कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्राकृतिक उपचार खोज्दै दाहाल

घनश्याम खडका

म्याग्दी — पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले पत्नी सीतालाई स्वदेश तथा विदेशका ठूला अस्पतालमा आधुनिक पद्धतिबाट उपचार गराए । तैपनि अपेक्षित रूपमा निको भएन । 

प्राकृतिक उपचार खोज्दै दाहाल

पछिल्लो समय सीता दोस्रो व्यक्तिको सहाराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा छिन् । लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा थाइराइड उपचार गराउँदै आएकी सीताको अवस्था थप जटिल बन्दै गएपछि अध्यक्ष दाहालले प्राकृतिक उपचारको विकल्प रोजेका छन् । यसैका लागि उनी सोमबार परिवारसहित म्याग्दीको बेनी ४ स्थित सिंगा तातोपानी पुगे । उनका साथमा छोरी गंगा तथा निजी चिकित्सक पनि छन् । यहाँको तातोपानी ग्यास्ट्रिक, हाडजोर्नी, मुटुको रक्तचाप र छाला उपचारमा प्राकृतिक अस्पताल मानिन्छ ।


दाहाल दम्पतीसँगै संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, श्रीमती नैनकला थापा, बहिनी रेनु मगर र ज्वाइँ प्रेम आले पनि तातोपानी कुण्डमा डुब्न आएका छन् । सिंगा तातोपानीमा डुबेर उपचार गर्न स्थानीय मात्र होइन, देशका विभिन्न ठाउँबाट बर्सेनि सयौं संख्यामा बिरामी म्याग्दी आउँछन् ।


दाहालको सचिवालयका अनुसार उनीहरूको टोली थप दुई दिन तातोपानीमा बस्ने कार्यक्रम छ । दाहालनिकटस्थ योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले सीता दाहाललाई तातोपानीमा डुब्दा कस्तो हुन्छ, प्रतिक्रिया हेरी बसाइ तय हुने बताए ।


तातोपानी कुण्डमा पुरुष र महिला २ घण्टाको पालो लगाएर पानीमा जिउ डुबाउने गर्छन् । २ घण्टापछि बाहिर निस्केर कम्बलभित्र गुम्सिएर खलखली पसिना निकाल्नुपर्छ । तातोपानीमा डुबिसकेपछि नजिकै रहेको तातोपानीको धाराले जिउ पखाल्नुपर्छ । तातोपानीका पोखरीमा सधैं भीडभाड हुन्छ ।


व्यवस्थापन समितिले दाहाल र थापा दम्पती आएपछि सोमबार मध्यान्ह १२ बजेदेखि ३ बजेसम्मका लागि अन्य मानिसलाई प्रवेशमा रोक लगाएको थियो । खाली गराइएको कुण्डमा दाहाल नेतृत्वको विशिष्ट पाहुना टोली पसेको थियो ।

सोमबार बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनीहरू पारिवारिक भ्रमण भन्दै यहाँ आएका हुन् । बेनीदेखि ४ किमि माथि अथुंगे डाँडास्थित सेनाको श्रीबक्स गुल्ममा हेलिकप्टरबाट ओर्लेपछि बेनीको याक होटलमा पुगेर उनीहरूले खाना खाएका थिए । एक घण्टा कार्यकर्तासँग भेटघाटपछि १२ किमि पश्चिम म्याग्दी खोला किनारमा रहेको सिंगा तातोपानी पुगेका हुन् ।


पारिवारिक भ्रमण भनिए पनि गृहमन्त्री थापाले भने जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको जिल्ला दैवीप्रकोप न्यूनीकरण युनिटको उद्घाटन गरे ।

प्रकाशित : कार्तिक २६, २०७५ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?