२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

लुम्बिनी गुरुयोजना मिचिँदै

निर्धारित समयमा काम सक्नेभन्दा गुरूयोजनाको मर्मविपरीत संरचना निर्माणमा सरकारी निकाय तथा कोषकै पदाधिकारी संलग्न हुन थाले । लुम्बिनी विकास कोष परिसरको मध्यवर्ती क्षेत्र (बफरजोन) अतिक्रमणमा परेको छ । बफरजोनमा योजनाअनुरुप बस्ती र भवन निर्माण गरिनुपर्थ्याे , जथाभावी संरचना तयार भइरहेका छन् । यस क्षेत्रमा जग्गा कारोबार गर्न व्यवसायी सक्रिय छन् ।
माधव ढुंगाना

भैरहवा — जापानका वास्तुकलाविद् प्रो.केञ्जो टाँगेले ६ वर्ष खर्चेर १७ वर्षमा पूरा हुने गरी लुम्बिनी गुरुयोजना बनाए । योजना लागू भएको ४० वर्ष नाघ्यो, अझै अधुरो छ । अवधि जति लम्बियो, त्यति हेलचेक्रयाइँ बढ्दै छ । गुरुयोजना बनाएको २७ वर्षपछि टाँगेको निधन भयो ।

लुम्बिनी गुरुयोजना मिचिँदै

गुरुयोजना कहिले कार्यान्वयन हुन्छ ठेगान छैन । पछिल्लो समय योजनामा उल्लेखितभन्दा त्यसविपरीतका निर्माण बढेका छन् ।


गुरुयोजनामा लुम्बिनीलाई बुद्धको जीवनीसँग मेल खाने धार्मिक स्थलमात्र कल्पना गरिएको छैन, विश्व शान्तिस्थलका रूपमा चित्रण गरिएको छ । ‘टाँगेले गुरुयोजना बनाउन त्यसै ६ वर्ष खर्चेका होइनन्, यसका बहुआयामिक पक्ष छन्,’ पुरातत्त्वविद् वसन्त बिडारी भन्छन् । लुम्बिनी पहिले भवन विभागअन्तर्गत थियो । गुरुयोजना कार्यान्वयन गर्न लुम्बिनी विकास समिति गठन गरियो । २०४२ मा लुम्बिनी विकास कोष गठन गरेर कार्यान्वयन थालियो ।


निर्धारित समयमा काम सक्नेभन्दा गुरुयोजनाको मर्मविपरीत संरचना निर्माणमा सरकारी निकाय तथा कोषकै पदाधिकारी संलग्न हुन थाले । लुम्बिनी विकास कोष परिसरको मध्यवर्ती क्षेत्र (बफरजोन) अतिक्रमणमा परेको छ । बफरजोनमा योजनाअनुरूप बस्ती र भवन निर्माण गरिनुपथ्र्यो । त्यहाँ जथाभावी संरचना तयार भइरहेका छन् । यस क्षेत्रमा जग्गा कारोबार गर्न व्यवसायी सक्रिय छन् ।


हरियाली क्षेत्रमा कंक्रिटका संरचना निर्माण तत्काल रोक्नुपर्ने लुम्बिनी विश्व शान्ति सहर योजना बनाएका कोरियाली वास्तुकलाविद् योङ हुन क्वाकले सरकारलाई सुझाव दिएका छन् । ‘सुरुदेखि गुरुयोजनाअनुरूप संरचना तयार गर्न चुकियो,’ लुम्बिनी विकास कोषका योजना प्रमुख तथा निमित्त सदस्यसचिव सरोज भट्टराईले भने, ‘सरकार र कोषले यहाँ निर्माण गरिने संरचनालाई एउटा मापदण्ड तयार गरेर व्यवस्थित गर्नुपथ्र्यो ।’ मापदण्ड नभएकाले अहिले मनपरी पूर्वाधार निर्माण भइरहेको उनले बताए ।


जग्गामा मनपरी

गुरुयोजनाले लुम्बिनीलाई मिनी बुद्धिस्ट वल्र्ड (सानो बुद्धिस्ट संसार) बनाउने कल्पना गरेको छ । यसका लागि टाँगेले लुम्बिनीको तीन वर्ग माइल परिसरमध्ये एक वर्ग माइललाई बिहार क्षेत्रमा वर्गीकरण गरेका छन् ।


