१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिमालमुनि हुर्कंदै डिमु

हिउँदमा दलथङ, लासिस, बगाम, दिङ्मा खर्क, शेर्मिघ्याङ खर्कजस्ता ५० वटा खर्कमा डिमु र याक डुल्छन् । बर्खामा भने छाराभन्दा माथिल्लो तिचान्ले खर्कमा दुवैको बसोबास हुन्छ ।
अनिश तिवारी

सिन्धुपाल्चोक — गौरीपर्वत हिमालको फेदमा रहेका खर्कको गोठ वरिपरिको हरियो घाँस । त्यसैमा रमाइरहेका सेता, काला अनि छिरबिरे याक, डिमु र चौरी । भोटेकोसी–४, फुल्पिङकट्टीको माथिल्लो पांखाल खर्कको दृश्य हो यो । 

हिमालमुनि हुर्कंदै डिमु

नौ वर्षदेखि डिमु स्याहार्न व्यस्त छन् हेलम्बु–१ का जम्लिङ शेर्पा । ‘यिनीहरूलाई पालिराख्नु पर्दैन, हिउँदमा नुनपानी दिएर थोरै घाँसको जोहो गरिदिने हो,’ उनले चर्न व्यस्त ‘डिमु’ देखाउँदै भने । बाघले खाने डर रहने भएकाले सचेत भएर रेखदेखमा जुुटेको उनले सुनाए । उनीसँग ५५ वटा डिमु छन् ।


याक भाले हो भने डिमु पोथी । याक र लोकल गाईको संसर्गबाट जन्मिएको प्रजातिलाई चाैंरी भनिन्छ । याक र डिमुको संख्या घट्दै गएको शेर्पा बताउँछन् । ‘जेठ, असार, साउन, भदौ, असोजसम्म डिमुको दूधबाट छुर्पी, घ्यू बनाउने गरेको छु, यसैबाट मनग्य आम्दानी हुन्छ,’ उनले भने । छुर्पी र घ्यूबाट मात्रै दुई लाखभन्दा माथि कमाइसकेको उनले बताए ।


हिउँद सुरु भएपछि याक र डिमु सामूहिक रूपमै तल्लो पांखाल खर्कमा झर्छन् । चीनको भूभाग लाम्टाङ, सेल्मीगिरीसँग जोडिएको खर्कमा डिमु पाल्ने उनी एक्ला हुन् । ‘जिल्लामा डिमु पाउन मुस्किल भइसकेको छ, हेरविचार गर्ने त छँदै छैनन्,’ यारमाला क्षेत्रमा २० वर्षदेखि चाैंरी पालिरहेका ५७ वर्षे तेमछाङ शेर्पा भन्छन्, ‘त्यसैले डिमु दिनहुँ घटिरहेको छ ।’ उनले दुईवटा गोठमा ४३ वटा चौंरी पालिरहेका छन् । उनले छुर्पी र घ्यू बेचेर वर्षको ८ लाख कमाइरहेका छन् ।



हिउँदमा दलथङ, लासिस, बगाम, दिङ्मा खर्क, शेर्मिघ्याङ खर्कजस्ता ५० वटा खर्कमा डिमु र याक डुल्छन् । बर्खामा भने छाराभन्दा माथिल्लो भूभाग तिचान्ले खर्कमा दुवैको बसोबास हुन्छ । ‘कहिलेकाहीं मात्रै बेसीमा परिवार भेट्न झर्ने हो, नत्र यहीं रमाइन्छ,’ फुल्पिङकट्टीकै डाँडागाउँका ५० तेन्जेन शेर्पाले अनुभव सुनाए । उनी २७ वटा चौंरीका मालिक हुन् । सात वर्षदेखि उनी लेकमै रमाइरहेका छन् ।


सिन्धुपाल्चोक र रसुवामा याकको पोथीलाई डिमु भनिन्छ भने सोलुखुम्बुमा ‘नक’ । तिब्बतीयनले एउटा डिमुको २५ देखि ३० हजार किनेर लैजाने गरेको उनले बताए । ‘नेपाली दलालमार्फत मूल्य निश्चित गरेर उनीहरूले लैजाने गर्छन्,’ तेन्जेनले भने । ६ वर्षअघि लाङटाङ र सोलुखुम्बुबाट गरी २ सय डिमु खासा लगिएको थियो । त्यस बेला खासामा एउटा डिमुको ७ हजार ५ सय घोर्मु मूल्य तोकिएको थियो । ‘जिल्लाभर एक सय ५० चौंरीगोठ रहेको अनुमान गरेका छौं,’ गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले भने ।


बर्सेनि घट्दै चाैंरीगोठ

फुल्पिङङकट्टी, मुलखर्क, नाटुखर्क र नारायणथानको यारमालामा गरी झन्डै २५ वटा चौंरीगोठ छन् । वैदेशिक रोजगारी र पुस्ताबाट हस्तान्तरण नहुँदा चौंरी, डिमु र याक पाल्ने क्रमश: कम हुँदै गएका छन् । चौंरी हिँड्ने बाटो, पर्याप्त खानेपानी र घाँस नहुने वातावरणले चौरी, डिमुपालक निरुत्साहित हुँदै छन् ।


मार्मिङको गोल्ची, घोर्थलीको बिगु दोलंसा, फुल्पिङकटीको नारायणथान, तातोपानीको लिपिङ लेक, लिस्तीकोटको बगाङ छगामसम्म चौंरी पाल्ने गरिएको छ । ‘नारायणथानसँगैको गाउँ सेलाङकट्टीमा पहिले १५ देखि १६ चौंरी गोठ थियो,’ फुल्पिङकट्टीका वडाध्यक्ष साङदोर्जे शेर्पाले भने, ‘अहिले सबै अरू पेसामा लागे ।’

प्रकाशित : कार्तिक २५, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?