कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जनकपुरको सौन्दर्यकरण हुँदै

सौन्दर्यकरणअन्तर्गत पोखरीहरूको घेरावेरा, सरसफाइ, विद्युतीकरण,पार्क निर्माण,बोटिङको व्यवस्था
श्यामसुन्दर शशि

जनकपुर — जनकपुर उपमहानगरपालिकासँगको सहकार्यमा खानेपानी तथा सरसफाइ मन्त्रालयले नगर क्षेत्रका ३२ ऐतिहासिक पोखरी तथा बारहबीघा रंगभूमि मैदान सौन्दर्यीकरण आयोजना सुरु हुने भएको छ । 

जनकपुरको सौन्दर्यकरण हुँदै

झन्डै एक अर्बको लागतमा सुरु हुने जनकपुर सौन्दर्यीकरण आयोजनाको ठेक्का बन्दोवस्त यसै महिनाभित्र भइसक्ने मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जनाएका छन् ।


सचिव ठाकुरले सोमबार जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसंग छलफल गरेका छन् । सौन्दर्यीकरण आयोजना अन्तर्गत अंगराजसर र धनुषसागरमा जडान गरिने लाइट एन्ड साउन्ड (विद्युतीय फाउन्डेशन) तथा गंगासागरमा लेजर लाइटको माध्यमले दैनिक सञ्चालन हुने विद्युतीय जानकीलिला प्रदर्शन छन् । त्यसबारे मिथिला नाट्यकला परिषदका अध्यक्ष परमेश झा, पूर्व अध्यक्ष सुनिल मल्लिक तथा रंगदर्पणका अध्यक्ष रितेश पाटिललगायतसँग छलफल भएको छ ।


खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरका अनुसार आयोजनाअन्तर्गत नगर क्षेत्रका ३२ पोखरी तथा बारहवीघा रंगभूमि मैदानको सौन्दर्यीकरणसम्बन्धी ठेक्का बन्दोवस्त एकमुष्ठ गरिनेछ । पहिलो चरणमा गंगासागर, धनुषसागर, अंगराजसर तथा महाराजसर, रत्नसागर, विहार कुण्डसहितका आठ पोखरीको सौन्दर्यीकरण कार्य प्रारम्भ हुनेछ ।


सौन्दर्यकरणअन्तर्गत पोखरीहरूको घेरावेरा, सरसफाइ, विद्युतीकरण,पार्क निर्माण,बोटिङको व्यवस्था लगायतका काम गरिने छ । यस क्रममा गंगासागरमा अत्याधुनिक लेजरमार्फत जानकी लीला प्रदर्शनको व्यवस्था गरिनेछ । दैनिक एक घण्टा सञ्चालन गरिने जानकी लीलामा सहभागी हुन पर्यटकहरूको ओइरो लाग्ने जनकपुर उपमहानगरपालिाकाका मेयर साहले बताए ।


लेजर लाइटमार्फत प्रदर्शन गरिने जानकी लीलामा सीता जन्मदेखि विवाह तथा रामराज्यको दृश्य तथा मिथिलाका पारम्परिक लोकगीत तथा नृत्यको अवलोकन गराइने मेयर साहले जानकारी दिए ।


यहाँ अहिले पनि ४९ धार्मिक महत्त्वका सार्वजनिक पोखरी विद्यमान छन् । २१ निजी पोखरी छन् । तीमध्ये धार्मिक तथा सांस्कृतिक महत्त्वका आधा दर्जन पोखरी मिचेर निजी भवन निर्माण भएको छ । एक दर्जन अधिक लोपोनन्मुख अवस्थामा छन् ।


२०६६ चैत २५ गते इन्जिनियर सत्यनारायण साहद्वारा प्रस्तुत जनकपुरका पोखरीहरू र हाम्रो दायित्व शीर्षकको कार्यपत्रमा यहाँका ४८ पोखरीको नामावली उल्लेख छ । जनकपुर र जनकपुर नगरपालिकाभित्रका धार्मिक,सांस्कृतिक एवं ऐतिहासिक महत्त्वका पोखरी र पोखरीका डिलहरूको सूचीकरण एवं तिनको विवरणसहितको लगत तयार गरी तिनको अतिक्रमणलाई रोक्ने र स्वामित्वमा देखिएको विवाद निरुपणको उपाय पत्ता लगाई सिफारिस गर्ने उद्देश्यले कार्यदल गठन गरिएको थियो ।