त्यसमा विश्वका प्रमुख बौद्ध राष्ट्र वा तिनको प्रतिनिधित्व गर्ने संघसंस्थालाई उसको मुलुकको पुरातत्त्व, वास्तुकला तथा संस्कृति झल्किने शैलीमा बिहार निर्माण गर्न दिने उल्लेख छ । बौद्ध धर्मावलम्बी मुलुकको लुम्बिनीमा प्रतिनिधित्व गराउने यसको उद्देश्य हो । यहाँको विकासमा ती राष्ट्रको ऐक्यबद्धता जुटाउनु पनि हो ।


यही मापदण्ड आधार मानेर सुरुदेखि गुरुयोजना मिचेर निर्माण गर्न अनुमति दिन थालिएको हो । केन्द्रीय नहर निर्माण गरेर पूर्वतर्फ थेराबादीका लागि १३ र पश्चिमतर्फ माहायानीका २९ वटा बिहार निर्माण गर्न जग्गा छुट्याइएको छ । यिनै बिहार निर्माण गर्न जग्गा उपलब्ध गराउने नाममा विभिन्न चलखेल भइरहेका छन् । गुरुयोजनाविपरीत बिहार होटल र लजमा परिणत भएका छन् ।


कोषका पदाधिकारी यसबारे मौन छन् । व्यक्तिगत लाभका लागि मौन बस्ने गरेको आरोप कोषका पदाधिकारीमाथि छ । सरकारद्वारा नियुक्त पदाधिकारीले गुरुयोजना मिचेर श्रीलंका, क्याम्बोडिया, अमेरिकाको राङरिङ सोसाइटी र थाइल्यान्डलाई ३/३, चीन र बर्मालाई २/२ वटा जग्गाका प्लट उपलब्ध गराएका छन् । नेपालका तर्फबाट एउटा मात्र बिहार निर्माण गर्ने भनिए पनि ८ वटा संस्थालाई उपलब्ध गराइएको छ ।


गुरुयोजना संशोधन

परिसरमा मनपरी संरचना निर्माण गर्न ३ वर्षअघि लुम्बिनी गुरुयोजना परिमार्जन समिति बनाएर संशोधन गरियो । संशोधनमा कोष परिसरमा ५ वटा तारे होटल, नहरको पूर्वतर्फ ७/८ वटा बिहार र पार्कलगायत संरचना बनाउने प्रस्ताव पेस गरिएको थियो ।


प्रस्ताव पर्यटन तथा संस्कृति मन्त्रालयबाट स्वीकृत भएर कार्यान्वयन चरणमा पुगेको थियो । त्यसबेला कोषका केही कर्मचारी र पदाधिकारीको दबाबले कार्यान्वयन स्थगित भएको थियो ।


‘त्यसबेला स्वदेशी र विदेशी शक्तिबाट ठूलो आर्थिक चलखेल भएको थियो,’ कोषका एक अधिकृतले भने, ‘पैसा खर्च गरेर कार्यकारिणी समितिमा नियुक्त हुने र स्वार्थका काम गर्न कोषलाई दबाब दिने परिपाटी छ ।’ बिहारमा ५/६ जना भिक्षु र त्यति नै सहयोगी अट्ने धर्मशाला बनाउनुपर्ने प्रावधान छ ।


व्यापारिक उद्देश्यले संरचना बनाउन नपाइने कोषको विनियमावलीमा उल्लेख छ । यसविपरीत अधिकांश विदेशी बिहारले सयौं जना अट्ने गेस्ट हाउस निर्माण गरेका छन् ।


बिहारमा गेस्ट हाउस

पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले विदेशी बिहारमा ठूला गेस्टहाउस सञ्चालन गरिएको बताए । ‘गुम्बा र बिहारमा विदेशीलाई बस्ने व्यवस्था गरिएकाले निजी होटल धाराशायी छन्,’ उनले भने, ‘यसलाई तुरुन्त रोक्नुपर्छ ।’


श्रीलंका, चीन, कोरिया, म्यानमार, थाइल्यान्डलगायत राष्ट्रका बिहारमा रहेका अतिथि गृहमा ३ हजारभन्दा धेरै पाहुँना अटछन् । आफ्नो मुलुकबाट यात्रु आउँदा त्यहीँ राख्छन् । केहीले चन्दाका नाउँमा शुल्क लिएर अन्य मुलुकका व्यक्तिलाई कोठा उपलब्ध गराउँछन् ।


