कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

आजदेखि छठ पर्व सुरु

पहिलो दिन ब्रतालुले ‘नहाए खा’ विधि सम्पन्न गर्दै
जितेन्द्र साह

विराटनगर — चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज पहिलो दिन हो । बिहान स्नानपछि लौकाको तरकारी, दाल र भात खाइ तराई–मधेसलगायत मुलुकभरका व्रतालुले यो पर्व सुरु गरेका छन् । 

आजदेखि छठ पर्व सुरु

उनीहरु अनुकुलता हेरी घरमै वा नजिकैको जलाशय किनारमा नुहाइ चोखिएपछि शुद्ध शाकाहारी भोजन ग्रहण गरेका छन् । यो विधिलाई स्थानीय भाषामा ‘नहा खा’ वा ‘नहाए खाए’ भनिन्छ । चार दिनसम्म मनाइने यस पूर्णतया शाकाहारी पर्वको अन्तिम दुई दिन घरदेखि घाटसम्म रमझम हुन्छ ।

पूर्णरुपले उपवास बसेका ब्रतालुले दोस्रो दिन सोमबार साँझ लिपपोत गरिएको एक कोठामा केराको पात ओछयाएर त्यसमाथि प्रसादको रुपमा खिर, पुरी र केरा राखी मौन पुजा गर्छन् । स्थानीयले यसलाई खरना भन्छन् ।

मधेसतिर यो पर्वकै प्रयोजनकोलागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा यी चढावा तयार पारिन्छ । यो पुजा सम्पन्न भएपछि ब्रतालुले आफू पनि प्रसाद खान्छन् । परिवारजन, छरछिमेक एवं पाहुनालाई समेत बाँडछन् ।

लोक आस्थाको यो पर्वको तेस्रो दिन मंगलबार बिहानदेखि गहुँ एवं चामलको शुद्ध पिठोबाट क्रमश: चर्चित मिष्ठान ठेकुवा, पुरी एवं भुसुवा बनाउँछन् । यो पर्वको महत्वपूर्ण दिन हो जसको ब्रतालुलगायत सबैले व्यग्र प्रतिक्षा गरिरहेका हुन्छन् । प्रसाद तयार पार्ने कार्यमा मुख्य उपासकलाई परिवारजन र छरछिमेकले सहयोग गरिरहेका हुन्छन् । मुख्यत: घरका पुरुष सदस्य यतिखेर घाट सिंगार्न एवं बजारबाट ताजा फलफुल र तरकारी ल्याउनमा व्यस्त हुन्छन् ।

प्रसाद एवं पुजन सामग्री तयार भएपछि घरको आँगनलाई अपराह्न लिपपोत गरी एवं जल छर्केर चोख्याइन्छ । नांग्लो र ढाकीलाई फिजाएर त्यसभित्र ठेकुवा, भुसुवा, पुरी खाजा, गेडागुडी, मौसमी फलफुल एवं तरकारी राखिन्छ । ब्रतालु एवं परिवारजनले यी सबै सामग्रीको बन्दोबस्ती पहिलेदेखि गरिसकेका हुन्छन् ।

घरमै एकपटक पुजा गरेपछि ती सबै सामग्रीलाई ढाकीमा राखेर बाँधि माथितिर एउटा दियो बालिन्छ । ब्रतालुको अगुवाईमा परिवारजन ढाकी एवं अन्य विविध पुजन सामग्री बोकी छठको लोक गीत गाउँदै आफूलाई पायक पर्ने पोखरी वा नदी किनार (घाट) तिर लाग्छन् । परिवारजन, स्थानीयवासी एवं सहयोगीले केराको बोट, दियो एवं बत्तीले घाटलाई झकिझकाउ पारेका हुन्छन् ।

पूर्व निर्धारित पुजन थलोमा पुगेपछि ती सम्पूर्ण पुजन सामग्रीलाई पुन: फिजाएर राखिन्छ । नांग्लो, ढाकी र वरिपरि दियो तथा धूप बालिन्छ । त्यसपछि मुख्य ब्रतालु अस्ताइरहेको सूर्यतर्फ मुख फर्काइ जलाशयमा उभिन्छन् ।

सहयोगी एवं परिवारजनले उनको हातमा पालैपालो नांग्लोसहितको पुजन सामग्री राख्दै त्यसमाथिबाट दूध/जलको अर्घय दिन्छन् । यो विधिको समापनपछि कतिपय ब्रतालु एवं परिवारजन घाटमै बस्छन् भने कतिपय घर फर्कन्छन् । यसलाई सझिया (साँझको ) घाट वा सझिया अर्घय भनिन्छ । यो साँझ घरदेखि घाटसम्म दिपावली मनाइन्छ । घाटमा कुस्ती, लोक नृत्य, नाटक मञ्चन एवं विविध साँस्कृतिक कार्यक्रमको आयोजन हुन्छ ।

चौंथो तथा अन्तिम दिन बुधबार बिहान ब्रतालुसहित सम्पूर्ण परिवार जलाशय किनारमा पुजन सामग्रीसहित भेला हुन्छन् । साँझकै विधिझैं बिहान उदाइरहेको सूर्यलाई सम्पूर्ण पुजन सामग्रीसहित अर्घय दिएपछि यो महापर्वको समापन हुन्छ । यसलाई भोरका घाट वा भोरका अर्घय भनिन्छ ।

यसपछि छठको लोक कथाको वाचन हुन्छ । समापनको अवसरमा समेत मुख्य ब्रतालु महिला र परिवारका अन्य महिला सदस्यले गीत गाउँदै एक अर्काको निधारमा सिन्दुरको टिका लाउँछन् । उल्लेखनीय के छ भने यो पर्व आउनु एक महिना अगाडीदेखि तराई–मधेसवासीले घरपसल जहाँ भएपनि एकाबिहानदेखि छठको गीत घन्काउन थाल्छन् । छठ पुजाको सुरुदेखि अन्तसम्म हरेक विधिकालागि छुट्टाछुट्टै गीत हुन्छन् । साँझ एवं बिहानको पुजाको बेला गाइने गीत पनि फरक हुन्छ ।

ती गीतहरुमा सम्पूर्ण पुजन विधि बाहेक महिलाको पीडा, सँघर्ष एवं सामाजिक भेदभावका भावना समेटिएका हुन्छन् । समग्रमा भन्दा पुजारी नचाहिने यो महापर्वमा छठको लोक गीत नै मार्गदर्शक मन्त्र हो । यी गीतहरु स्वत: पुरानो पुस्ताबाट नयाँमा हस्तान्तरण हुँदै गएका हुन्छन् ।

ब्रतालु एवं परिवारजनले पर्व समापनपछि बिहान घाटमा उपस्थिति दर्शनार्थीलाई गच्छेअनुरुपको प्रसाद बाड्दै अर्को वर्ष फेरी आउने बाचाकासाथ घर फर्कन्छन् । साँझ र बिहानको यो पुजा हेर्न, अर्घय दिन तथा प्रसाद लिनलाई सबै जाती, धर्म, दल, वर्ग एवं समुदायकाको घाटमा भव्य उपस्थित हुन्छ । ३६ घण्टे निर्जल उपवासपछि घर फर्कि ब्रतालुले सादा भोजन ग्रहण गरेर उपवास तोडछन् । आफन्तजन, छरछिमेक, मित्रजन र शुभेच्छुकलाई ठेकुवा/भुसुवा खानलाई बोलाउँछन् वा घरैसम्म पनि पुरयाउँछन् ।


प्रकाशित : कार्तिक २५, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?