२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत् अनुगमन गरिरहेका छन् । 

मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री

उनले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारबाहीबारे नियमित अनुगमन गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको कार्ययोजनाको कार्यप्रगति विवरण राख्ने गर्छन् । ती विवरण प्रधानमन्त्री ओलीले अनलाइनमार्फत् अनुगमन गर्छन् ।


'सबै मन्त्रालयका सचिवले प्रत्येक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको कार्यप्रगति विवरण सफ्टवेयरमा राख्नुहुन्छ', उनले भने,'सफ्टवेयरमा राखिएको विवरणलाई प्रधानमन्त्रीले अनुगमन गरिरहनुभएको छ ।' मन्त्रालयका कामकारबाही ढिलासुस्ती भएको महसुस गरेपछि प्रधानमन्त्री आफैँले अनुगमन सुर गरेका हुन् । गत असोजमा सोसम्बन्धी सफ्टवेयरको विकास गरिएको हो ।


प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले प्रधानमन्त्री ओलीले नियमित रुपमा सबै मन्त्रालयको कार्यप्रगतिबारे निकट भएर अनुगमन गरिरहेको बताए । 'प्रधानमन्त्री कुन मन्त्रालयको कार्यप्रगति कस्तो रहेको छ भनेर उहाँ नियमित अनुगमनबाट जानकार हुनुहुन्छ' उनले भने,'अनुगमनका क्रममा देखिएका कतिपय समस्या प्रधानमन्त्री आफैँले मन्त्री र सचिवलाई निर्देशनसमेत दिनुहुन्छ ।'


प्रवक्ता कुँवरले कार्ययोजनामा आएका समस्यालाई नीतिगत रुपमा प्रधानमन्त्री कार्यालयले समाधान गरिरहेको बताए । 'मन्त्रालयको नीतिगत र संरचनागत सहयोग हामीले गरिरहेका छौँ', उनले भने,'तर तोकिएको समयमा काम सक्नुपर्ने निर्देशन छ ।'


सरकारले विकास र पूर्वाधारका काम द्रूत गतिमा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई तोकिएका काम गर्न प्रधानमन्त्री ओलीले आफैँ निर्देशन दिएका छन् ।


'यसअघि वर्षायाम र चाडपर्व परेकाले विकास र पूर्वाधारका काम हुन सकेका थिएनन्', प्रवक्ता कुँवरले भने,'अब वर्षायाम र चाडपर्व सकिएकाले यस आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने विकास निर्माणसम्बन्धी भौतिक पूर्वाधारका काम द्रूत गतिमा हुन्छ ।'

प्रकाशित : कार्तिक २७, २०७५ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?