२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

एमबीबीएस अध्ययन डाक्टर पढ्न खर्च पुगेन

ठाकुरसिंह थारू

नेपालगन्ज — प्रतिमा शर्माको त्यतिबेला खुसीको सीमा रहेन, जतिबेला चिकित्साशास्त्र (एमबीबीएस) अध्ययनका लागि महिला आरक्षण कोटामा १ नम्बरमा नाम प्रकाशित भयो । भर्ना, होस्टल बसाइ र खानाको शुल्क सुनेपछि उनी जिल्ल परिन् ।

सरकारी कोटामा नाम निस्केपछि भर्नाका लागि सुरुमा २ लाख, त्यसपछि फेरि २ लाख रुपैयाँ बुझाउनुपर्ने । किताब, कपी र ड्रेस शुल्क भिन्दै पर्छ ।

बुवा मदनप्रसाद ढुंगानाको टाउकाको शल्यक्रिया गरिएको छ । उनी काम गर्न सक्ने अवस्थाका छैनन् । आमा सीतादेवी पानी कम्पनीमा काम गर्छिन् । फुसको घर छ । त्यो पनि गत वर्ष बर्खामा भत्कियो । घरसँगै २ कट्ठा जमिन छ ।

परिवारको कमजोर आर्थिक अवस्थाले प्रतिमाको डाक्टर बन्ने सपनामा बाधा पुग्यो । खजुरा गाउँपालिका ४, ‘डी’ गाउँकी १७ वर्षीया प्रतिमाले भने जसरी पनि डाक्टर बनेरै छाडने सपना बोकेकी छन् । त्यसका लागि उनले २ लाख रुपैयाँ ऋण खोजिन् । गाउँमै सहयोगको याचना गरिन् ।

‘महिला कोटाबाट १ नम्बरमा नाम निकाल्न सफल हुँदा निकै खुसी लागेको छ । तर, आर्थिक अवस्था कमजोर भएकाले दु:खी छु,’ उनले कान्तिपुरसँग भनिन्, ‘सरकारी कोटामा पढ्न पाए पनि भर्ना शुल्कचाहिँ तिर्नुपर्नेछ । होस्टल बसाइ र खाना व्यवस्था गर्नुपर्नेछ ।’ ५ वर्षसम्म एमबीबीएस पढदा कम्तीमा १५ लाख खर्च हुने अनुमान छ । तर, बुबाआमाको १ रुपैयाँ खर्च गर्न सक्ने अवस्था छैन ।

उनलाई पढ्न आर्थिक अभाव भएपछि सहयोग गर्न वडाध्यक्ष तिलकवीर सुनार अघि सरे । आफैं ५० हजार रुपैयाँ आर्थिक सहयोग गरे । थप सहयोग जुटाउन गाउँपालिकामा अभियानै चलाएका छन् । ‘प्रतिमाको आर्थिक अवस्था निकै कमजोर छ । उनको डाक्टर बन्ने सपना छ,’ वडाध्यक्ष सुनारले भने, ‘आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि पढाइबाट वञ्चित हुनुभएन । त्यसैले उनको पढाइका लागि आर्थिक संकलन अभियान थालेका छौं ।’

उनका अनुसार विभिन्न मनकारीले करिब २ लाख रुपैयाँ सहयोग गरेका छन् । ‘आर्थिक संकलन हुने क्रम जारी छ,’ उनले भने, ‘हाम्रो थोरै सहयोगले गाउँकी एक किशोरीको डाक्टर बन्ने सपना पूरा हुनेछ ।’ अर्को आर्थिक वर्षमा स्थानीय विद्यार्थीको पढाइका लागि बजेट व्यवस्था गर्ने वडाध्यक्ष सुनारले बताए । ‘प्रतिमाजस्तै प्रतिभावान् किशोर–किशोरीका लागि पढाइको व्यवस्था गाउँपालिकाले गर्नुपर्ने उनको तर्क छ ।

प्रतिमाले स्थानीय ज्ञानोदय उच्च मावि, खजुराबाट एसईई पास गरेकी हुन् । उनले शिक्षण अस्पताल महराजगन्जबाट डाक्टर पढ्नका लागि आवेदन दिएकी थिइन् । महिला आरक्षित कोटामा प्रतिस्पर्धा गरेका १५ हजारमध्ये १ नम्बरमा नाम निकाल्न उनी सफल भएकी हुन् । ‘सबैको सहयोग रहे मेरो डाक्टर बन्ने सपना अवश्य पूरा हुनेछ,’ प्रतिमाको आशा छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?