१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

विदेशीलाई नेपाली नागरिकता

झुटो विवरण बनाई भारतीयलाई नागरिकताको प्रमाणपत्र दिएको खुलासा
डिल्लीराम खतिवडा

उदयपुर — झुटो विवरण पेस गरेर त्रियुगा नगरपालिका १० बोक्से बस्ने एक भारतीय महिलाले नेपाली नागरिकता लिएकी छन् । भारतीय नागरिकसँग विवाह गरेकी दिल मोहमदकी ३१ वर्षीया छोरी लजिना खातुनले नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुलासा भएको हो ।

भारत मधुवनी, लौकाहा थाना, एकासी मझौरा बस्ने नसरुल मियाँकी श्रीमती लजिनालाई त्रियुगा १० का अध्यक्ष प्रकाशकुमार खड्काको सिफारिसमा नागरिकता दिइएको छ । उनलाई अविवाहित भन्दै वडाले सिफारिस गरेको थियो । संविधानअनुसार नेपाली महिला विदेशी नागरिकसँग विवाह गरेपछि स्वत: विदेशी हुने व्यवस्था छ । अविवाहित भनिएकी लजिनाका दुई सन्तान छन् ।


०५६ सालमा पहिलो र ०६८ मा दोस्रो विवाह गरेकी लजिनालाई जिल्ला प्रशासन उदयपुरले ०७४ मंसिर १८ गते ०५२३० नम्बरको नागरिकता प्रदान गरेको हो । ०४४ वैशाख १५ गते जन्म भई अविवाहित भएको भनी वडाको ०७४ मंसिर १३ गतेको सिफारिसका आधारमा प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले नागरिकता जारी गरेका छन् ।


प्रतिनिधि र प्रदेशसभा निर्वाचन तयारीमा रहेका बेला जिल्ला प्रशासनको सेटिङमा विदेशीलाई नागरिकता दिलाएको हुन सक्ने प्रशासन स्रोत बताउँछ । गाईघाट बोक्सेस्थित ससुरालीमै बस्दै आएका नसरुल मियाँ भारतीय नै भएको ससुरा दिल मोहमदले बताए ।


‘छोरीको नागरिकता बनाइदिएको हो,’ दिल मोहमदले भने, ‘ज्वाइँको नागरिकता त बनाएको होइन नि ।’ निर्माण व्यवसाय गर्दै आएका दिल मोहमदले वडाको सिफारिस, प्रहरी सर्जमिन मुचुल्का र अविवाहित सिफारिस राखेर छोरीको नागरिकता बनाइदिएको बताए ।


दुई पुस्तादेखि बोक्सेमा बस्दै आएका दिल मोहमद आफ्नी अपांग छोरीको नागरिकता सिफारिस माग्न आएपछि स्थानीय, छरछिमेकको सर्जमिन गरेर नागरिकताको सिफारिस गरिदिएको वडाध्यक्ष

खड्काले बताए । ‘दिल मोहमद छोरीको नागरिकता बनाउनु पर्‍यो भन्दै आएपछि स्थानीय छरछिमेकको सर्जमिन गरेर सिफारिस गरियो,’ खड्काले भने, ‘उदयपुरको पुरानो सदरमुकाम पञ्चावती हुँदैदेखि दिल मोहमदका बावु/बाजे बस्दै आएको र पछि बोक्से आएर बसेको र लजिना अपांग भएकाले सँगै बस्दै आएकाले नागरिकता सिफारिस गरियो ।’


दिल मोहमदले लजिना अविवाहित भएको र अपांग भएकाले नागरिकता भए सामाजिक सुरक्षा भत्ता पाउने भन्दै झुटो विवरण पेस गरेर सिफारिस लिएको उनको दाबी छ ।


झुटो विवरण पेस गरेर नागरिकता लिएको भन्ने जानकारी प्राप्तपछि रद्द प्रक्रियाका लागि दिल मोहमद र लजिनाको नागरिकता जिल्ला प्रशासनमा पठाएको वडाध्यक्ष खड्काले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?