२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

प्रधानमन्त्रीले उद्घाटन गरेको 'बिजुली बस' पुल्चोकमै थन्कियो

विद्या राई

काठमाडौँ — महिनादिन अघि उपत्यकामा भित्र्याइएका पाँच वटा ‘बिजुली बस’ ललितपुरको पुल्चोकमै थन्किएका छन् । लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई यातायातको सुलभ पहुँचका लागि ल्याइएको बस चढेर प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरेका थिए ।

प्रधानमन्त्रीले उद्घाटन गरेको 'बिजुली बस' पुल्चोकमै थन्कियो

उक्त बसहरु एडिबीको आर्थिक सहयोगमा लुम्बिनी विकास कोषले किनेको थियो ।


भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म काठमाडौं उपत्यकामा चलाउने गरी साझा यातायातले संयोजन गर्ने मौखिक सम्झौता भएको थियो । तर, लुम्बिनी विकास कोषले लिखित सम्झौता साझालाई नदिएको कारण सञ्चालनमा ल्याउन नसकिएको साझाका अध्यक्ष कनकमणि दीक्षितले बताए । ‘दसैं-तिहारले हुन सक्छ लुम्बिनी विकास कोषसँग लिखित सम्झौता हुन पाएको छैन, सम्झौताको पखाईमा छौं,’ उनले भने ।


लुम्बिनी-काठमाडौं तथा अन्य जुनसुकै ठाउँमा बिजुलीबस परीक्षण तथा सञ्चालन गर्न साझा सदैव इच्छुक रहेको बताउँदै उनले भने, ‘नेपालको अर्थतन्त्र, जनस्वास्थ्य र वातावरणका लागि बिजुलीबस प्रयोग अपरहार्य छ ।’


उद्घाटनका दिन प्रधानमन्त्री ओली, पर्यटनमन्त्री रविन्द्र अधिकारी, वनमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर, प्रहरी प्रमुख सर्वेन्द्र खनाललगायत उच्च पदस्थ सरकारी व्यक्तिहरुले पुल्चोकदेखि सिंहदरबारसम्म ‘बिजुली बस’ चढेका थिए । उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना लोकार्पण गरेका थिए । सोही कार्ययोजनाअन्तर्गत रहेर साझाले बिजुली बस चलाउने अध्यक्ष दीक्षितले बताए ।


बिजुली बसमा के छ सुविधा ?

यो बस एकपटक पूरा चार्ज गरेपछि दुई सय किलोमिटर कुद्छ । पूरा चार्ज गर्न तीनदेखि चार घण्टा लाग्छ । चिनियाँ कम्पनी बिवाइडीको उक्त गाडी चालकसहित बसको सीट क्षमता २० रहेको छ । बसमा उभिएर यात्रा गर्दा ३५ जना अट्छन् ।


वातावरणमैत्री बस अपागंमैत्री पनि छ । दुई वटा ह्विलचेयर राख्ने स्थान छ । ह्विलचेयर उकाल्न लिफ्ट राखिएको छ । सिसि क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरको सुविधा छ । गाडीको उच्च गति १०० किलोमिटर प्रतिघण्टासम्म छ । यसले १५० किलोवाट पावर र ५५० एनएम टर्क दिन्छ । यसको मूल्य प्रतिगोटा करिब २ करोड परेको थियो ।

प्रकाशित : कार्तिक २७, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?