ्चालन हुने मिनी क्यासिनोहरू प्रहरीका मुख्य बार्गेनिङका केन्द्र हुने गरेको व्यवसायीको आरोप छ । वडा, जिल्ला र डीआईजी कार्यालयबाट बेग्लाबेग्लै खटिएका सादा पोसाकका घुमुवामार्फत मोटो रकम बुझाएर उनीहरू निर्धक्क जुवातास खेलाउने गरेको सुरक्षा निकायका एक जवानले बताए । कैलाली प्रहरीका निमित्त प्रमुख डीएसपी वली गुनासो सुनिएपछि पूरै टोली परिवर्तन गरेको बताउँछन् । मुलुकी अपराध संहिताले जुवातास खेल्ने खेलाउनेलाई पहिलोपटक भए न्यूनतम ३ महिनासम्म कैद वा ३० हजार जरिवाना व्यवस्था गरेको छ ।


यस क्षेत्रमा १ सय १ किलोमिटर खुला सीमा नाका छ । सीमा क्षेत्रबाट दैनिक ठूलो परिमाणमा राजस्व छलीका सामग्री भित्रिने गरेका छन् । ‘चोरीपैठारी हुन्छ,’ त्रिनगर भन्सार कार्यालयका प्रमुख गोपीकृष्ण उप्रेती भन्छन्, ‘सबै क्षेत्रबाट सहयोग भए मात्रै यसलाई घटाउन सकिन्छ ।’ स्थानीय भने यस्तो चोरीपैठारीलाई प्रहरीले नै संरक्षण गर्ने गरेको बताउँछन् । ‘प्रहरीका घुमुवाहरूले त्यसको चाँजोपाँजो मिलाउने गरेका छन्,’ धनगढीकै अर्का व्यापारीले भने ।


धनगढीमा चिनी, दाल र प्लास्टिक विक्रेता व्यापारीले पहिलेदेखि नै प्रहरी मिलेमतोमा राजस्व छली गरेर सामान भित्र्याउने गरेको व्यवसायीहरू बताउँछन् । प्रहरीका घुमुवा दोहोरो पैसा उठाउँछन् । सीमापारिका व्यापारीले भन्सार छलेर सुरक्षित रूपमा यताका व्यापारीका गोदामसम्म पुर्‍याउँछन् । त्यसबापत प्रहरीले रकम असुल्छन् । यता नेपालका व्यापारीबाट बेग्लै असुल्छन् । ‘नयाँ आएका प्रहरीका हाकिमले देखाउन कडाइ गरेजस्तो देखिन्छ तर पछि पहिलाकै जस्तो भइहाल्छ,’ उपभोक्ता हित संरक्षण मञ्चका संयोजक हरि रेग्मीले भने, ‘प्रहरीमा व्याप्त यो संस्कार तोड्न जरैसम्म पुग्न जरुरी छ ।’ प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ भने भन्सार छली रोक्न कडाइ गरिएको बताउँछन् । ‘बरामद गरिएका सामग्रीको पछिल्लो तथ्यांकले पनि पुष्टि गर्छ,’ उनले भने, ‘सशस्त्रको टोलीले गत एक वर्षमा बरामद गरेबराबरको सामग्री यो ३ महिनामै समातेको छ ।’


दाल, चिनीबाहेक हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा र कुखुराको अवैध पैठारी हुने गरेको छ । सुरक्षा स्रोतका अनुसार धनगढीमा ४ व्यापारीले नियमित रूपमा हार्डवेयरका सामग्री राजस्व छलेर भित्र्याउँछन् । चिनी, दाल र कपडामा भने क्यारिङ गराएर भन्सार छल्ने गरिएको छ । ‘क्यारिङ गर्नेले व्यापारीबाट एउटा सुटको कपडा ल्याएबापत ५० रुपैयाँ पाउँछन्,’ एक प्रहरी जवानले भने । चिनीका बोरा साइकलमै भित्र्याउँछन् । ‘संलग्न व्यापारीले प्रहरीलाई रकम बुझाउने चलन हुन्छ, त्यसैले उनीहरू पक्राउ पर्दैनन्,’ ती जवानले भने, ‘डीआईजी कार्यालयबाटै संरक्षित हुन्छ र त्यहाँ पनि नियमित रकम जान्छ ।’


