२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सरकार र प्रतिपक्ष दुवै गतिहीन भए : पौडेल

गतिविधि नभएका कारण हामीले खाना खाएको पनि मिडियामा चर्चा भयो 
रमेशकुमार पौडेल

चितवन — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व प्रति असन्तुष्ट रहेको बताएका छन् । मंगलबार बिहान भरतपुर विमानस्थलमा प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले भने, ‘सरकार पनि हल न चलको अवस्थामा छ, कांग्रेस पनि त्यस्तै भएको छ । वास्तवमा आफै भित्र पनि म त्यति सन्तुष्ट छैन ।’

सरकार र प्रतिपक्ष दुवै गतिहीन भए : पौडेल

सोमबार बिहान सुजाता कोइराला निवासमा भएको भेटघाटका विषयमा पौडेलले धेरै कुरा खुलाएनन् । ‘सुजाताजीले खाना खानका लागि मात्रै बोलाउनु भएको थियो । त्यो अरु केही थिएन । तर सरकार वा अरु दल कसैले केही काम गर्न नसकेका बेलामा हामीले खाना खाएको पनि चर्चा भयो,’ पौडेलले भने ।


आउँदो महाधिवेशनमा पार्टीको नेतृत्वमा जाने विषयमा आफूले केही नसोचेको उनले बताए । ‘मैले अहिले सभापतिमा उठ्ने वा नउठ्ने भन्ने विषयमा केही सोचेकै छैन । चुनावमा पार्टी किन हार्‍यो, यसलाई कसरी सुधार्ने भन्ने मलाई चिन्ता छ, अरु केही बिचार गरेको छैन,’ पौडेलले भने । सुजाता निवासमा भएको सोमबारको भेटमा सभापतिको बारेमा कसैले अहिल्यै चर्चा नगर्ने भन्ने सहमति भएको उनले खुलाए ।


नेता पौडेलले अहिलेको विधानमा पार्टी सभापतिका लागि पर्याप्त अधिकार भएका कारण अब थप्न नहुने बताए । केन्द्रीय सदस्यहरु बढाउनु पर्ने अवस्था भएका कारण त्यही अनुरुप पदाधिकारीहरु पनि बढ्नु पर्ने उनको भनाइ छ । ‘केन्द्रीय सदस्य बढ्छन, बढाउनु पनि पर्छ । तर केन्द्रीय सदस्यहरु बढेको अनुपातमा पदाधिकारीहरु पनि बढाउन आवश्यक छ । पदाधिकारीहरु नबढाउने हो भने केन्द्रीय सदस्य पनि नबढाउँ,’ पौडेलले भने ।


सबैतिरबाट अनुकुल हुँदा पनि सरकारले राम्रो काम नगरेको र यसले जनतामा निराशा बढाएको उनले बताए । ‘सरकारका लागि यस्तो अनुकुल समय नेपालमा कहिल्यै थिएन । प्रतिपक्ष यति भलाद्मी छ । सत्ता पक्षसँग पर्याप्त बहुमत छ । तर सरकार गतिहीन छ । हल न चल भएको छ,’ पौडेलले भने ।


पार्टी सभापतिले विचार दिन नसक्दा पार्टी र कार्यकर्ता परिचालित हुन नसकेको उनले बताए ।


विजयकुमार गच्छेदारलाई पार्टी उपसभापति बनाउँदा प्रक्रिया नपुर्‍याएको उनले बताए । ‘गच्छदारजीलाई समायोजन नगर्ने भनेको हैन तर केही प्रक्रिया पुर्‍याउनु पथ्र्याे त्यो अपनाइएन । विधानमा एउटा मात्रै उपसभापतिको व्यवस्था छ । फेरि उहाँको मात्रै कुरा हैन उहाँसँग आएकाहरुलाई तल्लो तहसम्म कसरी समायोजन गर्ने भन्ने प्रश्न मुख्य थियो । समिति बनाएर प्रतिवेदन तयार गरेर काम गर्नु पर्थ्याे,’ पौडेलले भने ।

प्रकाशित : कार्तिक २७, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?