आरोपित जोगाउन किटानीबिनै जाहेरी

काठमाडौँ — चेक बाउन्सको आरोपमा पक्राउ परी हिरासतमा मृत्यु भएका रवीन्द्र ढुंगानाको परिवारले दिएको किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले मृतकको पत्नीका नाममा अर्कै जाहेरी दर्ता गरेको भेटिएको छ ।

प्रहरीले मृतककी पत्नी अन्नपूर्ण थापा ढुंगानाले नै कात्तिक २० गते जाहेरी दर्ता गरेको र त्यसका आधारमा शव पोस्टमार्टम भएको दाबी गरेको छ ।


परिसर अधिकारीका अनुसार दर्ता भएको जाहेरीमा प्रहरी अस्पतालमा कार्यरत असई सुरेन्द्र कार्कीको नाम किटान गरिएको छैन । अन्नपूर्णले आफ्नो पतिको प्रहरी हिरासतमा मृत्यु भएकाले ‘घटनाको छानबिन गरिपाऊँ’ भनी निवेदन दिएकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामाले प्रहरी कर्मचारीविरुद्ध आएको जाहेरी स्वीकार नगरिएको प्रतिक्रिया दिए ।


‘हिरासतमा निधन भयो भन्दैमा प्रहरीविरुद्ध नै किटानी जाहेरी ल्याएपछि हामीले दर्ता गर्न सक्दैनौं भनेर फर्काएको हो,’ लामाले कान्तिपुरसित भने, ‘हाम्रोविरुद्ध पनि गुनासो र उजुरी गर्ने ठाउँ छन्, जानुहोस् भनेका हौं । जानुभएको छैन । उहाँहरूले भनेअनुसार जाहेरी दर्ता गर्दा बस्ने गलत नजिरले भोलि सबैलाई अप्ठेरो पर्छ ।’ मृतककी पत्नी अन्नपूर्णको जाहेरीकै आधारमा अनुसन्धान तथा पोस्टमार्टम भएको र त्यसबाट शंकास्पद कुनै कुरा नदेखिएको लामाले प्रतिक्रिया दिए ।


प्रहरीले दर्ता गर्न अस्वीकार गरेको अन्नपूर्णको किटानी जाहेरीमा भने सुरेन्द्र कार्कीले नै आफ्नो पतिलाई जबर्जस्ती मोटरसाइकलमा उठाएर लगेको अनि यातना र कुटपिटबाट मृत्यु भएको उल्लेख छ । जाहेरीमा आफूसँगको कारोबारमा असई कार्कीले पतिलाई धम्क्याएर पाँच लाख रुपैयाँको चेक लिएको र त्यस विषयमा भनाभनसमेत भएको उल्लेख गर्दै कार्कीले ‘आफू प्रहरी कर्मचारी भएकाले जे जसरी पनि रकम लिइछाड्ने भनी बारम्बार धम्क्याएको’ भनी उल्लेख छ ।


‘गैरकानुनी रूपमा पक्राउ गरी प्रहरीमा लगि यातना दिई कुटपिट गरेकाले मेरो पतिको मृत्यु भएको हो,’ किटानी जाहेरीको मस्यौदामा भनिएको थियो, ‘सो काममा संलग्न सुरेन्द्र कार्कीलगायतका बारेमा विपक्षीबाटै खुलाउन लगाई कानुनबमोजिम कारबाही गरी न्याय पाऊँ ।’


प्रहरीले दर्ता गरेको जाहेरीमा यी विवरण नरहेको प्रहरी अधिकारीहरूको भनाइ छ । प्रहरीले त्यही जाहेरीलाई आधार बनाई पोस्टमार्टमलगायत प्रक्रिया पूरा गरेको थियो । मृतकका आफन्तको चर्को दबाबपछि प्रहरीले असई कार्कीको घरमा खानतलासीसमेत गरेको थियो । त्यसक्रममा केही नगद, गरगहना, जिन्सी सामानका साथै विभिन्न बैंकका चेक बरामद भएको स्रोतले बतायो ।


परिसरले यो विवरण भने गुपचुप राखेको छ । ‘हामीले सुरेन्द्रलाई पनि नियन्त्रणमा लिएर छाडेका हौं । उसमाथि अनुसन्धान भइरहेको छ,’ यसबारे प्रश्न उठेपछि एसएसपी लामाले भने, ‘मिटरब्याजका बारेमा अरूसँग जाहेरी पनि मागिरहेका छौं ।’


मेयरको पहलमा सम्झौता

परिसर प्रमुख लामाले प्रहरीले कुनै पनि विषयमा मिलापत्र नगरेको भन्दै ‘पीडित परिवारको संवेदनशील अवस्था देखेर असई कार्कीले केही सहयोग गरिदिएको हुन सक्ने’ प्रतिक्रिया दिए ।


त्यसमा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले पनि दुवै पक्षलाई सहमत गराउन भूमिका खेलेको उनको भनाइ थियो । ‘मृतकको परिवार र मेयरसाप नातेदार रहेछन् । उहाँले दिनभर पहल गरेर दुवै पक्षलाई राजी गराउनुभएको हो,’ लामाले भने, ‘परिसरमै सहमति गर्नुपर्‍यो भनेपछि मैले यहाँ गर्न मिल्दैन भनेको हुँ । त्यसपछि बाहिर गएर कुरा टुंग्याएको हुनुपर्छ ।’

प्रकाशित : मंसिर १, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?