१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बकपत्रअघि साक्षीको हत्या

श्यामसुन्दर शशि

जनकपुर — महिलाको शंकास्पद मृत्यु प्रकरणमा बकपत्र दिने तयारीमा रहेका साक्षीको अघिल्लै रात हत्या भएको छ । विदेह नगरपालिका ५, मुडिवाका ६५ वर्षीय मांगैन ठाकुरको बिहीबार शव भेटिएको हो । 

बकपत्रअघि साक्षीको हत्या

उनी बिहीबार जिल्ला अदालत धनुषामा बकपत्र गर्न जाने योजनामा थिए । छोरा प्रदीपका अनुसार मांगैन बुधबार साँझ साढे ६ बजे खाना खाएर घुम्न निस्केका थिए । परिवारले रातभर खोजतलास गर्दा पनि उनी भेटिएनन् ।


बिहीबार बिहान घरबाट दक्षिणतर्फ स्कुल अगाडिको खाल्टोमा परालले छोपिएको अवस्थामा शव फेला पर्‍यो । उनको घाँटी, अनुहार र आँखामा गहिरो चोट छ । मुद्दाको साक्षी प्रमाण नष्ट गर्न उनको हत्या भएको परिवारले दाबी गरेको छ । प्रदीपले भने, ‘वास्तविकता प्रहरी अनुसन्धानबाट खुल्नेछ । तर बकपत्र गर्न आउनुपूर्व मेरो पिताको हत्या भयो । यो शंकाको विषय हो कि होइन ?’


वडाध्यक्ष विजय यादवले पनि मांगैनको हत्या भएको दाबी गरे । उनले भने, ‘अनुहारमा धारिलो हतियारले काटेको निसान छ । पोस्टमार्टमपछि वास्तविकता थाहा हुन्छ ।’ सोही स्थानकी मोहनी देवीको १४ महिनाअघि मृत्यु भएको थियो । पति लक्ष्मी मण्डलले उनको हत्या भएको दाबी गर्दै भाइ रामबहादुर मण्डल, भाइबुहारीहरू तेतरी भन्ने अमिरकला, इन्दिरा तथा मनतोरियाविरुद्ध किटानी जाहेरी दिएका थिए । आरोपीलाई जिल्ला अदालतले तारेखमा छोडेको छ ।


बकपत्र गर्न बिहीबार ठाकुरसहित १३ जना अदालत जान लागेका थिए । ‘मांगैन साँचो बोल्ने र सत्यका पक्षमा उभिने व्यक्ति थिए तर जनकपुर आउने पूर्वसन्ध्यामै हत्या गरियो,’ लक्ष्मी मण्डलले भने ।


विदेहका मेयर बेचन दासका भाइ लाखनदास मुद्दाको अनुसन्धान प्रभावित गर्न सक्रिय रहेको गाउँलेको आरोप छ । उनी आरोपीहरूको निकट सम्पर्कमा रहेको स्थानीयले दाबी गरेका छन् ।


धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले घटनाको अनुसन्धान भइरहेको बताए । शवको पोस्टमार्टम र अनुसन्धानपछि मात्र केही भन्न सकिने उनको भनाइ छ । बकपत्र गर्न बिहीबार जिल्ला अदालतमा चार जना मात्रै हाजिर भएका छन् । राकेश मण्डल, ललित मण्डल, रामदेव मण्डल र विमल विराजी अदालत गएको लक्ष्मीले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?