कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कोदो चिनो

अनिश तिवारी

घुम्थाङ, सिन्धुपाल्चोक — न उत्पात कमाइ । न खेती गर्नै सजिलो । तैपनि खेतबारी कोदोले पहेँलपुर बनेका छन् । बाह्रबिसे नगरपालिकाभित्र पर्ने घुम्थाङको माथिल्लो थगाम बस्तीमा धमाधम कोदो टिप्ने मेलो चलिरहेको छ । युवापुस्तामा त्यति रुचि छैन ।

कोदो चिनो

पुस्ताको चिनो भन्दै पाकाहरूले नै कोदो खेती लगाउने गरेका छन् । घुम्थाङको डाँडातिर मोडिने प्रत्येक बाटोबाट पहेँलपुर कोदो बारीले गाउँलाई आकर्षक बनाएको छ । केही भूभागमा लगाइएका तरकारीबाहेक सबै बारी ढाकेको देख्दा कोदो पकेट क्षेत्र जस्तै लाग्छ घुम्थाङ । ‘हेर्दा त खुब रमाइलो लाग्छ । फलाउन उस्तै मुस्किल छ,’ ८० वर्ष टेकिसकेकी झाङडोमा शेर्पाले अनुभव पोख्छिन् ।


पुर्खाबाट हस्तान्तरण हुँदै आएको कोदो बालीलाई छोडेर अरू रोप्न कुनै हालतमा मनले नमान्ने उनले बताइन् । ‘छोराछोरी त नरोपौं भन्छन् । मनले मान्दैन, पुख्र्यौली बिँडो थाम्नै पर्‍यो,’ यी वृद्धा सुनाउँछिन् ।

तामाङ सम्प्रदायको कर्मक्रिया र पूजामा कोदोबाट बन्ने मदिरा ‘सगुन’ लाई पवित्र मानिन्छ । तामाङ, शेर्पा जातिको चर्चित सुरापान ‘तुम्बा’ कोदोबाटै बन्छ । यसैबाट बन्ने रोटी, ढिँडोजस्ता विभिन्न परिकारलाई पौष्टिकवद्र्धक मानिएकाले यसलाई छोड्न नसकिएको स्थानीय सुनाउँछन् ।


‘जत्तिसुकै दु:ख होस्, कोदो नरोपी चित्तै बुझ्धदैन,’ ७१ वर्षीय अर्का स्थानीय सुनबहादुर तामाङले भने ।

बगाम तल्लो टोलकी ७९ वर्षकी कान्छी तामाङले पुर्खाबाट कोदो रोप्ने चलन आइरहेकाले त्यसैलाई निरन्तरता दिइरहेकी छन् । ‘कोदोबाट थोरै आयआर्जन हुन्छ, तर अरू काममा नभई नहुने,’ उनले भनिन् ।

तामाङ, शेर्पाका अन्न देवता भुमेको प्रिय बालीमा कोदो पर्ने भएका कारणले पनि यसलाई छोड्न नमान्ने स्थानीयको भनाइ छ ।


बगाम, डाँडागाउँ, तल्लोटोलदेखि पूरा घुम्थाङका गाउँलेले नै कोदो खेती लगाउने गरेको वडाध्यक्ष मीनबहादुुर श्रेष्ठले बताए । ‘पुस्ताको चिनोझैं परम्परा मानेर यहाँको गाउँभर कोदो खेती लगाइन्छ,’ उनले भने । यहाँको प्रत्येक गाउँमा विभिन्न देवीदेवताको पूजा र पौस्टिक हिसाबले गहकिलो अन्न मान्दै कोदो खेती गरिने श्रेष्ठले जानकारी दिए ।


कोदोको व्यावसायिक खेती भने छैन । ‘अधिकांश लेकाली भेगमा बसेका तामाङ, शेर्पा समुदायकाले कोदोलाई परम्परा धान्न भनेर उब्जनी गरेको पाइयो,’ जिल्लाभरको अनुगमन अनुभव बटुलेका तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत दुर्गादत्त पाण्डेले भने ।


गत वर्ष १५ हजार ४ सय १० हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेकोमा यस वर्ष १४ हजार ६ सय ४० हेक्टर क्षेत्रफलमा कोदो लगाइएको छ । कार्यालयको तथ्यांकअनुसार यो वर्ष १३ हजार ९ सय ८ मेट्रिक टन मात्रै उत्पादन भएको छ ।

प्रकाशित : कार्तिक २९, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?