कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सबै मोबाइल सेवा ‘कमजोर’

सुधार नगरे क्षतिपूर्ति र कारबाही हुनेछ – दूरसञ्चार प्राधिकरण
विजय तिमल्सिना

काठमाडौँ — मुलुकका सबै मोबाइल कम्पनीले दिँदै आएको सेवा गुणस्तर मापदण्डभन्दा कमजोर पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षण क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा गुणस्तर तोकिएको मापदण्डभन्दा कमजोर पाइएको हो ।

सबै मोबाइल सेवा ‘कमजोर’

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले असोज ११ देखि २५ सम्म राजधानीका चक्रपथभित्र विभिन्न स्थानमा परीक्षण गरेको हो । प्राधिकरणद्वारा सार्वजनिक प्रतिवेदनअनुसार मोबाइल सेवामा एनसेल र स्मार्ट टेलिकमभन्दा नेपाल टेलिकम अघि देखिएको छ । इन्टरनेट सेवामा एनसेलको गुणस्तर अन्य सेवा प्रदायकभन्दा राम्रो देखिएको छ ।

प्राधिकरणको गुणस्तर व्यवस्थापन सम्बन्धी विनियमावली अनुसार मोबाइल सेवामा कल स्थापित हुने दर ९९ प्रतिशत वा त्यसभन्दा माथि हुनुपर्ने प्रावधान छ । यसको अर्थ सय पटक फोन गर्दा ९९ पटक लाग्नुपर्ने प्रावधान हो । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम तीनै सेवा प्रदायकको कल स्थापित हुने दर ९९ प्रतिशत छैन । सबैभन्दा कमजोर स्मार्ट टेलिकम देखिएको छ । उसको कल स्थापित दर ९२ प्रतिशत मात्रै छ ।

फोन स्थापित हुन लाग्ने समय पनि प्राधिकरणले तोकेको मापदण्डभन्दा कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ । एक मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा डायल भएको र अर्कोमा घण्टी बजेको अवधिलाई फोन स्थापित हुन लाग्ने समय हो । यो अवधि बढीमा ५ सेकेन्ड वा त्योभन्दा कम हुनुपर्ने प्रावधान छ । तीनै सेवा प्रदायकको सेवा यसमा कमजोर छ । कल स्थापित हुन लाग्ने समय एनसेलको साढे ८ सेकेन्ड, टेलिकमको साढे ११ सेकेन्ड र स्मार्ट टेलिकमको करिब १४ सेकेन्ड छ ।

कल स्थापित नहुने दरमा टेलिकमबाहेक दुई सेवा प्रदायक कमजोर देखिएका छन् । प्राधिकरणले कल स्थापित नहुने दर अर्थात् एक मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा फोन नलाग्ने अवस्था २ प्रतिशतभन्दा कम हुनुपर्ने प्रावधान राखेको छ । टेलिकममा कल स्थापित नहुने दर २ प्रतिशतभन्दा कम छ भने एनसेलको २.३४ र स्मार्ट टेलिकमको करिब ८ प्रतिशत छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले परीक्षण प्रतिवेदनबारे जानकारी गराउँदै सेवा प्रदायकलाई मंगलबार पत्र पठाइएको बताए । ‘मापदण्ड नपुगेका सेवालाई यथाशीघ्र सुधार गरी प्राधिकरणलाई जानकारी दिन निर्देशन दिएका छौं,’ उनले भने, ‘सुधार नभए कारबाही हुनेछ, क्षतिपूर्तिको प्रक्रियामा पनि जान्छौं ।’

दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावलीमा सेवा प्रदायक आफैंले सेवाको गुणस्तर तीन–तीन महिनामा परीक्षण गरी प्राधिकरणलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । सेवा सुधारका लागि प्राधिकरणले दिएको निर्देशन पालना नगरे दूरसञ्चार ऐनअनुसार जरिवाना गर्न सकिने प्रावधान विनियमावलीमा गरिएको छ । दूरसञ्चार ऐनमा प्राधिकरणले दिएको निर्देशन पालना नगरे ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ ।

यस्तै नियम पालना नगरेर कसैको हानि–नोक्सानी भए त्यस्तो हानि–नोक्सानीको बिगो वा त्यसबापतको क्षतिपूर्ति भराउन सकिने व्यवस्था छ । एनसेलको इन्टरनेट सेवामा वेबपेज लोड हुन लाग्ने समय साढे ७ सेकेन्ड छ भने टेलिकमको इन्टरनेटमा करिब १७ सेकेन्ड छ । स्मार्ट टेलिकमको इन्टरनेटमा भने वेबपेज लोड हुन २० सेकेन्डभन्दा बढी समय लाने देखिएको छ । पाँचवटा वेबपेजलाई आधार मानी परीक्षण गरिएको प्रतिवेदनमा जनाइएको छ ।

फाइल डाउनलोड गर्दा डाटाको बहावमा एनसेल अघि देखिएको छ । एनसेलको इन्टरनेटमा फाइल डाउनलोड गर्दा डाटा बहाव ३६ एमबीपीएस देखिए पनि टेलिकममा यो दर करिब १८ एमबीबीएससम्म मात्रै देखिएको प्रतिवेदनमा उल्लेख छ । फाइल अपलोड हुने सफलताको दरमा नेपाल टेलिकमको सेवा कमजोर देखिएको छ ।

फाइल अपलोड हुने सफलताको दर टेलिकममा ३९ प्रतिशत मात्र छ । यो दर एनसेलमा ९७ र स्मार्ट टेलिकममा ९८ प्रतिशतभन्दा बढी रहेको प्रतिवेदनमा जनाइएको छ । यो दर ७५ प्रतिशतभन्दा बढी हुनुपर्ने मापदण्ड हो ।

प्रकाशित : कार्तिक २९, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?