२०६२ श्रावण २६ गते मन्त्रीमण्डलस्तरीय निर्णयद्वारा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष भोजराज घिमिरेको अध्यक्षतामा गठित उच्चस्तरीय कार्यदलले जनकपुर र यसको वरिपरि ४९ धार्मिक महत्त्वका सार्वजनिक पोखरीहरूको सूची सार्वजनिक गरेको थियो ।


जनकपुर टाउन प्रोफाइल २०४८मा उल्लेख भएअनुसार यहाँ ५८ सार्वजनिक पोखरी र अन्य माछापालन,मखाना,सिंघारा आदि खेती गर्ने प्रयोजनका ४० हेक्टर जग्गामा कुल ८० पोखरी रहेको उल्लेख छ । जसमध्ये २४ दशमलव १५ ठीक अवस्थामा,४३ दशमलव १ प्रतिशत नराम्रो अवस्थामा तथा ३२ दशमलव ८ प्रतिशत अस्तित्व गुमाइसकेका पोखरीहरू छन् ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका यी पोखरीहरूको साइनो रामायण कालदेखिको छ । स्थानीयवासीहरूका अनुसार राजा जनक गंगासागरमा नित्य स्नान गर्थे । धनुषसागरमा अहिले पनि शिवधनुषको अवशेष देखिने गरेको किंवदन्ती छ । रामजानकी विवाहमा जन्तीहरूलाई गोडा धुन भनी गोरधोई पोखरी खनाइएको थियो भने तेल राख्न तेलहा पोखरीको निर्माण गराइएको बताइन्छ ।


जनकपुरभन्दा ८ किलोमिटर उत्तरपूर्व धनुषाधामको बाटोमा पर्ने परसुराम तलावको डिलमा,ऋषि परसुरामको आश्रम रहेको उल्लेख छ । यहाँका प्राय: सम्पूर्ण पोखरीहरूसँग कुनै नकुनै धार्मिक तथा लोक कथा जोडिएकै छन् । पूर्णिमा, आमावस्या, छठ, पितृपक्ष, जितियालगायतका पर्व त्यौहारमा यी पवित्र पोखरीहरूमा स्नान गरेरै श्रद्धालुहरू मठमन्दिरमा पूजापाठ गर्दछन् । मिथिलाञ्चलको पवित्रतम् छठ पर्व यिनै पोखरीहरूको डीलमा सम्पन्न हुने गरेको सर्वविदितै छ ।


तर अचेल यहाँका पोखरीहरूको पानी प्रदूषित बनेको छ । पोखरी छेउका अधिकांश घरको शौचालयको ढल पोखरीमा मिसिएका छन् । फोहोर पानीको कारण यहाँ वर्षभरि मच्छरको विगविगी हुन्छ । कुनै पोखरीमा व्यावसायिक माछा खेती हुन्छ भने कुनै कुनै पोखरीका माछा स्थानीयवासीहरू लुटेर लैजान्छन् । पोखरीको स्वामित्व र आम्दानीका लागि गुठी,नगर पालिका तथा मठमन्दिरबीच चरम प्रतिष्पर्धा रहे पनि यसको सरसफाइ तथा सौन्दर्यीकरणका लागि कुनै निकाय सक्रिय देखिएका थिएनन् ।


पछिल्लो पटक खानेपानी तथा सरसफाइ मन्त्रालयले यहाँका पोखरीहरूको सौन्दर्यीकरण गर्न देखाएको रुचिलाई नगरप्रमुख लालकिशोर साहले सराहना गरेका छन् । कान्तिपुरसँगको भेटमा उनले भने, ‘एसियन विकास बैंकको सहयोगमा जनकपुर पुनर्निर्माण आयोजना अन्तिम चरणमा छ । पोखरीहरूको सौन्दर्यीकरण तथा बारहवीघाको सौन्दर्यीकरणपछि जनकपुर पर्यटकहरूको प्रमुख गन्तव्य बन्ने पक्का हो ।’


प्रकाशित : कार्तिक २६, २०७५ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?