कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विद्युतीय सवारी उद्योगग्राम खोल्न चीन तयार

कान्तिपुर संवाददाता

हेटौंडा — चीनको निजी क्षेत्रको एक कम्पनीले नेपालमा विद्युतीय सवारी साधन उत्पादन उद्योगग्राम स्थापनाका लागि जग्गा खोजेको छ । यसका लागि चिनियाँ टोलीले प्रदेश ३ सरकारसँग मकवानपुरको मनहरीस्थित उकास जग्गा उपलब्ध गराइदिन आग्रह गरेको छ ।

चिनियाँ टोलीले स्थलगत अध्ययन गरी उक्त क्षेत्रको जग्गा मागेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । ‘विद्युतीय सवारी साधन उत्पादन गर्नका लागि उनीहरूले १२ हजार रोपनी जग्गा मागेका थिए,’ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘मनहरी गाउँपालिकामा खाली रहेको ८ हजार रोपनी जग्गा उपलब्ध गराउने उनीहरूलाई जानकारी दिइसकेका छौं ।’


मनहरी गाउँपालिकाको ६, ७, ८ र ९ वडामा पर्ने उक्त जमिनको चिनियाँ टोलीले दुई पटक अवलोकन गरिसकेको छ । मुख्यमन्त्री पौडेलका अनुसार राप्तीखोलामा तटबन्ध बाँध्नेबित्तिकै ८ हजार रोपनी जग्गा सुरक्षित हुन्छ । उक्त जग्गा राप्ती खोलाले बगर बनाएको हो ।


चिनियाँ कम्पनीले प्रदेश ३ सरकारसँग लिखित रूपमा कुनै पत्राचार नगरे पनि अनौपचारिक ढंगले पटक–पटक उद्योग स्थापना गर्नेबारे कुराकानी भएको मुख्यमन्त्री कार्यालयका एक अधिकृतले बताए ।


‘चिनियाँहरू मकवानपुरको मनहरीमा उद्योग खोल्ने तयारीमा छन्,’ उनले भने । उनका अनुसार चिनियाँले विद्युतीय सवारी साधनको मात्र सयवटाभन्दा बढी उद्योग खोल्ने रुचि देखाएका छन् । पछिल्लो पटक एक महिनाअघि उनीहरूले जग्गा अवलोकन गरेका थिए । ‘तीन महिनाभित्र विस्तृत जानकारी दिने भनेका छन्,’ मुख्यमन्त्री पौडेलले भने, ‘उनीहरूको सर्त के हो, कसरी काम गर्छन्, संघीय र प्रदेश सरकारले के–के गरिदिनुपर्ने हो, सबै कुरा उनीहरूसँग लिखित रूपमा माग गरेका छौं ।’


यसबारे नेकपाका नेता र संघीय सरकारका जिम्मेवार मन्त्रीहरूलाई मौखिक रूपमा जानकारी गराइसकेको पौडेलले बताए । उनका अनुसार चिनियाँ प्रस्तावमा संघीय मन्त्रीहरू पनि सकारात्मक छन् ।



प्रधानमन्त्रीद्वारा थप सहयोगको आग्रह

काठमाडौं (कास)– प्रधानमन्त्री केपी ओलीले समृद्धिको बाटोमा हिँड्नका लागि नेपाललाई थप सहयोग गर्न चिनियाँ मन्त्रीसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङसँग बुधबारको भेटमा प्रधानमन्त्री ओलीले विकासमा थप सहयोगको आग्रह गरेका हुन् ।


‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरूबाट सहयोग अपेक्षा गरिएको छ । त्यसमा पनि नजिकका छिमेकीहरूबाट थप सहयोगको अपेक्षा गरेका छौं,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै उनका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने ।


नेपाल र चीनबीच सदीयौंको सम्बन्ध रहेको उल्लेख गर्दै ओलीले भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक रहेको बताए । चिनियाँ मन्त्री सुगाङले भूकम्पपछिको पुनर्निर्माणका क्रममा रहेका संरचनाको मौलिकपनलाई कायम राख्न सुझाव दिएका छन् ।


नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक पुर्‍याउने चीनको तयारी रहेको जानकारी पनि चिनियाँ मन्त्रीले प्रधानमन्त्री ओलीलाई दिए ।

प्रकाशित : कार्तिक २९, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?