१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ठडिँदै भत्किएका विद्यालय

पूर्वाधार बनेपछि विद्यार्थी संख्या पनि बढ्यो
अनिश तिवारी

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका तालामाराङ छेउकै लेकाली डाँडामा पुगेपछि एउटा भव्य महल देखिन्छ । रंगीन सानदार देखिने महलमा टाँगिएको ‘बोर्ड’ पढेपछि मात्रै विद्यालय भन्ने थाहा हुन्छ ।

ठडिँदै भत्किएका विद्यालय

भूकम्पको दुई वर्षसम्म पाल टहरामा चलाइएको कोल्देचौर आधारभूत विद्यालयको भव्य भवन बनेपछि बालबालिका खुसी छन् ।


‘लेकको सुनसान डाँडा, दिक्क लाग्थ्यो देखेर, यसरी विद्यालय बन्छ भनेर सपनामा पनि चिताइएको थिएन,’ प्रधानाध्यापक भीमसेन थापाले भने । ४८ बालबालिका पढाइरहेको कोल्देचौर महलमा परिणत भएपछि बालबालिकाको विद्यालय पनि नियमित भएको छ ।


‘पालमा कम्ती कष्ट झेलिएन, अब दु:खका दिन गए,’ सिर्जना आधारभूत विद्यालयकी प्रअ दुर्गा दंगालले भनिन्, ‘बल्ल आनन्दको श्वास फेर्न पाइयो ।’ स्थानीयले दिएको टीएलसीमा चलिरहेको विद्यालय अहिले भूकम्पप्रतिरोधी भवनमा सुचारु छ । ‘घना जंगलको बीच भएकाले टहरामा जंगली जनावरको डर उत्तिकै हुन्थ्यो,’ उनले भनिन्, ‘अबचाहिँ सुरक्षित अनुभूति गरेका छौं ।’


हेलम्बुको माथिल्लो गाउँको महेन्द्र माविको ढाट महलभन्दा कम छैन । टाढैबाट नजर तान्ने इन्द्रावती गाउँपालिका भीमटार दनुवार बस्तीको विद्यालय भीमेश्वरी माविको भवन देखेपछि जोकोही लोभिन्छन् र नजिक पुग्छन् । सुविधासहितको विद्यालय बनेपछि बालबालिका आकर्षित भएको प्रअ कृष्णप्रसाद श्रेष्ठले बताए । भवनकै कारण बालबालिकाको संख्या ७ सय पुगिसकेको उनले जनाए ।


महांकाल, तालामाराङ, दुवाचौर, पाल्चोकजस्ता लेकाली दुर्गम भेगमात्रै होइन । भूकम्प गएको चार वर्षपछि तीन नगरदेखि नौ गाउँपालिकाको गाउँगाउँमा राम्रा भवन धमाधम ठडिँदैछन् । सुगमभन्दा दुर्गम गाउँमा करोडौंको लागतमा भव्य भवन बनेका हुन् ।


जिल्लाभर भत्केका ५ सय २८ मा झन्डै चार सय विद्यालयको सुविधासम्पन्न भवन बनेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले जनाएको छ । भूकम्पले जिल्लाभरको ३ हजार ६ सय २० कोठा काम नलाग्ने गरी भत्काएको थियो । ‘दुई सय विद्यालय विभिन्न संघसंस्थाले बनाए, अरू सरकारी तवरले बनेका हुन्,’ जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख कृष्णप्रसाद सुवेदीले भने ।


अपुग कक्षाकोठा थपिने

जिल्लाभर बनेका केही नवनिर्मित विद्यालयमा कक्षाकोठा र शौचालय अभाव समाधान तत्कालै गरिने इकाईले जनाएको छ । ‘सुविधाजनक भवन ठडिए पनि कक्षाकोठा अपुग भएको गुनासा छन्, ’जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख गौरीशंकर पाण्डेले भने । उनले तीन नगरदेखि नौ गाउँपालिकासँग समन्वय गरेर समस्या समाधान गर्न पहलकदमी लिइने बताए ।


‘शिक्षालाई गुणस्तरीय बनाउन विशेष अभियान लिएर अघि बढ्नेछौं,’ उनले भने । उनका अनुसार जिल्लाभरका विद्यालय पुनर्निर्माणसँगै शैक्षिकस्तर उकास्न अभ्यास भइरहेको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?