कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम : पार्टीनिकट भवनदेखि गुम्बासम्म

सडकमा ६५ प्रतिशत विनियोजन
आश गुरुङ

लमजुङ — स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ४ करोड रुपैयाँ बजेट संघीय सांसद देवप्रसाद गुरुङले विनियोजन गरेका छन् ।

उनले छुट्याएका कार्यक्रममा पार्टी सम्बन्धित भवन निर्माणदेखि गुम्बाको पूर्वाधार निर्माणसम्मका योजना छन् । उनी लमजुङबाट निर्वाचित सांसद हुन् । गुरुङकै संयोजकत्वमा रहेको परामर्श समिति सदस्यहरूको सुझावका आधारमा उनकै अध्यक्षतामा बसेको निर्देशक समिति बैठकले बजेट बाँडफाँट गरेको हो ।


अधिकांश बजेट मोटरबाटो स्तरोन्नति, मर्मत तथा निर्माणमा विनियोजन भए पनि तत्कालीन जनयुद्धका बेला लमजुङको सांस्कृतिक समूह ‘लिपे’ र सहिद ‘दीप’ को नाममा निर्माणाधीन लिपे दीप सहिद स्मृति भवनदेखि बौद्ध गुम्बाको पूर्वाधार निर्माणमा बजेट छ । दूधपोखरी गाउँपालिका २, बिचौरमा निर्माणाधीन स्मृति भवनमा १९ लाख विनियोजन गरेको छ ।


तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको बजेटबाट निर्माणाधीन उक्त भवन निर्माण अहिले अलपत्र छ । स्रोतका अनुसार उक्त भवनको प्रयोजन पछि पार्टी कार्यालयसमेत हुनेछ । यस्तै, मध्यनेपाल नगरपालिका १० नेटास्थित हेसे हाइतोङ बौद्ध गुम्बाको पूर्वाधार निर्माणका लागि १० लाख विनियोजन गरिएको छ ।


सांसद गुरुङका स्वकीय सचिव, नेकपा नेता कार्यकर्तालगायतले सामाजिक सञ्जालमार्फत विनियोजित बजेट र कार्यक्रम सार्वजनिक गरेका छन् । आफ्नो गाउँमा बजेट किन पारिएन ? भनेर सामाजिक सञ्जालमा स्थानीयले गुनासो र प्रतिक्रिया पोखिरहेका छन् । सांसद गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार राष्ट्रिय सभा सदस्य दीपा गुरुङ सम्मिलित बजेट बाँडफाँट निर्देशक समितिको बैठकले सडक निर्माणमा कुल बजेटको ६५ दशमलव ७५५ प्रतिशत अर्थात २ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


जिल्लास्तरीय खेलमैदान निर्माणका लागि ७ दशमलव २५५ प्रतिशत अर्थात २९ लाख, स्वास्थ्यचौकी, विद्यालय कम्पाउन्ड, आमा समूह भवनलगायत भौतिक पूर्वाधारमा २६ प्रतिशत अर्थात १ करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटको १५ प्रतिशत अर्थात ४ लाख रुपैयाँ बजेट प्रशासनिक खर्चमा राखिएको छ ।


४ गाउँपालिका तथा ४ नगरपालिकामा लगभग बराबरी बजेट विनियोजन गरिएको छ । स्थानीय तहमा एकदेखि ४ वटासम्म योजना छानिएका छन् । बेंसीसहर नगरपालिकाबाहेक ७ स्थानीय तहमा एकदेखि २ वटासम्म सडकका योजना छन् । कुल २० योजना छनोट गरिएकोमा ९ सडकका छन् ।


सडकमा सबैभन्दा बढी क्व्होलासोंथर गाउँपालिकामा बाग्लुङपानी–भुजुङ सडक र सुन्दरबजार नगरपालिकाको सुन्दरबजार–खत्रीठाँटी–हाँडेटार–कुन्छा हुँदै सिरपानी सडक स्तरोन्नतिका लागि ५०/५० लाख, राइनास नगरपालिकामा कालिरह (चेपेसाँघु)–गरमबेंसी (जिम्मल चौतारा)–धमिलिकुवा हुँदै बोराङखोला सडक स्तरोन्नतिमा ४९ लाख विनियोजन गरिएको छ । यी तीनवटा स्थानीय तहमा १/१ योजनामा मात्रै विनियोजन गरिएको छ ।


सबैभन्दा बढी ४/४ योजना छानिएका बेंसीसहर नगरपालिकामा जनचेतना आमा समूह भवनलाई १० लाख, अन्नपूर्ण खेलमैदानलाई १४ लाख, जनजागृति मावि बाँझाखेत खासुरबेंसीको कम्पाउन्ड निर्माणमा १५ लाख र बेंसीसहरस्थित शान्तिटोल तमु समाज भवन निर्माणमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।


सांसद गुरुङले सबै योजनाको छनोट र बजेट बाँडफाँट कार्यविधिअनुसार गरिएको बताए । ‘यो बजेट विगतको जस्तो होइन । कार्यविधि शीर्षकमै स्थानीय पूर्वाधार केन्द्रित छ । पालिकाले प्राथमिकताका साथ छनोट गरेको र बजेट अभावमा काम हुन नसकेका योजना छनोटमा परेका छन् । परामर्श समिति सदस्यहरूको छनोटमा परेका योजना निर्देशक समितिले पनि निर्णय गरेको छ,’ उनले भने ।


उनले स्थानीय आवश्यकताअनुसार सबैभन्दा बढी बजेट सडकमै परेको बताए । उनको संयोजकत्वमा गत कात्तिक १५ गते बसेको परामर्श समिति बैठकमा बजेट र योजना टुंग्याएको समिति सदस्यसचिव एवं जिसस स्थानीय समन्वय अधिकारी अन्तरबहादुर सिलवालले बताए ।


उनका अनुसार संघीय सांसद गुरुङकै संयोजकत्वमा रहने निर्देशक समिति बैठकले समिति सदस्य एवं राष्ट्रिय सभा सदस्य दीपाको उपस्थितिमा निर्णय गरिएको हो ।

प्रकाशित : कार्तिक २९, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?