योजना प्रमुख भट्टराई कोषले लुम्बिनीको प्रचार र विकास गर्न नसकेको अवस्थामा गुम्बाले पर्यटक आकर्षित गर्न ठूलो योगदान पुर्‍याएको दाबी गर्छन् । विकासमा सहयोग पुर्‍याएकाले जग्गाका धेरै प्लट उपलब्ध गराइएको हुन सक्ने उनले बताए । ‘यस्तो परिपाटीले भविष्यमा असर पार्न सक्छ,’ उनले भने, ‘लुम्बिनीमा गुम्बा बनाएर आफ्नो प्रतिनिधित्व जनाउन अहिले १० भन्दा धेरै निवेदन परेका छन् तर जमिन खाली छैन ।’


जथाभावी निर्माण

लुम्बिनीको उत्तर जापानका तर्फबाट बनेको विश्व शान्ति स्तूपबारे गुरुयोजनामा उल्लेख छैन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दबाब दिएपछि कोषले स्तूप बनाउन स्वीकृति दियो । स्तूप बनेपछि गुरुयोजनाअनुरूप दुईवटा ठूला पानी ट्यांकी बनेको छैन ।


कोषको प्रशासकीय भवनदेखि दक्षिणतर्फ संग्रहालयनजिक पोखरी किनारामा राजा महेन्द्रको स्मारक राख्ने तय थियो । त्यहाँ कोरियाको वन हन्ड्रेड एट टेम्पल भिजिट नामक संस्थाले बुद्धको प्रतिमा बनायो । पार्किङ र पोखरी निर्माणमा सहयोग गरेको भनेर संस्थालाई चिनोस्वरूप राख्न दिइएको बताइन्छ ।


शान्तिद्वीपदेखि दक्षिण मायादेवी मन्दिर जाने पैदल मार्गको बीचमा थाई पुङ थाई नामक संस्थाले आफ्नै शैलीको बेबी बुद्धको मूर्ति स्थापना गरेको छ । गुरुयोजनाविपरीत र अशोक स्तम्भसहितको मायादेवी मन्दिरको दृश्यावलोकनलाई असर गर्ने गरी उक्त मूर्ति स्थापना गरिएकोमा युनेस्कोले समेत बारम्बार आपत्ति जनाउँदै पत्राचार गरिसकेको छ ।


कोषका तत्कालीन उपाध्यक्ष कर्मा साङ्गो शेर्पाले अघिल्लो कार्यकाल सकिन ३/४ दिन बाँकी रहेका बेला बोर्ड बैठकबिना थाई संस्थालाई मूर्ति राख्न स्वीकृति दिएका थिए । शेर्पा दोस्रो पटक उपाध्यक्ष नियुक्त भएपछि २०१२ को भ्रमण वर्षको चिनो भन्दै बोर्ड बैठकबाट स्वीकृत गराएका थिए ।


कोषका पदाधिकारीले विदेशी संस्थालाई गुम्बा निर्माणका लागि स्वीकृति दिने बेला स्वार्थ पूरा गर्ने गरेको स्थानीय पर्यटन व्यवसायी हेमबहादुर बिष्टले बताए । ‘त्यस्ता संस्थाले बनाएका बिहारले उनीहरूको देशको प्रतिनिधित्व गर्छ वा गर्दैन भन्नेबारेमा कोष मौन हुन्छ,’ उनले भने, ‘अरूले राम्रो काम गर्न खोज्यो भने विश्वसम्पदा सूचीकृत भएकाले मिल्दैन भन्छन्, पैसा दियो भने जे पनि मिल्ने गरेको उदाहरण छन् ।’


पछिल्लो पटक गुरुयोजनाविपरीत मायादेवी मन्दिरदेखि दक्षिणतर्फ बाटो खोल्ने तयारी गरिएको छ । कोषको दुईवटा बैठकले पैदल बाटो भनी पारित गरिसकेका छन् । सर्वसाधारण यात्रु र दक्षिणतर्फबाट आउने पर्यटकलाई आवागमनमा सहज हुने भनी बाटो खोल्न लागिएको हो । त्यसका लागि कुनै छलफल र विज्ञको रायसुझाव लिइएको छैन ।


लुम्बिनी विश्वविद्यालयका प्राध्यापक इन्द्र काफ्लेले पूर्वमूल्यांकन र विवेचना नगरी तयार हुने संरचनाले भविष्यमा लुम्बिनीको भावना र मर्मप्रति प्रहार हुने बताए । ‘कंक्रिटमय वातावरण होइन, प्राकृतिक र आध्यात्मिक वातावरण कायम राखेर पाहुना आकर्षित गर्नुपर्छ’, उनले भने, ‘बिहार क्षेत्रमा निर्मित मन्दिर बसोबास गर्ने थलो होइनन्, ध्यान, बौद्ध साहित्य अध्ययन केन्द्र बनाइनुपर्छ ।’

प्रकाशित : मंसिर १, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?