कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुराँस क्षेत्र संरक्षण वन्यजन्तु कोषलाई

आनन्द गौतम

ताप्लेजुङ — कञ्चनजंघा संरक्षण क्षेत्रबाट बाहिरिएको विश्व वन्यजन्तु कोष नेपाल (डब्लूडब्लूएफ) ले तीनजुरे, मिल्के, जलजले (टीएमजे) संरक्षण जिम्मेवारी पाएको छ । ताप्लेजुङ, तेह्रथुम र संखुवासभाका १३ स्थानीय तहमा काम गर्ने गरी संरक्षणको जिम्मेवारी पाएको हो ।

गुराँस क्षेत्र संरक्षण वन्यजन्तु कोषलाई

उसले तीन जिल्लाका संरक्षण क्षेत्रसँग जोडिएका नगरपालिकासहित १९ वटा स्थानीय तहमा कार्यक्रमको प्रस्ताव गरेको थियो । अहिले संखुवासभा र तेह्रथुुमका पाँच/पाँच र ताप्लेजुङका तीनवटा स्थानीय तह समेटिएका छन् ।


यसले कञ्चनजंघा संरक्षण क्षेत्र र मकालु–वरुण राष्ट्रिय निकुञ्जसँग जोडिएर काम गर्ने भएको छ । सरकारका तर्फबाट वन तथा भू–संरक्षण विभागका सहसचिव माधुरी कार्की थापा र कोषका तर्फबाट सुमित गौतमले टीएमजे क्षेत्र हेर्ने जिम्मेवारी पाएका छन् ।


गौतमलाई परियोजना प्रबन्धकमा नियुक्त गरिएको हो । कोषको क्षेत्रीय (फिल्ड) कार्यालय तेह्रथुमको वसन्तपुरमा रहनेछ । सरकारले तीन वर्षका लागि संरक्षणको जिम्मेवारी दिएको हो ।


लालीगुराँस संरक्षण क्षेत्र, कञ्चनजंघा संरक्षण क्षेत्र र मकालु–वरुण राष्ट्रिय निकुञ्जलाई ईको सिस्टमका आधारमा समेटेर काम गर्ने उद्देश्य परियोजनाको छ । वनक्षेत्र र स्थानीय समुदायसँगको सहकार्यमा सञ्चालन गर्ने परियोजनाले सुशासन, जलवायु परिवर्तनलगायत क्षेत्रमा काम गर्ने उल्लेख छ । यसअघि तीनै जिल्लाका प्रतिनिधि तथा प्रदेससभाका सांसद र सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई भेला गराएर कोषले संरक्षणका लागि प्रस्ताव गरेको थियो ।


तेह्रथुम सदरमुकाम म्याङलुङमा भएको भेलामा कञ्चनजंघा संरक्षण क्षेत्रको सिकाइ लालीगुराँस क्षेत्रमा लागू गर्ने प्रस्ताव गरिएको थियो । कञ्चनजंघा दक्षिण एसियामै पहिलो पटक समुदायलाई हस्तान्तरण गरिएको संरक्षण क्षेत्र हो ।


लालीगुराँस क्षेत्र ५ सय ८५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । इन्धनका रूपमा दाउराको प्रयोग हुनु, इन्धनका लागि अनियमित किसिमले गुराँसका वन फँडानी गरिनु, स्थानीयवासीमा संरक्षणसम्बन्धी चेतनाको कमी हुनु टीएमजे संरक्षण क्षेत्रको मुख्य चुनौती रहेको तेह्रथुम वन डिभिजन कार्यालयका अधिकृत देवीचन्द्र पोख्रेलको प्रस्तुतिमा उल्लेख गरिएको छ ।


अव्यवस्थित खर्क/गोठ, खर्चरी तथा किपट प्रथा कायम हुनु, वन क्षेत्र अतिक्रमण गरी बजार तथा अस्थायी बसोबास गरिनु र अव्यवस्थित रूपमा जडीबुटी संकलन हुनु यहाँको समस्या रहेको उनले उल्लेख गरेका छन् ।


संरक्षणको जिम्मा दिनुअघि अधिकृत पोख्रेलले जैविक विविधता, प्राकृतिक सौन्दर्य, सांस्कृतिक, धार्मिक एवं वातावरणीय क्षेत्रको समग्र विकासद्वारा पर्यापर्यटन क्षेत्रको प्रवद्र्धन, स्थानीय समुदायको समुन्नत जीविकोपार्जनका लागि उपयुक्त संरचनाको स्थापना गर्नुपर्ने अबको आवश्यकता औंल्याएका छन् ।


टीएमजे क्षेत्रलाई संरक्षण क्षेत्र बनाउने विषयमा सामुदायिक वन उपभोक्ता महासंघले भने विरोध गर्दैआएको थियो । उसले उपभोक्ता समितिमार्फत काम गर्नुपर्ने प्रस्ताव गरेको थियो ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?