कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

संसद्‍मा उचाल्न नमिल्ने कुर्सी

तोडफोडका घटना दोहोरिन नदिन बैठक कक्षका प्रत्येक लहरका कुर्सी एकैढिक्का बनाइँदै छन् ।
मकर श्रेष्ठ

काठमाडौँ — संसद् सचिवालयले अब सांसदलाई छुट्टाछुट्टै नभई एकअर्कासँग जोडिएका कुर्सी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनसम्म केही सांसदलाई छुट्टाछुट्टै कुर्सीमा राखिँदै आएको थियो । 

संसद्‍मा उचाल्न नमिल्ने कुर्सी

अब प्रत्येक लहरमा ६ वटा कुर्सी राखी तिनलाई छुट्टाछुट्टै उचाल्न नमिल्ने गरी जोडिँदै छ । बैठकमा आक्रोशित सांसदले कुर्सी उठाएर तोडफोड गर्न सक्ने भएकाले एउटै ढिक्का बनाउन लागिएको स्रोतले जनाएको छ । सचिवालयका अधिकारीले भने कुर्सीमा एकरूपता ल्याउन र धेरै जना अटाउन यस्तो गरिएको दाबी गरेका छन् ।


२०७१ माघ ५ मा तत्कालीन माओवादी सांसद उमेशकुमार यादवले संसदको कुर्सी तोडफोड

गरेका थिए । २०५४ मा दलत्यागसम्बन्धी विधेयक पारित गर्ने क्रममा कांग्रेस र एमाले सांसदबीच कुर्सी हानाहान भएको थियो । ६ वटा कुर्सी एकढिक्का भएपछि तोडफोडको सम्भावना कम हुनेछ । संयुक्त कुर्सी एक व्यक्तिले उचाल्न सम्भव हुँदैन ।


संसदभित्र ध्वंसात्मक कार्य नियन्त्रण गर्न नियमावलीमा कारबाहीको प्रावधानसमेत कडा पारिएको छ । बैठक कक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भंग गरे, सभाको प्रतिष्ठामा आँच आउने किसिमले ध्वंसात्मक कार्य गरे, भौतिक हानि–नोक्सानी पुर्‍याए सभामुखले बैठक कक्षबाट निष्कासन गर्न मर्यादापालकलाई आदेश दिन सक्ने व्यवस्था छ । निष्कासित सदस्यलाई सभामुखले बढीमा १५ दिन निलम्बन गरी उसैबाट क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति भराउन सक्छन् ।


सबै सांसदलाई टेबुल र माइक

सचिवालयले प्रत्येक सांसदलाई टेबल ठोक्न मिल्ने संरचना बनाउन सुरु गरेको छ । २ सय ७५ सांसदमध्ये १ सय ८० जनालाई मात्र ठोक्ने टेबलको व्यवस्था थियो । अब राष्ट्रिय सभा र प्रतिनिधिसभाका ३ सय ३४ सांसदको संयुक्त बैठक हुँदासमेत सबैले टेबल ठोक्न मिल्ने बनाइँदै छ । संसद्मा कसैको अभिव्यक्तिमा समर्थन वा आपत्ति प्रकट गर्दा, नियमापत्ति जनाउँदा, विधेयक पारित वा फेल गर्दा टेबुल ठोक्ने प्रचलन छ ।


अगाडि टेबुल नभएका सांसद केहीले तिघ्रा त केहीले पछाडिपट्टिको टेबुल ठोक्ने गरेका थिए । सांसदहरूले बैठक कक्षमा टेबुल नभएको भन्दै विरोध गर्दै आएका थिए । जेठ २१ को बैठकमा विशेष समयमा नेकपाकी सांसद पम्फा भुसालले कुर्सी, टेबुल र माइक गुणस्तरीय नभएको बताएकी थिइन् ।


‘म प्राइमरी स्कुल पढदा अफिस कोठाबाहेक अन्यत्र ढोका लगाउने व्यवस्था थिएन । भुइँमा बसेर पढ्नुपथ्र्यो । आफैंले चकटी लिएर जानुपर्थ्यो । अहिले मलाई संसद् भवन आउँदा त्यही अनुभूति हुन्छ,’ उनको अभिव्यक्ति थियो, ‘दुईवटा कुर्सीको बीचमा एउटा पाखुरा छ । बस्दा पनि सजिलो गरी बस्न सकिँदैन । ताली बजाउने सिस्टम छ । ताली बजाउने टेबुल पनि छैन ।’ सांसदहरूबाटै माग भएपछि टेबुल व्यवस्था गर्न लागिएको सचिवालयले जनाएको छ ।

अघिल्लो संसदमा ६ सय सांसद बस्ने बैठक कक्षमा अहिले संयुक्त सदनसमेत चलाउन मिल्ने गरी ३ सय ९६ वटा कुर्सीको व्यवस्था गरिएको छ । हरेक लाइनमा ६ जना सांसदका लागि एउटा टेबुलको व्यवस्था गरिएको छ । हरेक टेबुलमा ३ वटा माइक हुनेछन् । तेस्रो अधिवेशनअघि नै बैठक कक्ष तयार पार्ने गतिले काम भइरहेको सचिवालयले जनाएको छ । तेस्रो अधिवेशन पुस दोस्रो सातादेखि थाल्ने तयारी छ ।


प्रकाशित : कार्तिक २८, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?