यौनधन्दामा चुपचाप धनगढी बसपार्क आसपासका स्थानीयले गत साउन २२ गते टोल भेला गरेर निर्णय गरे( बसपार्क क्षेत्रभित्रको एउटा होटलले छाडा रूपमा यौन व्यवसाय गराउँदा पूरै समुदायलाई नै असर परेकाले नियन्त्रणका लागि प्रहरीलाई अनुरोध गर्ने ।’ ओम शान्ति टोल विकास संस्थाले यसअघि पनि यस्तो अनुरोध गरेको थियो । यो भेलाले प्रजिअ, जिल्ला प्रहरी, वडा प्रहरी, नगरपालिका, वडाध्यक्ष र होटल व्यवसायी संघलगायतलाई उजुरी गर्‍यो । ‘तैपनि प्रहरीले दुई महिनासम्म कुनै सुनुवाइ गरेको छैन,’ टोल विकास संस्थाका अध्यक्ष तिलकबहादुर बोहराले भने, ‘बसपार्कभित्रै होटलबाट सय मिटर दूरीमा प्रहरी बिट छ ।’


प्रहरीविरुद्ध नै समुदायले र्‍याली निकाल्ने तयारी गरेपछि बल्ल प्रहरीले बसपार्कको उक्त होटलमा चार साताअघि खानतलासी गर्‍यो । १० जोडी पक्राउ परे । ‘त्यो पनि लेनदेनमा कुरा नमिलेपछि प्रहरीले छापा हानेको हो,’ बसपार्कका एक व्यवसायीले भने, ‘मासिक मोटो रकम बुझाउनुपर्ने प्रहरीको माग थियो ।’ धनगढीमा सञ्चालित डान्स बारहरूबाट प्रहरीले नियमित रकम असुल्ने गरेको एक व्यवसायीले बताए ।

‘नागरिकको सुरक्षाभन्दा प्रहरी कमाउन फोकस भयो,’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. राजेन्द्रबहादुर चन्द भन्छन्, ‘सुरक्षाकर्मीको यस्तै तालले समाजमा गम्भीर अपराधका घटना बढ्छन् ।’ कैलालीका प्रजिअ बाबुराम श्रेष्ठ आफूसँग पनि गुनासो आउने गरेको बताउँछन् । ‘मैले शून्य सहनशीलता अपनाउन निर्देशन दिएको छु,’ प्रजिअ श्रेष्ठले भने, ‘केही नतिजा पनि देखिएका त छन् तर अझै धेरै गर्नुपर्ने महसुस भएको छ ।’


लागूऔषधको ट्रान्जिट

भदौ २० मा कैलाली प्रहरीले ६८ वर्षीया वृद्धा जलधारा शाहबाट खैरो हेरोइन र चरेस बरामद गर्‍यो । विशेष सूचनाका आधारमा लम्की चुहा नगरपालिकाबाट शाहको साथबाट प्रहरीले एक ग्राम खैरो हेरोइन र १९ ग्राम चरेस बरामद गरेको थियो । प्रहरीका अनुसार उनी टीकापुर सडकमा ठेलामा फलफूल बेचेर गुजारा गर्ने महिला हुन् ।


अघिल्लो दिन प्रहरीले कैलाली चुरे गाउँपालिका ५ निङलाडीका पूर्णबहादुर धामीलाई ८ सय ग्राम चरेस लागूऔषध चरेससहित पक्राउ गरेको थियो । पछिल्लो समय कैलाली लागूऔषधको ट्रान्जिट बन्दै गएको छ । खुला सीमाका कारण लागूऔषध कारोबारीको रोजाइमा कैलाली परेको निमित्त प्रहरी प्रमुख वली बताउँछन् । उनका अनुसार खुला सीमा नाकाबाट लागूऔषध ओसारपसार गर्ने सजिलो हुने हुँदा कारोबारीले कैलाली रोजेका हुन् । पहाडी जिल्लामा उत्पादन हुने चरेस ठूलो मात्रामा भारत जाने गरेको र भारतबाट खैरो हेरोइन, नाइट्रोभेट, स्पास्मोप्रक्सोभन, अफिमलगायत आगूऔषध नेपाल भित्रिने गरेको सुरक्षाकर्मी बताउँछन् ।


सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने प्रहरीका गतिविधिमा मसिनो गरी निगरानी गरिरहेको देखिएको छैन । कानुन अभावमा प्रहरीले प्रदेश मन्त्रालयको निर्देशन कार्यान्वयनमा बेवास्ता गर्ने गरेको मन्त्री प्रकाशबहादुर शाहले बताउँदै आएका छन् ।

प्रकाशित : कार्तिक २५, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?