१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मर्मत पर्खँदै क्यान्टिलिभर पुल 

हरिराम उप्रेती

गोरखा — सडक सञ्जालले नछोएको चुमनुव्री गाउँपालिका–६ चुम्चेतको सर्दिभीरमा क्यान्टिलिभर पुल छ । भीरमा खोजेर स्टीलका संरचनाबाट निर्मित पुल यतिबेला मर्मतको पर्खाइमा छ । 

मर्मत पर्खँदै क्यान्टिलिभर पुल 

गत भदौ पहिलो साता पहिरोसँगै खसेको ढुंगाले पुलको विभिन्न भागमा क्षति पुर्‍याएपछि मर्मत गर्नुपर्ने अवस्था आएको हो । ‘पाँच–सात मिटर जति छेउको बार असारमा भीरबाट खसेको ढुंगाले भत्काएको थियो,’ छेकम्पारका कर्मा लामाले भने, ‘भदौमा खसेको ढुंगाले एक मिटर जति (डेक) हिँड्ने भाग पनि भत्कायो ।’

हिँड्ने ठाउँ नै भत्किएपछि केही दिन उक्त पदमार्ग अवरुद्घ बनेको थियो । भत्किएको भागमा ढुंगा र काठ राखेर अहिले चुम्चेत लोक्पाका स्थानीयले मुश्किलले हिँड्न मिल्ने बनाएका छन् । पैदलयात्री जसोतसो ओहोरदोहोर गरेपनि खच्चड हिँड्न समस्या परेको उनको भनाइ छ । ‘माथि भीर, तल खोला छ । भत्किएको ठाउँमा पुगेपछि डर त हुन्छ, जोगिएर हिँड्न नसके चिप्लिन्छ,’ उनले भने,‘फलेक र ठुला ढुंगा राखेर हिँड्न मिलेको छ ।’ चुमुनुव्री गाउँपालिकाको चुम्चेत र छेकेम्पारका स्थानीयलाई सजिलोका लागि उक्त पुल डेढ वर्षअघि बेलायती दातृ संस्था युकेएडको आर्थिक सहयोगमा नेपाल बजार विकास कार्यक्रमले निर्माण गरेको हो ।

वैकल्पिक मार्ग नहुँदा सो क्षेत्रका स्थानीयहरुले दैनिक उपभोग्य सामाग्री खरिद तथा तल्लो क्षेत्र आउन उत्त पुलको प्रयोग गर्नै पर्ने हुन्छ । ‘पुल नवन्दा यो ठाउँमा ठुलो पहिरो गएको थियो, अहिले पनि सानो पानी परे माथिबाट ढुङ्गा खसिरहन्छ,’ उनले भने,‘पुल नवन्दा पनि पहिरोको बाटो मुस्कीले हिड्थ्यै, पुल वनेपछि सजिलो भएको थियो, यो सालबाट फेरी दुख पाइयो ।’ पुल मर्मत छिटो गर्न स्थानीयहरुले माग गर्दै आएका छन् । उनले भने,‘हामी यहाँका मान्छेलाई यस्तो पुल कसरी मर्मत गर्ने प्राविधिक ज्ञान छैन, सम्वन्धित निकायले छिटो मर्मत गरिदिए हुन्थ्यो भनेर भन्दै आएका छौ ।’

उत्त पुल मर्मतका लागी पहल भइरहेको वडा अध्यक्ष लोप्साङ लामाले बताए । गाउँपालिकाको प्राविधिकले उत्त पुलको स्थलगत निरिक्षण गरिसकेकाले तिहार लगतै मर्मत शुरु हुने उनको दावी छ । ‘यहाँको समितिलाई फलामको काम गर्न मेसो छैन, पुल जडान गर्ने पहिलेकै इन्जिनियरहरुलाई खवर गरेका छौ,’ उनले भने,‘तिहार सकिएपछि मर्मतको काम शुरु हुन्छ भनेर प्राविधिकले भनेका छन् ।’ उत्त पुल मर्मत नहुदाँ चुमभ्याली जाने पर्यटक पनि समस्यामा परेका छन् ।

उत्त पुल मर्मतका लागी स्टमेट तयार भइसकेको गाउँपालिकाका कार्यकारी अधिकृत प्रदिप गिरीले बताए । ‘स्टमेट अनुसार खर्च पनि थोरै छ, सामान जुटाइसकेका छौँ,’ गिरीले भने,‘वइल्डीङ गर्ने टेक्निसियन माथि पाइएन, अव तलबाटै लगेर अव केहि दिनमै काम शुरु हुन्छ ।’ दशैँ अघि नै प्राविधिक पठाएर गाउँपालिकाले मर्मतका प्रक्रिया शुरु गरिसकेको उनले बताए ।

पुलमा हेरालु पनि नहुदाँ नियमित मर्मत सभ्भार हुन नसकेको स्थानीयहरुले बताएका छन् । नयाँ प्रविधिको उत्त पुल झोलुङ्गे पुल जस्तै रहेकाले यसलाई नियमित मर्मत संभार गर्न सके यसको आयु कम्तिमा ५० वर्ष रहने प्राविधिकहरुले बताउँदै आएका छन् ।

४ करोड १५ लाख लागतमा बनेको ९० मिटर लम्बाइको सञ्चालनमा आएयता स्थानीयलाई आउजाउमा सहज भएको छ । उत्त पुल निर्माण भएसँगै चुम्चेत र छेकम्पारका करिव सात सय घरधुरी लाभान्वित भएका छन् ।

प्रकाशित : कार्तिक २५, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?