कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

‘परिमो’ मा ठडिन्छ घर

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — घर बनाउँदा सबैभन्दा पहिले आर्थिक जोहो गरिन्छ । त्यसपछि निर्माण सामग्री र मिस्त्री–मजदुरको खोजी सुरु हुन्छ । बाँफिकोटको वडगाउँमा भने यस्को टन्टै हुन्न । गाउँले मिलिजुली घर बनाइदिन्छन् । यसलाई स्थानीय भाषामा परिमो भनिन्छ ।

वडगाउँमा कसैले घर बनाउने योजना सुनाउनेबित्तिकै गाउँले जुटिहाल्छन् । कसैले मिस्त्रीको काम गर्छन् त कसैले मजदुरको । घरधनीले कसैलाई ज्याला दिनै पर्दैन । ‘घर निर्माणमा सहयोग गर्ने यो पुरानो चलन अहिले पनि चलिरहेको छ,’ स्थानीय समाजसेवी दक्ष पुनले भने, ‘यसले सबैलाई फाइदा गरेको छ ।’ आपसमा सहकार्यको भावनालाई बलियो बनाएको उनले बताए ।


वडगाउँमा करिब सय घर छन् । कसैले घर बनाउन थाले हरेक घरका एक व्यक्ति सहयोगमा जाने गर्छन् । यसले न्यून लगानी र छरितो गरी घर ठडिने गरेको स्थानीय बताउँछन् । सुकराम देवकोटाका अनुसार एउटा घर बनाउन चारदेखि सात दिनसम्म लाग्ने गरेको छ । तीनतले घर बनाउन पर्‍यो भने एक महिनामा सबै काम फत्ते हुन्छ । ‘काठ, ढुंगा ओसार्ने र गारो लगाउने काममा एक रुपैयाँ खर्च हुँदैन,’ उनले भने, ‘खरिद गर्नैपर्ने सामान र दक्ष मिस्त्रीको मात्रै ज्याला तिर्नुपर्छ ।’


गाउँका दक्ष कामदारले पनि चार–पाँच दिनसम्म बिनाज्याला सहयोग गर्छन् । दुई दशकदेखि डकर्मीको काम गर्दै आएका ६९ वर्षीय कलु चन्दले वडगाउँमा पछिल्लो समय ठडिएका सबै घरमा आफ्नो सीप खर्चिएका छन् । ‘हाम्रो गाउँमा यो आजको चलन होइन, हामीले थाहा पाउँदादेखि नै थियो,’ उनले भने, ‘राम्रो चलनलाई अघि बढाउन पाउँदा खुसी लाग्छ ।’

प्रकाशित : कार्तिक २९, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?