१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मोटर भेट्न ६ दिन

भीमबहादुर सिंह

जाजरकोट — डोल्पाको कराङ र तिलिङ गाउँका बासिन्दालाई मोटर चढ्न ६ दिन पैदल हिँड्नुपर्छ । छिमेकी जिल्ला जाजरकोटको सदरमुकाम पुग्न ८ दिन, संघीय राजधानी काठमाडौं पुग्न १० दिन ।

मोटर भेट्न ६ दिन

जाजरकोट–डोल्पा सडकको खलंगादेखि दुनैसम्मको १ सय १८ किलोमिटर ट्रयाक हालै खुले पनि दर्जनौं पुल निर्माण नहुँदा डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन ।


भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहालाई चीनसँग सीमा जोडिएको डोल्पाको धो भोटसँग जोड्ने गरी निर्माणाधीन चार सय किलोमिटर लामो भेरी करिडोरअन्तर्गत पर्छ जाजरकोट–डोल्पा सडक खण्ड । सरकारले यो सडक निर्माणमा प्राथमिकता नदिँदा डोल्पाका विकट बस्तीका बासिन्दा यातायात पहुँचबाहिर रहन बाध्य छन् ।


डोल्पाको से–फोक्सुन्डो गाउँपालिका–२, तिलिङका रिङजिङ दोर्जेले ६ दिन हिँडेपछि मोटर चढ्न पाएको बताए । तिलिङका १० जना बालबालिकालाई लिएर हिँडेका उनले डोल्पाकै खदाङ पुगेपछि मोटर भेटे । उनी बालबालिकालाई लामा शिक्षा अध्ययनका लागि काठमाडौंको फर्पिङस्थित गुम्बामा पुर्‍याउन हिँडेका हुन् । उनीसँग ६ वर्षदेखि १३ वर्षसम्मका बालबालिका छन् । रुकुमको राडीबजारबाट काठमाडौं जाने बस चढेर आएका उनले काठमाडांै पुग्न अझै दुई दिन लाग्ने बताए ।


‘यातायात सुविधा नहुँदा कराङ, तिलिङ, छार्का भोट, सिमेन भोट, धोलगायत दर्जनौं बस्तीका बासिन्दाको जनजीवन कष्टकर छ,’ उनले भने, ‘न उत्पादन छ न विकास ।’


खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री जोहो गर्न ५/७ दिन पैदल हिँडेर सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता रहेको उनले बताए । यातायात पहुँच नहुँदा दुर्गम बस्तीका बासिन्दा महँगीको मार खेप्न बाध्य छन् । आयोडिनयुक्त नुन प्रतिकिलोको १५० र मोटो चामल ४५० रुपैयाँ प्रतिकिलोमा किनेर स्थानीयले गुजारा चलाउने गरेका छन् ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?