१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तराई–पहाड जोड्दै छठ

लीला श्रेष्ठ

भक्तपुर — मैथिली/भोजपुरी लवजको छठी गीत, संगीत । भक्तपुर नगरपालिका–१० कमलपोखरीको चारैतिर दीपावली । को मधेसी, को पहाडी, सबै सूर्यको आराधनामा व्यस्त । 

तराई–पहाड जोड्दै छठ

अन्यत्र जस्तै, इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रे सिन्धुपाल्चोककी सरु भण्डारी सूर्यको आराधना गरी छठ पर्व मनाउनमा व्यस्त छिन् । विशेषगरी तराईलगायत मधेसी समुदायमा उत्साह र निष्ठाका साथ धुमधामसँग मनाइने छठ पर्व भण्डारीले ५ वर्षयता मनाउँदै आएको बताइन् । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रत सुरु गरेको उनले बताइन् । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर छठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिने प्रचलनलाई अँगाल्दै छठ पर्व मनाएको अधिकारीले बताइन् । ‘नेपालीपन जागृत गरी मधेस–पहाडलाई जोड्न छठ पर्व मनाउन थालेकी हुँ,’ उनले भनिन्, ‘धर्म एउटै हो, विधि पुर्‍याएर मनाउनुपर्छ ।’


छठ पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधिविधान रहेको कमलामाई नगरपालिका–२ भद्रकालीका राकेश रिजाल बताउँछन् । कात्तिक शुक्ल षष्ठीका राति जाग्राम बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुने परम्परा रहेको समेत उनले बताए । आफू पहाडी मूलमा जन्मी हुर्के पनि हिन्दु आस्थाकै कारण छठ मनाउन थालेको उनले बताए ।


कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुने सर्लाही घर भई सूर्यविनायक बस्ने शीतल साहले बताए ।


कमलपोखरी डिलमा छठीमाताको प्रतिमा स्थापित र अघ्र्य सामग्रीसँगै तराई–पहाड मूलका बासिन्दाले छठ पर्व मनाएका छन् । साहका अनुसार कात्तिक महिनाको अमावस्यामा दीपावलीको छैठौं दिन कात्तिक शुक्लको दिन मनाइने भएर यसलाई छठ भनिएको हो । छठमा छठी माता र सूर्य देवको पूजा विधानका साथ गरिने उनले बताए ।


छठ व्रत महिला तथा पुरुष दुवैले लिने गरेका छन् । यस व्रतमा तेस्रो तथा चौथो दिन निर्जला अर्थात् पानी नखाईकन अखण्ड व्रत बस्दै सूर्य पूजा गरेको छ । साथै छठी माताको समेत पूजा गरिएको छ । छठ व्रत जीवनशक्तिको स्रोत सूर्य उपासनाको आध्यात्मिक पद्धति भएको साह बताउँछन् ।


छठ पर्व आर्यहरूको सूर्य उपासना परम्पराकै एक अंग रहेको उनले जानकारी दिए । उनले सूर्य पुराणमा यस पर्वको वर्णनसमेत रहेको समेत जनाए । ‘संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्, तिनको शक्तिबिना रूख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन,’ भक्तपुर च्याम्हासिंहका राज तिमल्सिनाले भने, ‘सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ ।’ सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको, त्यसैले पहाडिया भईकन पनि छठ पर्व मनाउन थालेको उनले बताए ।


ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको र उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख भएको मण्डलले बताए । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको जनाएको छ ।


छठ पर्वमा व्रत गरे दु:ख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको भक्तपुर सिर्जनानगरकी तीर्थमाया बस्नेतले बताइन् । यसमा झुप्पाझुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको उनले बताइन् । यस पर्वमा जो व्रत बस्न सक्दैन, उसले अर्कोबाट व्रत गराउने गर्छन् ।


आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । भक्तपुरको कमलपोखरीमा मात्र नभई उपत्यकाको विभिन्न नदी, पोखरी, तलाउमा मधेसी तथा पहाडी मूलका समुदायले सूर्यको आराधना गरी भव्यताका साथ सौहार्दतापूर्ण रूपमा छठ पर्व मनाइरहेका छन् ।

प्रकाशित : कार्तिक २८, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?