टेलिएजुकेसनको भवन ४ महिनामै चुहियो

लाखौंका उपकरण क्षति
१ करोड २० लाख रुपैयाँ लगानीको भवन गत असारमा उद्घाटन गरिएको थियो
सुदीप कैनी

काठमाडौँ — नवनिर्मित भवनकै छानो चुहिँदा मावि तहको टेलिभिजन कार्यक्रम उत्पादनमा प्रयुक्त लाखौं रुपैयाँका उपकरणमा क्षति पुगेको छ । शैक्षिक जनशक्ति विकास केन्द्रले निर्माण गरेको टेलिएजुकेसन सेन्टरको भवन चुहिएको हो । 

कोठा खोलेर हेर्दा कार्यक्रम उत्पादन, रेकर्ड, मिक्सिङ, इडिटिङ गर्ने उपकरणसहित क्यामेरा र कम्प्युटर बिग्रिएको पाइएको कर्मचारीले बताए । केन्द्र र ठेकेदारको लापरबाहीले भवन गुणस्तरहीन बनेको उनीहरूको आरोप छ । भवन १ करोड २० लाख लागतमा भक्तपुरको सानोठिमीमा बनाइएको छ । ‘कार्पेटसमेत भिजेर काम नलाग्ने भएको छ,’ एक कर्मचारीले भने, ‘सबै सामग्री कोठाभित्र राखेर बन्द गरेका थियौं, भिजेर काम नलाग्ने भएछ, अहिले पो थाहा पायौं ।’


निसान पलाञ्चोक जेभीले दुई वर्ष लगाएर यो भवन निर्माण गरेको हो । सहसचिव सूर्यप्रसाद गौतम प्रमुख हुँदा ठेक्का लागेको थियो । ठेकेदार कम्पनीले कबुल मूल्यभन्दा ३३ प्रतिशत घटीमा सम्झौता गरेको थियो ।


भवन निर्माण सम्पन्न हुँदा सहसचिव देवकुमारी गुरागाईं केन्द्रप्रमुख थिइन् । यी दुवै सहसचिव हाल शिक्षा मन्त्रालयमा कार्यरत छन् । भवन कमसल बनेको गुनासो गर्दा समेत केन्द्रका प्रमुखले ठेकेदारलाई कारबाही गर्न चासो नदिएको कर्मचारी बताउँछन् ।


असारमा शिक्षासचिव खगराज बरालले भवन उद्घाटन गरेका थिए । उद्घाटनकै क्रममा कोठा ओसिलो देखेर सचिवले चासो व्यक्त गरेका थिए । उनलाई कोठामा झ्याल नभएका कारण बाफिएर ओसिलो भएको बिफ्रिङ गरिएको थियो । उद्घाटनपछि झनै पानी चुहिएको कर्मचारीको भनाइ छ ।


पानीकै कारण कोठामा विद्युत् सट भएर आगोसमेत लागेको थियो । केन्द्रकी पूर्वप्रमुख गुरागाईंले पनि झ्याल नभएका कारण बाफिएर अलिअलि ओसिलो भएको दाबी गरिन् । ‘पानी चुहिएको हैन, क्रमागत योजना हो, तला थपिनै छ,’ उनले भनिन् ।


हाल शैक्षिक जनशक्ति विकास केन्द्रलाई शिक्षा विकास तथा मानव स्रोत केन्द्र (शिक्षा विभाग) मा गाभिएको छ । भवन निर्माणमा संलग्न कर्मचारी सरुवा भइसकेका छन् । सामग्रीमा क्षति पुगेपछि नियमित कार्यक्रमअनुसार केन्द्रको श्रव्यदृव्य शाखाले कक्षा ९ को कार्यक्रम उत्पादन गर्न सकेको छैन । यस वर्ष कक्षा ९ को कार्यक्रम उत्पादन गरेर प्रसारणमा जाने कार्यक्रम छ । अघिल्ला वर्ष कक्षा १० का विद्यार्थीका लागि उत्पादित कार्यक्रम नेपाल टेलिभिजन प्लसबाट प्रसारण भइरहेको छ । शाखाका अनुसार उपकरण बिग्रेका कारण कक्षा १० को पुनरुत्पादन गर्नुपर्ने ४२ पाठ रेकर्ड हुन सकेका छैनन् ।


के हो टेलिएजुकेसन सेन्टर ?

२०७२ को भूकम्पले विद्यालयमा पढाइ प्रभावित भएपछि शिक्षा मन्त्रालयले इन्टरनेट मद्दतमा भर्चुअल कक्षा सञ्चालन गर्न थाल्यो । उपत्यकाबाहेक अति प्रभावित ११ जिल्लाका एक सय विद्यालयमा पहिलो चरणमा यस्तो कक्षा चलाइयो ।


एसईई तयारी गरिरहेका विद्यार्थीलाई शिक्षकहरूले टेलिभिजनका माध्यमबाट पढाउन थाले । विद्यार्थीले घरैमा वा विद्यालय गएर यस्तो कक्षा लिन पाए । दोस्रो वर्ष ६५ विद्यालय थप गरेर भर्चुअल कक्षा ३१ जिल्लामा विस्तार गरियो ।


रेडियो नेपालबाट यसअघि पनि श्रव्य (रेडियो) कार्यक्रम सञ्चालित थियो । भूकम्पपछि दृश्य (टेलिभिजन) कार्यक्रम विस्तार गरियो । गत असारबाट देशभरका विद्यार्थीले शिक्षकले पढाएको प्रत्यक्ष हेर्न सक्ने गरी टेलिएजुकेसन सेन्टर विस्तार भएको हो । शाखाका प्रमुख माधवप्रसाद दाहालका अनुसार भर्चुअल कक्षाको प्रभावकारिता देखेपछि टेलिभिजनसँग सम्झौता गरेर मुलुकभर कार्यक्रम विस्तार गरिएको छ ।


कक्षा १० का अनिवार्य ६ वटा विषयका प्रत्येक पाठ विषयशिक्षकले सेन्टरमा रेकर्ड गराउँछन् । विषयविज्ञ शिक्षकले कक्षाकोठामा जस्तै गरी पढाएको श्रव्यदृश्य सामग्री प्रसारण गरिन्छ । हरेक दिउँसो ११ देखि १ बजेसम्म कार्यक्रम प्रसारण गरिने दाहालले जनाए । टेलिभिजनबाट ६ विषयका ४ सय पाठ पढाइन्छ ।

‘विषयशिक्षक भएका दुर्गमका विद्यालयमा यस्तो कक्षा प्रभावकारी भएको छ,’ उनले भने, ‘टेलिभिजनमा पढाएको नबुझे विद्यार्थीले शिक्षकसँग सोध्न सक्छन् ।’ शिक्षकहरूलाई पनि पढाउने तरिका सिकाउने उद्देश्यले कार्यक्रम विस्तार गरिएको उनले जानकारी दिए । ‘विद्यालयमा शिक्षक चाहिँदैन, पढाउनु पर्दैन भन्ने होइन,’ उनले भने, ‘यस्तो कार्यक्रम चलाउन सबैभन्दा विज्ञ शिक्षक छनोट गरेका छौं, विद्यार्थी र शिक्षकले पनि सहायता लिन सक्छन् ।’ सामग्री मर्मतसम्भार गरेर आगामी वर्षदेखि कक्षा ९ का विद्यार्थीका लागि कक्षा चलाउने तयारी गरिएको शाखाले जनाएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?