कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम : प्राथमिकतामा सडक

कान्तिपुर संवाददाता

गोरखा — स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गोरखा २ का सांसद बाबुराम भट्टराईले ४ करोडको बजेटमा सडकका योजनालाई प्राथमिकतामा पारेका छन् ।

परामर्श समितिको राय सुझावका आधारमा आयोजना तथा कार्यक्रमहरू बजेटसहित छनोट गरिएको छ ।


‘१० लाखभन्दा कम पैसा राख्न नपाइने र २० लाखभन्दा बढी योजना कटाउन नपाइने प्रावधानअनुसारै योजना छनोट र बजेट बाँडफाँट भएको छ,’ छलफलमा सहभागी नयाँ शक्ति पार्टीका गोरखाका संयोजक ज्ञानेन्द्र कुमालले भने, ‘परामर्श समितिको सुझावका आधारमा वर्षाैंदेखि सडक सञ्जाल नपुगेका ठाउँमा नयाँ ट्रयाक खोल्न पहिलो प्राथमिकता दिइएको छ । सडक, खानेपानी, सिँचाइ, शिक्षा गरी ४ कुरामा प्राथमिकतामा राखेर योजना छनोट भए ।’ योजना छनोटका विषयमा बुधबार गोरखामा भएको छलफलमा प्रदेश सांसद र गाउँपालिका प्रमुखहरूको पनि उपस्थिति थियो ।


सिरानचोक र अजिरकोट गाउँपालिकाको दूधपोखरी मार्गको सिम्ले–केराबारी–नेपाने–भीरसिंह, बुद्घसिंह र बारपाक सुलिकोट गाउँपालिकाको कुलगाउँ पोखरी–स्नान गाउँ मान्द्रे सडक नयाँ ट्रयाक खोल्न ६०/६० लाख रुपैयाँ छुट्याइएको छ ।


गोरखा १२ शिखरडाँडा–नौकिलो स्याउली खानेपानी योजनाका लागि र पालुङटार ३ मा सफा चौतारा–राउते पानी–आँपपीपल अस्पताल सडक स्तरोन्नतिका लागि ३५/३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । गोरखा १३ मजुवा, सिम्ले, गोप्लिङ र अकला मन्दिर सडक नयाँ ट्रयाक खोल्न २० लाख, पालुङटार २ चेपे लिगलिगकोट लिफ्टिङ खानेपानी आयोजनाका लागि १५ लाख, सिरानचोक ६ खर्कटार कुलो सिँचाइ योजना गाखुका लागि १० लाख छुट्याइएको पूर्वसभासद कुमालले बताए ।


पालुङटार १ ज्योतिचौतारा खोप्लाङ भन्ज्याङ, चापाभन्ज्याङ सडक स्तरोन्नतिका लागि १५ लाख, पालुङटार ८ चम्पाखोला खानेपानी आयोजना धूवाँकोटका लागि १८ लाख, पालुङटार नगरपालिका–६ र १० सातदोबाटो, बागडाँडा, पन्थिनी गाइखुर सडक स्तरोन्नतिका लागि १५ लाख, अजिरकोट ४ झागे खोला सिँचाइ आयोजनाका लागि १० लाख विनियोजन गरिएको उनले बताए ।


बारपाक सुलिकोट गाउँपालिका ६ र ८ को मैलुङ जराङ सडकका लागि १५ लाख, बारपाक सुलिकोट–५ चन्द्रकला निमावि भवन निर्माणका लागि १० लाख छुट्याइएको छ । पालुङटार ७ च्याङली डाँडागाउँ खानेपानी योजना र वडा २ कटहरे सुन्तले चापाभन्ज्याङ सडक स्तरोन्नतिका लागि १०/१० लाख छुट्याइएको छ ।


सिरानचोक ४ नयाँ चौतारो, आरुबोटे, सालबोट, हर्मी सडक स्तरोन्नतिका लागि १५ लाख, गोरखा ८ आहाले बहुउद्देश्यीय सामुदायिक अधुरो भवन सम्पन्न गर्न १५ लाख विनियोजन गरिएको छ । गोरखा ९ मनकामना आवासीय मावि तारबारका लागि १० लाख, पालुङटार १ र ९ सातदोबाटो बिर्ती सडक स्तरोन्नतिका र सिरानचोक २ थालाजुङको कृषि उपज संकलन केन्द्र अधुरो भवन सम्पन्न १०/१० लाख रुपैयाँ छुट्याइएको छ । जिल्ला समन्वय समितिको प्रशासनिक खर्चका लागि २ लाख रुपैयाँ छुट्याइएको छ ।


१८ योजना छनोट

म्याग्दी (कास)– संघीय संसद्का लागि एउटा मात्रै निर्वाचन क्षेत्र तोकिएको म्याग्दीमा प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत १८ योजना छनोट गरेका छन् ।


स्थानीय तह, जिल्ला समन्वय समिति, प्रदेशका जनप्रतिनिधि र सरोकारवालासँगको परामर्शपछि कार्यविधिअनुसार १८ योजनाका लागि ३ करोड ९६ लाख बजेट बाँडफाँट गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको थापाले बताए ।


स्थानीय तहमार्फत कार्यान्वयन हुने योजनाहरूको नीतिगत व्यवस्थाअनुसार जिल्ला समन्वय समितिलाई १ प्रतिशत ४ लाख रुपैयाँ प्रशासनिक खर्च छुट्याएर बाँकी रहने ३ करोड ९६ लाख रुपैयाँ सडक, नदी नियन्त्रण, सिँचाइ, विद्यालय र खेल पूर्वाधार, भवनलगायत योजना छनोटमा परेका छन् ।


