उत्तरी सीमासित जोडिँदै सदरमुकाम

खाँदबारीबाट हटियाको गोलासम्म साना जिपबाट सेवा सुरु भएको छ
दीपेन्द्र शाक्य

संखुवासभा — गाउँसम्म कच्ची सडक पुगेपछि हेदांनाका देउमान राईलाई सदरमुकाम खाँदबारी आउजाउमा सहज भएको छ । एक दिन लगाएर पैदलै राई सदरमुकाम आउजाउ गर्थे ।

उत्तरी सीमासित जोडिँदै सदरमुकाम

उत्तरी गाउँमा कच्ची सडकले जोडिएपछि गाडी चल्न थालेका छन् । ट्याक्टर, साना जिप र मोटरसाइकलले उनीहरूको दिनचर्या फेरिएको छ । ‘कच्ची सडक भए पनि हिउँदका बेला हामीलाई सहज भयो,’ उनले भने, ‘ठाडो उकाली/ओराली गर्नु झन्झट हटेको छ ।’


मकालु र भोटखोला गाउँपालिकावासी सडक घर छेउसम्म पुगेपछि दङ्ग छन् । नियमित यातायातका साधन चलेपछि स्थानीयलाई सहज भएको हो । दैनिक उपभोग्य सामग्रीसमेत गाडीबाटै ढुवानी गर्ने गरिएको उनले बताए ।


‘केहीअघिसम्म खच्चडको भरमा दैनिक उपभोग्य सामग्री ल्याउनुपरेको थियो,’ उनले भने, ‘ढुवानी भाडा एकदमै महँगो हुन्थ्यो, गाउँमा किनिखाइसक्नु थिएन । गाडीले सामान ढुवानी हुन थालेपछि सबै खालका सामान सस्तो भएको छ ।’


गाउँपालिकाको आग्रहमा यातायात व्यवसायीले खाँदबारीबाट हटियाको गोलासम्म साना जिपबाट सेवा दिएका छन् । हटिया भोटखोलाको दुर्गममा मानिन्छ । ‘यातायातका साधन चलेकाले स्थानीयलाई आउजाउ गर्न सजिलो भएको छ,’ पावाखोलाका शिक्षक जितबहादुर श्रेष्ठले भने, ‘यातायात व्यवस्थित गर्न पहलको योजनामा छौं ।’


खाँदबारी नमुमा दैनिक ठूलासाना गरी दुई दर्जनभन्दा बढी सवारी चल्ने गरेका छन् । गाउँपालिकाले पनि अघिल्लो आवमा अधिकांश गाउँमा पुग्ने गरी सडक निर्माण गरेको छ । कतिपय स्थानमा निकै साँघुरो सडक भए पनि सवारी जबरजस्ती चल्ने गरेको गुनासो छ ।


सदरमुकाम खाँदबारीबाट १ सय २३ किलोमिटर कच्ची सडक निर्माण भइसकेको उत्तर–दक्षिण कोसी योजनाले जनाएको छ । उसले अब २३ किलोमिटर सडक निर्माण भए किमाथांका जोडिने जनाएको छ । ०६५ सालमा खाँदबारीमा स्थापना भएको योजनाले किमाथांका नाकासम्मको सडकको कामलाई तीव्रता दिएको छ ।


खाँदबारी–किमाथांकाको दूरी १ सय ६२ किलोमिटर छ । त्यसमध्ये १ सय ४४ किलोमिटर ट्रयाक खोली सकिएको योजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए । उनका अनुसार वर्षाको समयमा खाँदबारी–किमाथांका सडकको काम तीव्र गतिमा हुन सकेन ।


अब कामले तीव्रता पाउने बताए । अहिले खाँदबारीदेखि बरुण नदीसम्म ८० किमि सडक यातायातका साधन चल्न थालेका छन् । त्यसमध्ये ३४ किलोमिटर सडकको ग्राभेलसमेत गरिसकेको छ ।


बरुण नदीदेखि किमाथांकासम्मको सडकलाई चार सेक्सनमा काम अगाडि बढाइएको योजना प्रमुख ज्ञवालीले बताए । बरुण–सिम्बुङ, सिम्बुङ–हटिया, लिङ्गगाम–चेपुवा, चेपुवा–हुङहुङमा गजुरमुखी–मोतिदान–गीताञ्जली कन्स्ट्रक्सन (जेभी) ले काम गरिरहेको छ । किमाथांकादेखि चेपुवातिर आउने सडकको ट्रयाक खोल्ने काम शर्मा एपेक्स कान्छाराम कन्स्ट्रक्सनले गरिरहेको छ ।


सडक निर्माणमा अहिलेसम्म २ अर्ब ११ करोड खर्च भइसकेको छ । यही आवका लागि ४७ करोड बजेट विनियोजित भएको आयोजना प्रमुख ज्ञवालीले बताए । किमाथांकासम्म नाका खोल्न चेपुवादेखि किमाथांकाबीचमा पर्ने शंखेभीरमा ६ किलोमिटर, महभीरमा ५ किलोमिटर सडक र आसपासका साना–साना अन्य भीरहरूका कारणले ट्रयाक ओपन गर्न असाध्यै गाह्रो छ ।


त्रिदेशीय लिंकका रूपमा रहेको यो सडकलाई सरकारले विशेष महत्त्वसाथ हेरिरहेको प्रतिनिधिसभा सांसद राजेन्द्र गौतमले बताए । यो भारत, नेपाल हुँदै चीन जोड्ने सबैभन्दा छोटो रुट पनि हो ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?