२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

व्यस्त हुँदै गोदावरी

मोहन बुढाऐर

कैलाली — सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणा भएको गोदावरी नगरपालिकामा बसाइँसराइको चाप बढेको छ । पहाडी जिल्लाबाट तराई झर्नेको पहिलो रोजाइ गोदावरी हुन थालेको छ ।

व्यस्त हुँदै गोदावरी

‘प्रदेश राजधानी घोषणा भएपछि गोदावरीको आकर्षण बढेको छ,’ हालसालै डडेलधुरा देवलदिव्यपुरबाट बसाइँ सरेका दुर्गा पन्तले भने, ‘त्यसैले घरघडेरी किन्न सक्नेजति त्यतै खोज्दै छन् ।’ उनले रोजगारीलगायत अन्य अवसरको सिर्जनाका लागि राजधानी घोषणा भएको आसपासमा बसाइँ सर्न थालेको बताए ।


पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशको दुईवटा तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बसाइँसराइमा वृद्धि भएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले राजधानी घोषणाले गोदावरीमा बसाइँसराइको चापमा अत्यधिक वृद्धि भएको बताए ।


उनले गोदावरीका सबै वडामा बसाइँसराइ दर पछिल्ला ३ महिनामा बढेको बताए । राजधानी आर्कषणले गोदावरीमा बसाइँसराइको चाप बढेको उनको भनाइ छ । उनका अनुसार पहाडबाट झर्नेहरू मात्रै नभएर, कैलाली र कञ्चनपुरका अन्य नगरपालिका र गाउँपालिकाबाट गोदावरीतिर बसाइँ सर्ने, घरघडेरी किन्नेहरूको संख्या बढेको हो ।


राजधानीको चारकिल्ला तोकिएको वडा २ र ४ क्षेत्रमा अझ बढी बसाइँ सरी आउने बढेका हुन् । नगरपालिकाको तथ्यांक शाखाका अनुसार वडा २ मा साउनदेखि कात्तिकसम्म ७६ परिवार संख्यामा वृद्धि भएको छ । वडा ४ मा पनि त्यही हाराहारीमा बसाइँसराइ भएको देखिन्छ । उक्त दुई वडामा पर्ने तेघरी सामुदायिक वनको ३४१ क्षेत्रफलमा राजधानीको चार किल्ला तोकिएको छ ।


गोदावरीको मुख्य बजार तथा सदरमुकाम रहेको वडा १ को अत्तरिया क्षेत्रमा घरघडेरीको मूल्यवृद्धि पनि भएको छ । नगरपालिका अन्य अन्य वडामा एक सयको हाराहारीमै बसाइँसराइ गरी आउनेहरूको जनसंख्यामा वृद्धि भएको छ । हरेक अघिल्ला महिनाको तुलनामा बाहिरबाट बसाइँ सर्नेको संख्यामा वृद्धि भएको नगरपालिका तथ्यांक शाखाका नारायण बडुले जानकारी दिए । बसाइँसराइको वृद्धि दरसँगै नगरपालिकाभित्र विगत ३ महिनायता खेतीयोग्य जमिनको खण्डीकरण तीव्रतर रूपमा बढेको पनि छ ।


नगरपालिकाका अमिन रघुनाथ ओझाले राजधानीको घोषणापछि घरजग्गा कारोबारीको सक्रियता बढेको बताए । ‘उनीहरू घरघरै गएर घरघडेरी र प्लटिङ जमिनको खोजी गर्दै हिंडेका देखिन्छन्,’ उनले भने, ‘पैसा अभाव र खाँचो भएकाले खेतीयोग्य जमिन चलनचल्तीको भन्दा राम्रो मूल्य पाइरहेकाले बिक्री गरिरहेका पनि छन् ।’


उनले यो वर्ष अघिल्लो वर्षको तुलनामा दुई प्रतिशतले घरजग्गाको कारोबार बढेको बताए । उनका अनुसार पछिल्लो समयमा घर निर्माणको नक्सापास गर्नेको संख्या पनि बढेको उनी बताउँछन् । यसले गोदावरी क्षेत्र भौतिक पूर्वाधार निर्माणको हिसाबले तीव्रतर रूपमा सहरीकरण भइरहेको उनी बताउँछन् ।


धनगढी र महेन्द्रनगरका ठूला व्यावसायिक घरानाहरूले समेत उक्त क्षेत्रमा जमिन किनेर राख्न सुरु गरेका छन् । केहीले पूर्वाधार निर्माण समेत गरिसकेका छन् । घरजग्गा कारोबारी गणेश शाहले अहिले गोदावरी क्षेत्र घरजग्गा कारोबारका लागि आकर्षण क्षेत्र भएको बताए ।


उनी घरजग्गा खरिदबिक्री कारोबार पनि शतप्रतिशतमै बढेको बताउँछन् । उनका अनुसार पछिल्लो समयमा गोदावरी क्षेत्रभित्र ५ सय बिघाभन्दा बढी जग्गा प्लटिङ भइरहेको छ । राजधानी काठमाडौं, बुटवललगायतका घरजग्गा कारोबारी कम्पनीले यो क्षेत्रमा प्लटिङ गरिरहेको उनले बताए ।


गोदावरी क्षेत्रको जग्गाको मूल्य चार गुनाले वृद्धि भइरहेको स्थानीय भोजराज जोशी बताउँछन् । उनका अनुसार ३० लाख रुपैयाँ प्रतिकट्टा जमिन अहिले ९० लाख रुपैयाँ पुगेको छ । प्रशासकीय अधिकृत भाटले यही अनुपातमा बसाइँसराइ गरी आउने जनसंख्यामा वृद्धिदर बढ्दै गए नगरपालिकाले थेग्न मुस्किल पर्ने बताए ।


गोदावरी नगरपालिकामा पछिल्लो समय व्यवस्थित, अव्यवस्थित गरी १० हजार जनसंख्या वृद्धि भएको अनुमान भाटको छ । नगरवासी तथा स्थानीय बौद्धिक समाजका वीरेन्द्र जोशीले अव्यवस्थित ढंगले बढ्दै गएको जनसंख्या र सहरीकरणले भविष्यमा चुनौती ल्याउने बताए । ‘त्यसैले नगरपालिकाले अहिल्यै योजनाबद्ध ढंगले बस्ती विकास गर्नुपर्छ,’ उनले भने, ‘खेत, आवासीय, बजार, हाट, उद्योग, स्कुल, राजधानी सबै क्षेत्रका लागि अहिल्यै क्षेत्र छुट्याउनुपर्ने हुन्छ ।’


गोदावरी नगरपालिकाको हालको जनसंख्या ९१ हजार ५ सय ८२ छ । २०६८ को तथ्यांकअनुसार जनघनत्व २५३ वर्गकिलोमिटर छ । नगरपालिकाको कुल क्षेत्रफल ३०८ दशमलव ६ वर्गकिमि छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?