२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

नेकपा अध्यक्ष दाहाल भन्छन्, ‘मनको एकता भएको छैन’

कान्तिपुर संवाददाता

म्याग्दी — नेकपा अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी एक भए पनि मनको एकता भइनसकेको बताएका छन् । तल्लो तहमा पनि चाँडै एकता टुंग्याउने उनको भनाइ छ ।

नेकपा अध्यक्ष दाहाल भन्छन्, ‘मनको एकता भएको छैन’

‘हिजो दुई पार्टीले एकले अर्कोलाई सिध्याउनेसम्मको तहमा लडेका कार्यकर्ता भएकाले पार्टी एकता भए पनि मन एकता भइसकेको छैन,’ म्याग्दी भ्रमणमा आएका उनले बुधबार भने, ‘विस्तारै मिल्दै जान्छ । सरकारलाई सफल पार्नु र पार्टी एकतालाई सुदृढ पार्नुको विकल्प छैन ।’ प्रदेश तहमा पार्टी एकता टुंगो लागेको र छिट्टै जिल्ला र स्थानीय तहमा पनि टुंगिने दाहालले दाबी गरे ।


गृहमन्त्री रामबहादुर थापासहित आएका उनले सोमबार म्याग्दीको तातोपानीमा डुबुल्की लगाउनुका साथै गलेश्वर धाममा पूजाअर्चनासमेत गरेका थिए ।


तातोपानीमा डुबुल्की मार्दा रोग निको हुन्छ भन्ने पत्नी सीताको इच्छाअनुसार आएको उनले बताए । आफू र गृहमन्त्री थापाको तातोपानी बसाइले प्राकृतिक चिकित्सा पर्यटनमा अर्थपूर्ण सन्देश गएको उनले दाबी गरे ।


बुधबार काठमाडौं फर्कनुअघि आफ्नो तीनदिने बसाइको समीक्षा गरेका दाहालले कर्मचारीतन्त्रका कारण राजनीतिक परिवर्तन संस्थागत गर्न नसकिएको आरोपसमेत लगाए । २००७ सालदेखि गणतन्त्र घोषणासम्मका सबै राजनीतिक आन्दोलनले व्यवस्था परिवर्तन गरे पनि कर्मचारीतन्त्र फेर्न नसकेको उनले बताए ।


‘संघीयताको उद्देश्य सिंहदरबार गाउँमा पुर्‍याउनु थियो तर राजनीतिक परिवर्तनलाई संस्थागत गर्न कर्मचारीतन्त्रले बाधा पुर्‍याएको छ,’ उनले भने, ‘राजनीतिक आन्दोलनले व्यवस्था फेर्‍यो तर, कर्मचारीतन्त्रको मानसिकता फेर्न सकेन । हाकिमले परिवर्तन आत्मसात् गर्न सकेनन्, बरु नेता नै हाकिम भए । परिवर्तन उल्टेला भन्ने डर भइसक्यो ।’


दाहाल र थापाले जिल्लाको तातोपानीसँगै मंगला गाउँपालिकाको कृषि क्षेत्र, गलेश्वरधाम, बेनीमा बाढीले पुर्‍याएको क्षति र निर्माण अलपत्र राहुघाट जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेका छन् । थापाले सुस्ता–पोखरा–बेनी–कोरला सडक, बेनी–ढोरपाटन–रुकुम सडक जोडिने क्षेत्र चिकित्सा, धार्मिक, कृषि र पर्यटनको प्रचुर सम्भावना भएको बताए । सरकारले छिट्टै हिउँदे अधिवेशन बोलाएर प्रहरी ऐनसमेतका कानुन ल्याउन लागेको उनले जनाए ।


प्रकाशित : कार्तिक २८, २०७५ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?