सांसद थापाले उपलब्ध गराएको छनोटमा परेका योजनाहरूको विवरणअनुसार सडकतर्फ रघुगंगा गाउँपालिकामा पर्ने बेनी–पाखापानी सडकलाई ५० लाख, अन्नपूर्ण गापाको महभीर–रिमा–राम्चे–नागी सडकलाई ५० लाख, मंगला गापाको पोक–नेटा–अर्मन–किमचौर सडकलाई ५० लाख, धौलागिरी गापाको मुना–मुदी सडक २३ लाख, बेनी नपाको महारानीथान–छापा–ठूलोखोला सडकला १५ लाख, मालिकाको रुम–बेली–औल सडक १५ लाख रुपैयाँ विनियोजन भएको छ ।


त्यसैगरी बेनी नगरपालिका, ३ भकिम्लीस्थित जयन्ती मावि भवन निर्माण गर्न ३० लाख, म्याग्दी नदी नियन्त्रण (हाडेभीर–खवरा) गर्न २५ लाख, म्याग्दी नदी नियन्त्रण (दरबाङ) लाई २५ लाख, म्याग्दीखोला नदी नियन्त्रण (बगरफाँट) १० लाख, मालिका गापाको मराङ पहिरो नियन्त्रण गर्न १२ लाख, बेनी नपाको रत्नेचौरस्थित तेइससाले सिँचाइ कुला मर्मत १५ लाख, बरंजाको झाँक्रेपानी भ्युटावर निर्माण गर्न १० लाख विनियोजन गरिएको छ ।


छनोटमा परेका अन्य योजनामा रघुगंगाको पन्चासे–बेग–सिरुवारी सडकलाई १० लाख, मालिका गापाको मगरदाङ खेल मैदान निर्माण १० लाख, बेनपाको चिप्लेटीस्थित डिब्म आधारभूत विद्यालयलाई १० लाख, अन्नपूर्ण गापाको मान्द्रेढुंगा सामुदायिक सभाहल १० लाख, भकुन्डे–गौश्वारा सडक १० लाख, हिमालय आधारभूत विद्यालयलाई १० लाख बजेट छुट्याइएको छ ।


‘कार्यविधिअनुसार सबै पक्षसँगको परामर्शपछि प्राथमिकताका आधारमा योजना छनोट गरेको छु,’ उनले भने, ‘५०–५० लाखका २ र अन्य १० लाखमा नघट्ने गरी नियमले जति योजना छान्न पाइने हो त्यति नै छनोट गरी सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छु ।’


‘भौतिक पूर्वाधारमा बाध्यता’

स्याङजा (कास)– स्याङ्जा १ का सांसद नारायणप्रसाद मरासिनीले ४ करोड रुपैयाँ विनियोजन गरेका योजनामध्ये सबैभन्दा बढी सडकमा छन् ।


पूर्वाधार विकास साझेदारीको रकम भौतिक पूर्वाधारमा मात्र छुटाउनुपर्ने भएकाले सडकका योजना बढी प्राथमिकतामा परेको उनका कार्यकर्ताले बताएका छन् । मरासिनीले कुल बजेटको २ करोड ९८ लाख रुपैयाँ सडकका योजनामा विनियोजन गरेका छन् ।


आफ्नै संयोजकत्वमा रहेको परामर्श समिति सदस्यहरूको सुझावका आधारमा आफ्नै अध्यक्षतामा बसेको निर्देशक समिति बैठकबाट मरासिनीले बजेट बाँडफाँट गरेका हुन् । सामुदायिक भवनमा ५० लाख, खानेपानी आयोजनामा ४० लाख र सिँचाइका योजनामा १० लाख विनियोजन भएको छ । २० योजनामध्ये ११ वटा सडक छन् ।


सडकका योजनाहरूमध्ये खडेटारी–बांगेबाङसिङ–पञ्चासेमा ५९ लाख, घुम्ती–चिसापानी–चित्रेसडकअन्तर्गत मडकना–सालडाँडा–चुइकुना चिसापानी सडकमा ५९ लाख, सर्केटारी–गलेम–पञ्चासे सडक भीरखण्डमा ४० लाख र आहाल–वरपिप्ले चिसापानी सडकलाई ३० लाख विनियोजन गरिएको छ ।


यस्तै वयरघारी–जगतपुर–बाहखोला–केघा–धु्रवदेउराली–जोगखोला रिङरोडका लागि ३० लाख, प्रगतिनगर–बाहाकोट–डाँडास्वारा–नाम्चे–काल्खु– राम्चे सडकअन्तर्गत डाँडास्वारादेखि राम्चेसम्मको सडकलाई २० लाख, पुतलीखेत–उनियाँचौर सडकअन्तर्गत ठूलीबेंसी–उनियाँचौर खण्डमा २० लाख, माझापाटा–ढिकुवा हुँदै खिलुङ सडकमा १० लाख र तल्लाथोक–सिंगारकोट–बाङख–रानीस्वारा सडक १० लाख छुट्याइएको छ । मिलनचोक–दामसिरी–भलडाँडा र गृहकोट–तर्कैनी–गिजन्तिस चिन्नेबास सडकखण्डका लागि १०/१० लाख विनियोजन भएको छ ।


४ सामुदायिक भवनको योजनाका लागि १०/१० विनियोजन गरिएको छ । पण्डितथोक खानेपानी आयोजना र खाल्डे सिँचाइ आयोजनामा १०/१० लाख र छाङछाङदी झारखाम लिफ्टिङ सिँचाइ आयोजनालाई १२ लाख छुट्याइएको छ । बानेथोक लिफ्टिङ खानेपानी आयोजनामा १८ लाख रुपैयाँ विनियोजन भएको जिल्ला समन्वय समितिका योजना अधिकृत डोलराज ढकालले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?