३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आज छठको दोस्रो दिन, साँझ घरघरै ‘खरना’ पूजा

जितेन्द्र साह

विराटनगर — चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज दोस्रो दिन हो । छठ ब्रतालुको घरघरमा साँझ ‘खरना’ पूजा गरिन्छ । पहिलो दिनको स्नानपछि शाकाहारी भोजन खाएर उपवास बसेका छठका ब्रतालुले परिवारजन एवं छरछिमेकको सहयोगले साँझ नपर्दै खिरपुरी तयार पार्छन् ।

आज छठको दोस्रो दिन, साँझ घरघरै ‘खरना’ पूजा

मधेसतिर यो पर्वकै प्रयोजनकोलागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा ती ‘चढावा’ तयार पारिन्छ ।


ब्रतालुले घरको एक शान्त कोठालाई लिपपोत गर्छन् । त्यसपछि भूइँमा केराको पात फिजाएर त्यसमाथि खिरपुरी र केरा राख्छन् । धुपदीप बालेर चन्द्र, सूर्य र भगवान सूर्यकै भगवती रुप मानिने छठी माताको मौन पूजा गर्छन् । होहल्लाले पुजा भंग हुने आस्थाका कारणले व्रतालुले कोठाको ढोका थुनेरै आराधना गर्छन् । देवीदेवतासँग गरेको कामना बारे उनले कसैलाई पनि बताउँदैनन् ।


घरको आँगन र बरण्डामा बसेर परिवारजन, छरछिमेक एवं पाहुनाले पुजा समाप्तिको प्रतिक्षा गरिरहेका हुन्छन् । घरमा पूजा नहुने विवाहित छोरीचेली पनि यतिखेर माइत आउँछन् । टाढा घर भएका आफन्तजन एवं मितमितेनीलाई ब्रतालु परिवारले आमन्त्रण गर्छन् ।


यो पूजा सम्पन्न भएपछि व्रतालुले सबैभन्दा पहिले प्रसाद खान्छन् । उपस्थित सबैलाई बाँडछन् । छठ पुजाको मुख्य दिन अगाडिको यो एक महत्वपूर्ण धार्मिक विधि हो । यो पूजापछि व्रतालुको ३६ घण्टे निर्जल उपवास सुरु हुन्छ । सूर्यदेवको पूजाकालागि अर्को दिन बेलुकी र भोलिपल्ट बिहान सपरिवार घरबाट नजिकैको जलाशय किनार पुग्छन् ।


ब्रतालुले आइतबार बिहान स्नानपछि शुद्ध शाकाहारी भोजन ग्रहण गरी यो पर्व सुरु गरेका हुन् । लोक आस्थाको यो पर्वको तेस्रो दिन मंगलबार साँझ एवं चौथो दिन बुधबार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित सूर्यदेवलाई अर्घ्य दिइने छ । बिहानीको अर्घ्य लगतै छठ माताको महिमाको कथा वाचनसहित चार दिने धार्मिक अनुष्ठानको समापन हुन्छ ।


अन्तिम दुई दिन नदी, पोखरी एवं नहर किनारमा दिपावलीझैं माहोल हुन्छ । अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पूजापछि ठेकुवा, भुसवा एवं गेडागुडी मिश्रित प्रसाद माग्न आउनेको घाटमा ओइरो लाग्छ । भरपुर आस्थाकासाथ प्रसाद माग्न आउने, बाँडने एवं मुख्य उपासकलाई ढोकेर आशिर्वाद लिने क्रम घरदेखि घाटसम्म चल्छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?