महिलासँग ‘अश्लील संवाद’ ले मन्त्री सोडारी बर्खास्त

अर्जुन शाह

धनगढी — प्रदेश ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई केही महिनाअघि एक महिलासँग ‘अश्लील संवाद’ गरेका कारण बर्खास्त गरिएको खुलेको छ । सोडारीले ती महिलासँग अश्लील संवाद गरेको अडियो रेकर्ड बालुवाटार पुगेपछि उनलाई बर्खास्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

महिलासँग ‘अश्लील संवाद’ ले मन्त्री सोडारी बर्खास्त

ती महिला स्वयंले प्रधानमन्त्रीलगायत नेकपा नेताहरूसमक्ष उक्त संवादको ‘क्लिप’ पठाएकी थिइन् । ‘अश्लील संवादका साथै केही तस्बिर पनि बालुवाटार पुर्‍याइएको छ,’ स्रोतले भन्यो ।


मन्त्रीबाट बर्खास्त गरिएसँगै सोडारीलाई मंगलबार बसेको नेकपाको सुदूरपश्चिम प्रदेश पदाधिकारी बैठकले पार्टी सदस्यबाटै निष्कासन गरेको छ । प्रदेश अध्यक्ष कर्ण थापाले पदीय आचरणविपरीत व्यवहार गरेकाले कारबाही गरेको बताएका छन् । ‘अनिश्चित समयका लागि पार्टी सदस्यताबाट निष्कासन गरिएको छ,’ थापाले भने । बैठकमा इञ्चार्ज भीम रावल, प्रदेश अध्यक्ष थापालगायत सबै पदाधिकारी उपस्थित थिए ।


संवादको अडियो रेकर्ड सुनेपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रदेश इञ्चार्ज रावल, अध्यक्ष थापा र मुख्यमन्त्री त्रिलोचन भट्टलगायत नेतासँग कुरा गरेको एक नेताले बताए ।


सोडारीले भने चर्चा चलेका आरोपका विषयमा कुनै प्रतिक्रिया दिन मानेनन् । ‘मलाई केही थाहा छैन,’ उनले भने, ‘पार्टीले गरेको जुनसुकै निर्णय मेरा लागि मान्य छ ।’


स्रोतका अनुसार महिलासँगको सम्बन्धका बारेमा गाइँगुइँ चलेपछि केही समयअगाडि मुख्यमन्त्रीले समेत उनलाई सचेत गराएका थिए । सोडारी गम्भीर प्रकृतिको घटनामा मुछिएपछि प्रदेश इञ्चार्ज रावल आक्रोशित भएका थिए । ‘घटना सुनेपछि रावल पनि रिसाएका थिए,’ स्रोतले भन्यो । प्रदेश अध्यक्ष थापा पहिल्यैदेखि रुष्ट रहेको सोडारीनिकट कार्यकर्ता बताउँछन् ।


पार्टी सदस्यबाट निष्कासन भएपछि सोडारी प्रदेशसभामा स्वतन्त्र सांसदको हैसियतमा रहने छन् । प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले प्रदेशसभा सदस्य पदमा असर नपर्ने बताए । पार्टी त्याग गरेको भए वा समानुपातिक सदस्य भए पार्टीले हटाउन सक्थ्यो । उनी कैलाली निर्वाचन क्षेत्र ४ (क) बाट निर्वाचित भएका हुन् । ‘पार्टीको कारबाही फुकुवा नहुँदासम्म स्वतन्त्र सांसदको भूमिकामा रहन्छन्,’ उपाध्यायले भने ।


सोडारीनिकट कार्यकर्ताले भने विरोधी खेमाको नियोजित षड्यन्त्रमा उनलाई फसाइएको दाबी गरेका छन् । तत्कालीन एमालेभित्र दुई खेमाबीच संघर्ष चल्दै आएको थियो । सोडारी ६ वर्षदेखि कैलालीमा तत्कालीन एमालेको अध्यक्ष थिए । ‘सोडारीलाई नरुचाउने पार्टी पंक्तिले उनीविरुद्ध षड्यन्त्र रच्दै आएका थिए,’ सोडारीनिकट एक कार्यकर्ताले भने, ‘यतिबेला उनीहरूको योजना सफल भयो ।’


दुवै पक्षबीच लामो समयदेखि गुटगत आरोप–प्रत्यारोप चल्दै आएको थियो । सोडारी माधव नेपालनिकट थिए ।

प्रकाशित : कार्तिक २८, २०७५ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?