१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भ्युटावरमा चार अर्ब लगानी

महानगर नेतृत्वले नगरवासीका आधारभूत समस्यामा पनि ध्यान दिनुपर्छ
विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरको अगुवाइमा झन्डै ४ अर्ब लगानीमा भ्युटावर निर्माणको पहल सुरु भएको छ । यो अभियानमा स्वयं महानगरपालिका, संघीय र प्रदेश सरकारमात्र नभएर यहाँका उद्योगी व्यवसायीको साझा संस्था मोरङ व्यापार संघ, उद्योग संगठन, नागारिक समाजले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

भ्युटावरमा चार अर्ब लगानी

यो लगानी महानगरको विकासमा बालुवामा पानी हालेझैं भएको नगरवासीको टिप्पणी छ । चार अर्ब महानगरको विकास निर्माणमा लगानी गर्दा कायापलट हुन सक्छ ।


‘यो लगानी विकास निर्माण, स्वास्थ्य र शिक्षामा गर्दा नगरवासीको सामान्य जनजीवनमा राहत पाउन सक्छन्,’ राजनीतिक विश्लेषक पीताम्बर दाहाल भन्छन्, ‘महानगरले जनताका आधारभूत विकास निर्माणलाई पहिलो प्राथामिता दिनुपर्छ ।’ नगरमा ठूला योजना ल्याउनु नराम्रो नभए पनि त्यसअघि महानगर नेतृत्वले नगरवासीका आधारभूत समस्या ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।


गत आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश १ का कार्यबाहक मुख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यु टावर निर्माणस्थलको सामूहिक शिलान्यास गर्दै ४ वर्षभित्र निर्माण सम्पन्न हुने आश्वासन दिएका थिए ।

‘यो भ्युटावरले नगरवासीको सामान्य दैनिकीमा के फरक पार्छ,’ नगरवासी तुलसा कार्कीले भनिन्, ‘स्वच्छ सडक, नाला, ढल, गुणस्तरीय शिक्षा र स्वास्थ्य हाम्रो आवश्यकता हो ।’


भ्युटावरको लगानी महानगरले ती शीर्षकमा खर्च गर्ने हो भने ४ वर्षमा महानगरको कायापलट हुने उनको बुझाइ छ । यस्तो टावर पर्यटकीय स्थलमा निर्माण गरिनुपर्ने उनको धारणा छ । ‘टावरको टुप्पोमा पुगेर नगरवासीले नयाँ दृश्य के हेर्ने ? अहिलेको विराटनगर प्रत्यक्ष देखेकै छौं,’ उनले भनिन्, ‘विराटनगर हेर्न भ्युटावर चढ्नै पर्दैन ।’


महानगरपालिका प्रमुख पराजुलीले भ्युटावरमा महानगरको लगानी नहुने र ‘बास्केट फन्ड’बाट निर्माण हुने दबी गरे । ‘भ्युटावरमा महानगरको लगानी हुनेछैन,’ उनले भने, ‘संघीय, प्रदेश सरकार, निजी क्षेत्र र नागरिक समाजको लगानी यसमा हुनेछ ।’ राम्रो काम गर्दा जहाँ पनि विरोध हुन सामान्य भइसकेको उनको भनाइ छ ।


‘भ्युटावर निर्माण भएपछि त्यसले महानगरलाई हरेक दिन आम्दानी दिन्छ,’ पराजुलीले भने, ‘त्यो आम्दानीले महानगरको समुचित विकासका योजना सञ्चालन गर्न सकिन्छ । भ्युटावरले विराटनगरको मुहार परिवर्तन गर्ने पराजुलीको दाबी छ । महानगरपालिकाको १ बिघा ७ कठ्ठामा १ सय १० मिटर अग्लो टावर निर्माण हुने र त्यसमा राजवंशी समुदायको संग्रहालय, व्यापारिक भवन, रिक्रिएसन सेन्टर, रेस्टुरेन्ट र प्रदर्शनी केन्द्र रहने पराजुलीले बताए ।

प्रकाशित : कार्तिक २६, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?