निर्मलाका परिवार अनिश्चितकालीन धर्नामा

भवानी भट्ट

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै आइतबारदेखि पीडित परिवार अनिश्चितकालीन धर्नामा बसेका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै जिल्ला प्रशासन कार्यालयको द्वारमा निर्मलाका आमाबुवा छोराछोरीसहित धर्नामा बसेका हुन् ।

निर्मलाका परिवार अनिश्चितकालीन धर्नामा

आइतबार दिउँसो महेन्द्रनगरको मदनचोकमा भेला भएका परिवार र महिला अधिकारकर्मीहरुले र्‍यालीसहित प्रदर्शन गरेका थिए । र्‍यालीमा निर्मलाका सहपाठीहरुसमेत थिए । महेन्द्रनगर बजारमा प्रदर्शनपश्चात् जिल्ला प्रशासन कार्यालय अगाडि पुगेपछि बुवा यज्ञराज, आमा दुर्गादेवी, कान्छी आमा लक्ष्मी र आफन्तहरु धर्नामा बसे । आमाबुवासँगै निर्मलाकी बहिनी सरस्वती र भाइ मोहितसमेत छन् । त्यसअघि निर्मलाका बुवा यज्ञराजले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई धर्ना बस्ने कार्यक्रमबारे जानकारी गराएका थिए ।


उनले छोरीका हत्यारा सार्वजनिक नभएसम्म धर्ना जारी रहने जानकारी गराए । ‘अब छोरीका हत्यारा सार्वजनिक नभएसम्म म यहाँबाट उठ्दिनँ’ धर्ना बस्नुअघि यज्ञराजले भने, ‘मेरो लडाइँ न्यायका लागि हो ।’ उनले जस्तो सुकै अवस्था आए पनि न्याय नपाउँदासम्म धर्नामा बसिरहने बताए ।


साउन १० गते साथीको घरमा गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा मृत अवस्थामा भेटिएकी थिइन् । सोही दिनदेखि हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार र आफन्तले आन्दोलन गर्दै आएका छन् । न्याय माग्दै निर्मलाका बुवा र आमा काठमाडौंसमेत पुगेका थिए ।


प्रधानमन्त्री, गृहमन्त्री सबैलाई भेट्दा पनि न्याय नपाएपछि अन्तिम विकल्पका रुपमा धर्ना बस्नुपर्ने निर्मलाकी आमा दुर्गादेवीको भनाइ छ । ‘सबैले हत्यारा पत्ता लगाउँछौं भन्छन्, तर अहिलेसम्म हामीले न्याय पाएनौं’ उनले भनिन्, ‘त्यही भएर धर्ना बस्नुपर्ने अवस्था आएको हो ।’

प्रकाशित : कार्तिक २५, २०७५ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?