सेतक चिनी रित्तिएपछि बल्ल पुर्जी 

४२ जनालाई प्रतिव्यक्ति ८० किलोका दरले संकलन अनुमति
वसन्तप्रताप सिंह

बझाङ — हजारौं क्विन्टल सेतक चिनी दोहनपछि डिभिजन वन कार्यालयले बल्ल संकलन पुर्जी वितरण गरेको छ । यसअघि जिल्लामा पुर्जीबिनै तोकिएभन्दा कैयौं गुना बढी संकलन तथा निकासी भइसकेको छ । 

सेतक चिनी रित्तिएपछि बल्ल पुर्जी 

डिभिजन वन कार्यालय बझाङका सहायक वन अधिकृत कर्णबहादुर खातीका अनुसार ४२ जनालाई प्रतिव्यक्ति ८० किलोका दरले संकलन अनुमति दिइएको हो ।


अवैध रूपमा संकलित जडीबुटी जफत हुन नदिन हतारमा पुर्जी वितरण गरिएको स्थानीयले आरोप लगाएका छन् । ‘एकै जनाले ८/१० हजार क्विन्टलसम्म संकलन गरिसकेका छन् । यसरी हतार(हतार अनुमति दिनु उनीहरूलाई जोगाउने उपाय मात्र हो,’ सुर्माका लोकेन्द्र हिलारीले भने । ठूलो परिमाणमा संकलित सेतक चिनी जिल्लाबाहिर निकासी गर्न व्यापारीले सबैतिर साँठगाँठ गरिरहेको उनको दाबी छ ।

डिभिजन वन अधिकृत कृष्णराज न्यौपानेले नियमअनुसार कात्तिक १ भन्दा अगाडि संकलन पुर्जी दिन नमिलेको बताए । ‘संकलन अवधि बाँकी रहेकाले निवेदन दिएकाहरूलाई दामासाहीमा ८०/८० किलोको पुर्जी दिएका हौं,’ उनले भने । जिल्लाको पञ्चवर्षीय वन व्यवस्थापन योजना २०७१ अनुसार सामुदायिक वनबाट ३ सय ५० र सरकारी वन क्षेत्रबाट ५० गरी ४ सय क्विन्टल सेतक चिनी संकलन गर्न मिल्छ ।


योजनाले तोकेको परिमाणभन्दा १० प्रतिशतसम्म बढीको निकासी अनुमति (छोडपुर्जी) डिभिजन वन अधिकृतले दिन पाउने न्यौपानेले बताए । ‘कानुनले तोकेको परिमाणभन्दा बढी संकलन भएको रहेछ भने सामान जफत हुन्छ,’ उनले भने, ‘कुन ठाउँमा बढी संकलन भएको छ, बुझदै छौं, नियम तोडेर काम गर्नेलाई कारबाही गर्छाैं ।’ न्यौपाने गत साता मात्र बझाङ आएका हुन् ।


सामुदायिक वन र स्थानीय तहलाई पत्र

डिभिजनले ५० भन्दा बढी सामुदायिक वनलाई अवैध संकलन रोक्न निर्देशनसहित पत्राचार गरेको छ । पत्रमा सामुदायिक वनको कार्ययोजनाभन्दा बढी परिमाणमा जडीबुटी संकलन गरे कारबाही गरिने उल्लेख छ ।


डिभिजनले विभिन्न गाउँपालिका, नगरपालिका र वडा कार्यालयलाई समेत जडीबुटीको अन्धाधुन्ध संकलन रोक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति र गाउँपालिकाका प्रतिनिधिसँग छलफलबाटै यस्तो निर्णय गरिएको न्यौपानेले बताए । डिभिजनको एकल प्रयासमा चोरीनिकासी नियन्त्रण सम्भव नरहेको उनको भनाइ छ ।


रुकुम, रोल्पा, सल्यान, प्यूठान, दाङ, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, सुर्खेतलगायत जिल्लाका सयौं मानिस बझाङ आएर जडीबुटी संकलन गरिरहेका छन् । उनीहरू साइपाल गाउँपालिकाको चाल्नावन, राइढुंगी, माझा, फरालखेत, स्याङवन, औलागाड, दोतले, चिडा र सुर्मा गाउँपालिकाअन्तर्गतका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, पार्थीलगायत क्षेत्रमा छरिएका छन् ।


बुंगल नगरपालिका, दुर्गाथली, छबिस पाथिभेरा, खप्तडछान्ना गाउँपालिकाका वनमा संकलकहरू पाल टाँगेरै बसिरहेको स्थानीयले बताए । उनीहरूका अनुसार साइपाल र सुर्माबाट मात्र एक लाख क्विन्टलभन्दा बढी सेतक चिनी संकलन भइसकेको छ । संकलन अझै जारी छ । यहाँ तोकिएभन्दा दुई महिना अघिदेखि नै संकलक वन पसेका हुन् । ठूलो परिमाणको सेतक चिनी हुम्लातर्फ निकासी भइसकेको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?