१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

देउसीभैलोबाट टाढिँदै युवा

गणेश राई

काठमाडौँ — सूचना प्रविधिको तीव्र विकाससँगै युवा पुस्ता तिहारका अवसरमा खेलिने देउसीभैलोबाट टाढिँदै गएको छ । देउसी भट्याउने रम्बाइन केही शब्दमा सीमित छ । मादल बजाउने तरिकाबारे नयाँ पुस्ता अनभिज्ञ छ ।

देउसीभैलोबाट टाढिँदै युवा

मादल, बाँसुरी, खैंजडीजस्ता लोकबाजा बजाएर बलिराजा, रामायण, महाभारतको गाथा भट्याउँदै खेलिने देउसीले वल्लो–पल्लो गाउँ–टोललाई जोड्ने विज्ञहरू बताउँछन् । दुई दशकदेखि काठमाडौं उपत्यकामा संस्थागत रूपमा देउसी खेल्दै आएका गायक बडाजित राई देउसीभैलोमा युवाको आकर्षण घटेको बताउँछन् । ‘हाम्रै पुस्ताले सहरमा गाउँघरको देउसी भित्र्यायो,’ बाम्बुले राई समाज संस्थाका देउसी संयोजक राईले भने, ‘अहिले त्यसमा युवाको चासो र सहभागिता घटेको छ ।’


लोकसंस्कृति अभियन्ता प्राध्यापक प्रेमकुमार खत्री नयाँ–नयाँ ग्याजेटका कारण युवा पुस्ताले पुराना कुरा बिर्संदै गएको बताउँछन् । ‘अहिले देउसीभैलो हाइब्रिड जस्तै भएको छ,’ उनी भन्छन्, ‘समयले परिवर्तन ल्याउँछ । हरेक कुरा प्रविधिमै खोज्न थालिएको छ ।’


परम्परागत बाजागाजा बजाउने समुदायले समेत परम्परालाई बोझका रूपमा लिने गरेको उनले बताए । ‘नयाँ पुस्ताले नयाँ कुरा खोज्दा पुराना कुरा त्याग्न थाले,’ उनले भने, ‘हरेक कुरा छिटो खोज्ने गरेको देखिन्छ । दुई–तीन मिनेट देउसिरे भन्ने अनि आशिष दिन नपाउँदै साउन्ड सिस्टममा गीत घन्काएर नाच्ने चलन हावी भएको छ ।’ परम्परागत देउसीमा लामो लेग्रो तानेर रम्बाइन भट्याउने, मादलको ताल र नाच्नेको गोडाको चाल उस्तै गरी ढिलो गरी चालिने उनी सुनाउँछन् ।


मानवशास्त्री सुरेश ढकालले समयको परिवर्तनले समाजमा थामिनसक्नु परिवर्तन आएको बताए । यसबारे सामाजिक बहस जरुरी रहेको उनको भनाइ छ ।


राष्ट्रगानका रचयिता ब्याकुल माइला यसपटक ब्रिटिस गोर्खा भूतपूर्व संघ (बीगेसो) र शेर्पा कलाकार संघको देउसीभैलो कार्यक्रममा अतिथिका रूपमा उपस्थित भए । ‘बीगेसोले इस्ट इन्डिया कम्पनी, बेलायत र नेपालबीचको सन्धि–सम्झौतालाई पुनरावलोकन गर्न ध्यानाकर्षणका निम्ति देउसी खेलेको पाएँ,’ उनले भने, ‘तिहार सामाजिक सद्भावको चाड बनेको छ तर दसदेखि बीस वर्ष उमेर समूहका पुस्तामा देउसीको आकर्षण घटदो छ । त्यो पुस्ता फेसबुक र युट्युब हेरेर एक्लै रमाउने गरेको छ ।’


लिम्बू समुदायमा तिहारमा देउसीलाई बलिहाङ तङनाम भनेर खेल्ने गरिन्छ । किराँत याक्थुङ चुम्लुङका कलाकार लिम्बू भाषामै तङनाम गाउने, च्याबु्रङ बजाउँदै महिला–पुरुष गोलाकार भएर नाच्छन् । ‘हामी संस्थागत रूपमा पूर्वतयारीसहित तङनाम खेल्छौं,’ लिम्बू सांस्कृतिक परिषदका अध्यक्ष गोविन्द आङ्बोले भने, ‘संस्कृति परम्पराप्रति प्रशिक्षण दिएकाले युवा सहभागिता राम्रै छ,’ काठमाडौं उपत्यकामा ११ टोलीले देउसी खेलेको उल्लेख गर्दै आङ्बोले भने, ‘परम्परालाई बचाइराख्ने युवा पुस्ता हुन् । हामी बूढापाकाले उनीहरूलाई साथ दिएर मार्गनिर्देश गर्ने हो ।’


मगर समुदायमा बलिराजाको कथा हालेर देउसीभैलो खेल्ने चलन छ । ‘हामी बलिहाङका सन्तान हौं,’ नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगर भन्छन्, ‘मौलिक संस्कृति, परम्परा जोगाउने प्रयासमा छौं ।’

प्रकाशित : कार्तिक २६, २०७५ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?