जन्ती बनेर आउँदै आदित्यनाथ

रेलको पनि उद्घाटन
अजित तिवारी

(जनकपुर) — भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर मुख्यमन्त्री योगी आउने टुंगो लागेको बताए ।

जन्ती बनेर आउँदै आदित्यनाथ

मंसिर २६ गते विवाहपञ्चमीमा योगीसहित आउने जन्तीलाई स्वागत गर्न प्रदेश सरकारले तयारी थालेको छ ।


राम र सीताको विवाहको सम्झनामा हरेक वर्ष मंसिरमा जनकपुरमा विवाहपञ्चमी महोत्सव आयोजना हुन्छ । नेपाल र भारतका हजारौं सहभागी रहने महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने चलन छ ।


‘योगी जनकपुरमा रहँदा उनको सुरक्षा र अन्य बन्दोबस्त मिलाउने गृहकार्य सुरु भएको छ,’ मन्त्री यादवले कान्तिपुरसँग भने, ‘विवाहपञ्चमीलाई भव्य बनाउने तयारी भइरहेको छ ।’ भारतका उच्च पदस्थ व्यक्ति जन्ती बनेर आउने भएपछि प्रदेश सरकारले महोत्सवका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए ।


रामजानकी विवाह महोत्सवमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैं जन्ती बनेर आउन इच्छुक थिए । उनको जनकपुर भ्रमण अनिश्चित भएपछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी र केन्द्र सरकारका उद्योग वाणिज्य तथा नागरिक उड्यान मन्त्री सुरेश प्रभु आउन लागेका हुन् ।

मुख्यमन्त्री योगी अयोध्याबाट जन्ती बनेर सडकमार्ग हुँदै जनकपुर आउने छन् । महोत्सवमा भारतको अयोध्याबाट जन्ती बनेर आउने सबैलाई प्रदेश २ सरकारले धोती र गम्छा उपहार प्रदान गर्ने मुख्यमन्त्री राउतले बताएका छन् । ‘महोत्सव धुमधामसित मनाउन कुनै कसर बाँकी राखिन्न,’ उनले भने । बाहिरबाट आउने साधुसन्तका लागि पनि भोजन र आवासको व्यवस्था गरिने उनले बताए ।


मुख्यमन्त्री योगीको भ्रमण तयारी बुझ्न भारतीय राजदूत मन्जिभसिंह पुरी बिहीबार जनकपुर आएका छन् । उनले भ्रमणबारे प्रदेश सरकार, जनकपुरका मेयर लालकिशोर साह र धनुषा प्रहरी प्रशासनसँग छलफल गरेका छन् । जानकी मन्दिर र रंगभूमि मैदानमा विवाहपञ्चमीको कार्यक्रम आयोजना गरिनेछ । जानकी मन्दिरले पनि महोत्सव तयारी थालेको छ ।


रेलको पनि उद्घाटन

भारतीय उद्योग वाणिज्य तथा नागरिक उड्यान मन्त्री सुरेश प्रभु र उत्तरप्रदेशका मुख्यमन्त्री योगीले भारतीय लगानीमा निर्माण गरिएको जयनगर-जनकपुर-कुर्था ब्रोडगेज रेल्वे खण्ड उद्घाटन गर्ने कार्यक्रमसमेत तय गरिएको छ । महोत्सवकै दिन उनीहरूले रेल्वे लाइन उद्घाटन गर्नेछन् । यही कारण निर्माणाधीन प्लेटफर्म र स्टेसनको काम तीव्र पारिएको छ । प्रदेश २ का मन्त्री यादवले उत्तरप्रदेशका मुख्यमन्त्री योगीले रेल्वे लाइनको शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिए ।


इन्जिन, बोगी (डिब्बा) र प्राविधिक भारतीय कम्पनीसित वेटलिजमा लिएर नेपाल सरकारले यो खण्ड सञ्चालनमा ल्याउने तयारी थालेको छ । इन्जिन र बोगी भाडामा लिने सहमति भारतीय कम्पनीसित यसै साता हुँदै छ । नेपालको रेल्वे विभागले उद्घाटनअघि नै इन्जिन र डिब्बा ल्याउने तयारी थालेको छ । ‘वेटलिजमा भारतीय कम्पनीसित रेलको इन्जिन र डिब्बा लिने सहमति यसै साता हुँदै छ,’ नेपाल रेल्वेका इन्जिनियर विनोद ओझाले कान्तिपुरसँग भने, ‘दुई देशको उच्च तहमै यसबारे कुरा भइरहेको छ ।’


प्रकाशित : कार्तिक ३०, २०७५ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?